दिप प्रकाश पाण्डे
सीईओ, शिखर इन्स्योरेन्स
विभिन्न वित्तीय प्रतिवेदनहरूलाई अध्ययन गर्दा निर्जीवन बीमा कम्पनीहरूमध्ये बलियो कम्पनी हो शिखर इन्स्योरेन्स । थर्डपार्टीबाट ‘ए प्लस’ रेटिङ पाएको यो कम्पनीको व्यवस्थापकीय जिम्मेवारीमा छन् दिप प्रकाश पाण्डे । हाल कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)को भूमिकामा रहेका उनी सो कम्पनीका संस्थापक सीईओ पनि हुन् । वि.स. २०६१ साल मंसिर २ गतेदेखि औपचारिक रूपमा व्यवसाय सञ्चालन गरेदेखि नै उनी यो कम्पनीमा सीईओ रहँदै आएका छन् । उनै सीईओ पाण्डेको कुशल व्यवस्थापनकै कारण आज शिखर इन्स्योरेन्स हरेक सूचकहरूमा अब्बल देखिएको हो भन्दा अत्युक्ति नहोला ।
आफूले इन्स्योरेन्स कम्पनीको जिम्मेवारी सम्हाल्दा दैनिक एक लाख रूपैयाँ पनि प्रिमियम नउठ्ने अवस्थाबाट आज दैनिक एक करोड रूपैयाँ प्रिमियम सङ्कलन हुने अवस्थामा आइपुगेको स्मरण गर्दै उनले नेपालमा निर्जीवन बीमा धेरै आवश्यक रहेको र यसको भविष्य समेत राम्रो रहेको बताएका छन् । ‘पढेर भन्दा परेर’ धेरै कुरा जानिने कुरामा विश्वास गर्ने सीईओ पाण्डे निर्जीवन बीमा क्षेत्रमा लामो समयको अनुभव हासिल गरेका एक सफल व्यक्ति हुन् । उनै सीईओ पाण्डेसँग हामीले नेपालको निर्जीवन बीमाको अवस्था, चुनौती र भावी सम्भावनाका बारेमा विभिन्न कोणबाट कुराकानी गरेका छौँ । प्रस्तुत छ, सीईओ पाण्डेसँग कर्पोरेट खबरका ज्योति जीसीले गरेको कुराकानीको सम्पादित अंश–
पहिलो कुरा त हामी बीमा बुझ्दैनौँ, अलि अलि बुझे पनि जीवन र निर्जीवन बीमालाई छुट्टाछुट्टै कोणबाट बुझ्दैनौँ । निर्जीवन बीमा कम्पनीको सीईओबाटै बुझौँ न निर्जीवन बीमा भनेको के हो ? यो कसका लागि किन महत्वपूर्ण छ ?
आधारभूत रूपमा हेर्दा निर्जीवन बीमा ‘सर्ट ट्रम कन्ट्र्याक्ट’ हो भने जीवन बीमा ‘लङ ट्रम कन्ट्र्याक्ट’ हो । व्यक्तिगत दुर्घटनापछिको भरणपोषण, घर, सम्पत्ति, व्यवसाय, खेतीपाती र पशुपक्षी पालनमा आइलाग्ने अप्रत्याशित घटना तथा दुर्घटनाबाट हुने क्षतिको सुरक्षाका निम्ति गरिने बीमा निर्जीवन बीमा हो । हाम्रो जीवनचर्यामा धेरै किसिमका जोखिम ‘रिस्क’हरू आइपर्न सक्छन् । जस्तोः विभिन्न प्राकृतिक विपत्तिहरू आगलागी, बाढी, पहिरो, कम वर्षा, बढी वर्षा, हिउँ, असिना, हावाहुरी, भूकम्प तथा रोगकिरा र जंगली जनावरहरूको आतंकलगायत प्रत्याशित÷अप्रत्याशित रूपमा हुने दुर्घटनालगायत घटनाहरू हुन सक्दछन् । ती घटना तथा दुर्घटनाबाट हुने क्षति न्यूनीकरणका लागि पनि हामीले बीमा गर्नु जरुरी छ । हरेक व्यक्तिको जीवनका लागि यो अति महत्वपूर्ण छ ।

निर्जीवन बीमाका बारेमा कुरा गर्दा तपाइँहरूको नियामक निकाय बीमा प्राधिकरणका एक जना अधिकारीले कुनै सञ्चारमाध्यममा भन्नुभएको थियो कि ‘बीमा विश्वास बेच्ने माध्यम हो’ यो विश्वास बेच्ने व्यवसाय यतिबेला कस्तो चलिरहेको छ ?

