काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का अध्यक्ष शेखर गोल्छा र नेपाल उद्योग परिसंघ (सीएनआई) का अध्यक्ष विष्णुकुमार अग्रवाललाई सरकारले सुप्रबल जनसेवाश्री विभूषण प्रदान गर्ने भएको छ ।
गत असोज ३ गते संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले घोषणा गरेबमोजि विभूषण प्रदान गर्न लागिएको गृह मन्त्रालयले जनाएको छ । घोषित विभूषण आगामी वैशाख १ गते राष्ट्रपति भवनमा प्रदान गरिने बताइएको छ ।
सुप्रबल जनसेवाश्रीबाट व्यवसायीहरू डा. उपेन्द्र महतो, देवीप्रकाश भट्टचन, सेरेन्द्रवीर मालाकार, राजेन्द्र मल्ल, कैलाश सिरोहिया (कान्तिपुर दैनिक), रामेश्वर थापा (अन्नपूर्ण पोष्ट दैनिक)लगायत राजनीतिक योद्धा, अधिवक्ता, सरकारका सचिवहरू, प्रहरी महानिरीक्षकहरू विभूषित हुँदै छन् ।
यस्तै सरकारले पूर्वप्रधानमन्त्री झलनाथ खनाल, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालकी पत्नी सीता दाहालसहित करीब ९०० जनालाई विभूषण प्रदान गर्ने तयारी गरेको छ । गृह मन्त्रालयका अनुसार नेकपा (एकीकृत समाजवादी)का नेता खनाललाई ‘राष्ट्र गौरव’ पदक प्रदान गर्न लागिएको छ ।
यस्तै, माओवादी अध्यक्ष दाहालकी पत्नी सीतालाई राजनीतिक अभियन्ताका रूपमा ‘प्रसिद्ध प्रबल जनसेवाश्री’ प्रदान गर्न लागिएको गृह मन्त्रालयले जनाएको छ । त्यस्तै पूर्वप्रधानमन्त्री स्व. कृष्णप्रसाद भट्टराईलाई ‘नेपाल रत्न’ र मन्त्रिपरिषद्का पूर्वध्यक्ष स्व. सुवर्णशम्शेर जबरालाई ‘राष्ट्र गौरव’ पदक प्रदान गरिने भएको छ ।
FACEBOOK COMMENTS