बीमा प्राधिकरणका जिम्मेवार व्यक्तिले जे भन्नुभयो त्यो सही हो । किनकी बीमा विश्वासमा चल्ने एउटा कागजी करार हो । तोकिएको समयमा बीमितले प्रिमियम (किस्ता) तिर्दछन् र उसलाई केही भवितव्य वा घटना–दुर्घटना भयो भने कम्पनीले करारबमोजिमको रकम उपलब्ध गराउँछ । त्यसले बीमितको घाउमा मल्हमपट्टी लगाउने काम गर्छ । त्यही कुरा वल्लो वा पल्लो घरका व्यक्तिहरूले पनि चाल पाउँछन् र उहाँहरू पनि बीमाप्रति आकर्षित हुने अवसर सृजना हुन्छ । किनकी एकजना बीमितलाई कम्पनीले दिएको सेवा र त्यसबाट प्राप्त हुने थप विश्वासहरूकै आधारमा यो व्यवसाय चलिरहेको हुन्छ । र, मानिसको जीवनमा विश्वास अत्यन्तै धेरै महत्वपूर्ण कुरा हो ।

हामीले जति बीमा तिर्छौँ त्यति नै बजार बढ्दै जाने कुरा हो । बाटो बन्द, चक्काजाम, भूकम्प, कोभिड–१९ महामारी र कृषि बीमालगायतमा हामीले सफलतापूर्वक बीमा तिरेको अनुभव छ । त्यही कुराले गर्दा पछिल्लो केही वर्षयता निर्जीवन बीमाको बजार पनि राम्रैसँग फस्टाएको छ ।
मुलुकको पछिल्लो आर्थिक अवस्था असहज छ भनिन्छ । तर, निर्जीवन बीमा व्यवसाय राम्रै भइरहेको देखिन्छ । पैसा नहुँदा पनि बीमा व्यवसाय बढिरहेको छ भनेपछि नेपाली समाजमा बीमाको राम्रैसँग चेतना विकास भइसकेको बुझ्न सकिन्छ ?
बीमा व्यवसाय बढेको भन्ने तपाइँको कुरामा व्यक्तिगत रूपमा म सहमत छैन किनकी ‘रियल सेन्स’मा बीमा व्यवसाय बढेको छैन । ४० अर्ब रूपैयाँबाट ४१ अर्ब (दुई प्रतिशत हाराहारी) पुग्नुलाई बढेको कसरी भन्नु । नेपाल सरकारले कृषि बीमामा अनुदान दिन थालेपछि बीमाको दायरा बढाउनुपर्ने भएको छ । हाम्रो बढेको क्यापिटलको सर्भिसिङ गर्ने हो भने पनि बीमाको दायरा बढाउनुपर्छ, त्यही ‘केक साइज’ तँछाडमछाड गरेर घटाउनु भन्दा पनि व्यापार बढाउनतिर इन्स्योरेन्स कम्पनीहरू लाग्नुपर्दछ । कम्तिमा शिखर इन्योरेन्स त्यसतर्फ लागिसकेको छ ।
शिखर इन्स्योरेन्स अहिले ११४ वटा शाखा कार्यालयमार्फत जनताको घरदैलोमा पुगिरहेको छ । यही वर्षभित्र शाखा सङ्ख्या बढाएर १२० वटा पु¥याउने लक्ष्यमा साथ हामी काम गरिरहेका छौँ । किनभने निर्जीवन बीमाको राम्रो बजार अहिले गाउँ र दूरदराजतिर छ । गाउँ र दूरदराजमा कृषि र पशु बीमा गर्ने प्रचलन बढेकाले बजार केही बढेको देखिएको हो, त्यस सन्दर्भमा तपाइँको प्रश्न सही छ । तर, ‘रियल सेन्स’मा ट्रान्जिट घटेको छ, मोटरबीमामा इम्प्याक्ट आएको छ, जुन परम्परागत (ट्र्याडिसनल) बीमा हो त्यो बढेको छैन ।
शिखर इन्स्योरेन्स राम्रो व्यवसाय गर्ने कम्पनीमा दर्ज हुँदै आएको छ । त्यतिमात्र होइन, पछिल्लो वित्तीय प्रतिवेदनले पनि कुल निर्जीवन बीमा व्यवसायमा करिब साढे १३% बजार हिस्सा ओगटेको देखाउँछ । यो सफलता कसरी सम्भव हुँदै आएको छ ?
प्रोफिटाबिलिटी (लाभप्रद) बाट हेर्नुभयो भने हाम्रो प्रोफिटाबिलिटी कम छ । किनकी हामी बीमाको दायरा बढाउनतिर ठूलो एक्सरसाइज गरिरहेका छौँ । ‘पोखरी खन्नुस् पानी त भरिइहाल्छ नि’ भन्ने भनाइतिर हामी गइरहेका छौँ । त्यसो गर्दा हाम्रो लागत, जनशक्ति विकास र ओभरहेड कष्ट बढेको छ । जुन क्षेत्रलाई लक्षित गरी हामी गाउँ–गाउँमा पुगेका छौँ त्यो ठाउँहरूमा बाढी, पहिरो, वातावरणीय प्रतिकुलता लगायतले जहिले पनि ‘इम्प्याक्ट’ आइरहेको हुन्छ । यतिसम्म कि हिउँद महिनामा पनि पहिरो गइरहेको हुन्छ । त्यसबाट कृषि, पशु र घर बीमामा ‘इम्प्याक्ट’ पारिरहेको स्थिति छ । तर, त्यसले दीर्घकालमा राम्रो गर्छ भन्ने आशा हामीले राखेका छौँ । दाबी तिर्दै गएपछि ‘क्वालिटी अफ रिस्क’ बढ्दै जान्छ भने बजार हिस्सा पनि बढिरहेको छ ।
मुलुकमा देखिएको आर्थिक सिथिलताको बीचमा पनि राम्रो ग्रोथ गर्न कसरी सफल हुनुभयो ? यति सफलता पाइसकेपछि लगानीकर्ताले कति लाभांश अपेक्षा गर्ने ?
हामीले सालाखाला सातदेखि दश प्रतिशतसम्म लाभांश दिइरहेका छौँ । अहिले क्यापिटल र कम्पिटिसन दुवै बढेको छ । बढेको क्यापिटललाई सर्भिसिङ गर्ने चुनौतीहरू पनि बढेको छ । यसरी हेर्दा थोरै क्यापिटलबाट पनि हामी कम्पनी चलाउन सक्थ्यौँ कि जस्तो लाग्छ । क्यापिटल बढेको बेला रिटर्न अन इन्भेष्टमेन्ट (आरओआई) केही कम हुनु स्वाभाविक हो । अर्को पाटो दायरा बढाउने कि नबढाउने ? आजको अवस्थाबाट ‘लो’ रेटको रिटर्नमा बस्ने कि भोलि बढाउनका लागि आजदेखि लगानी गर्ने भन्ने पनि प्रश्न छ । दायरा बढाउन लाग्दा कम्तिमा चार वर्षजति खर्च हुन सक्छ । अहिले पनि नयाँ कम्पनीहरूले चार–पाँच वर्षसम्म कुनै रिटर्न नदिइ बसेकै छन् । बीमा क्षेत्र भनेको त्यसरी नै जाने हो । ‘रिजर्भ विल्डअप’ गरेर ‘स्ट्रङ’ हुने हो ।
हामी १० करोड रूपैयाँ क्यापिटलबाट सुरू गरेको कम्पनी अहिले २६५ करोड रूपैयाँ पु¥याएका छौँ । पुँजी वृद्धि गर्दा केही ‘राइट इस्यु’बाहेक अधिकांश बोनस शेयर दिएका छौँ । तर, हाम्रो नेटवर्थ हेर्ने हो भने ५०० करोड भन्दा माथिको भइसकेको छ । यसले कम्पनीलाई स्ट्रङ बनाएको छ भने यसले भोलिको पुस्तालाई पनि रिटर्न दिन्छ र आज पनि हामीले राम्रो रिटर्न दिइरहेका छौँ जस्तो लाग्छ । यो वर्ष पनि हामी राम्रै रिटर्न दिदैछौँ ।
कम्पनीहरूबीच चाहिँ के–कस्तो प्रतिस्पर्धा चल्ने गर्छ ?
– शिखर इन्स्योरेन्स बीमाको दायरा बढाउनतिर ठूलो एक्सरसाइज गरिरहेको छ ।
– क्यापिटल बढेको बेला रिटर्न अन इन्भेष्टमेन्ट (आरओआई) केही कम हुनु स्वाभाविक हो । रिजर्भ विल्डअप’ गरेर ‘स्ट्रङ’ बन्नुपर्छ ।
– बीमालाई औपचारिकता होइन, आवश्यकता बनाऔँ । नबुझ्नेहरूले भुक्तानी नपाएको गुनासो गरेका छन्, उनीहरूको पछि लाग्नु हुन्न ।
– बीमाको कन्सेप्ट भनेकै एउटै ‘रिस्क’का लागि धेरैबाट कलेक्सन गरेर क्षति पर्नेलाई तिर्ने भन्ने हो, मैले तिरेको प्रिमियमले मेरोमात्र रिस्क कभर गर्नुपर्छ भन्नु गलत बुझाइ हो ।
‘अदर साइड अफ द ग्रास इज ग्रिन’ भनेजस्तै निर्जीवन बीमा व्यवसायमा पनि प्रतिस्पर्धा चलिरहेकै छ । पुँजी बढेकाले हाम्रो यो ‘पासिङ फेज’ पनि हो । सीईओहरूलाई तनाव छ त्यसले केही–केही अस्वस्थ प्रतिस्पर्धा पनि भएका होलान् नभएको भन्दिनँ । तर, यो क्रमिक रूपमा सुधार हुँदै जाने विश्वास छ ।
नेपालको निर्जीवन बीमामा सम्पत्ति, मोटर, इन्जिनीयरिङ र हवाई मुख्य क्षेत्र मानिदै आएको छ । यसमध्ये पनि धेरै बीमा हुने क्षेत्र कुन् हो ?
तपाइँले उल्लेख गर्नुभएको सबै प्रकारका बीमा हामी गरिरहेका छौँ । व्यालेन्स पोर्टफोलियोमै छौँ । सम्पत्ति, मोटर, कृषि (१०%) गरिरहेका छौँ । कतिपय बीमा पछिसम्मलाई हेरेर ‘रिस्क’मा गरिरहेका हुन्छौँ । कतिपय कुराहरू प्रयोग गरेर पनि हेर्नुपर्छ भन्ने हाम्रो ‘टीमस्प्रिट’ छ । बीमा भोलिको आवश्यकता हो, तर आजै गर्नुपर्ने हुन्छ । यहाँ मान्छेहरूलाई त्यसलाई सही ढंगले बुझिरहनुभएको छैन । यसको कारण आर्थिक अस्थिरता पनि हो । त्यसकारण मुलुकमा बीमाको बजार बढाउन आर्थिक स्थिरता आवश्यक देखिन्छ ।
कृषि बीमाको समग्र अवस्थाचाहिँ कस्तो छ ?
हामीले ठाउँ र सम्भाव्यता हेरीकन कृषिविज्ञहरू राखेर काम गरिरहेका छौँ । धेरै यसबारे बुझ्दै आउनुभएको छ, स्थानीय सरकारहरूले पनि कृषि बीमालाई जोड दिइराख्नुभएको छ । त्यसकारण भविष्य (लङ ट्रम)का लागि राम्रै हुन्छ भन्ने हाम्रो बुझाइ छ । तर, कृषि बीमा लागू भएको ११औँ वर्ष लागिसकेको छ । यो अवधिमा भएका बीमा, त्यो बीमाको प्रभाव र त्यसका गतिविधिहरूलाई सुक्ष्म ढङ्गले अध्ययन गरी त्यसको प्रभावकारिता तथा सकारात्मक र नकारात्मक पक्षको विश्लेषण गरी एउटा सवल निष्कर्षका साथ अघि बढ्दा राम्रो हुन्छ । किनभने कृषि बीमाको आवश्यकता विश्वव्यापी बनिसकेको छ ।
(कृषि बीमाका सन्दर्भमा स्मरणीय कुराः कृषि व्यवसायमा आइपर्ने सम्भावित जोखिमहरूबाट कृषकहरूलाई सुरक्षित गराउने र उनीहरूलाई व्यावसायिक कृषितर्फ उन्मुख गराउने उद्देश्यले बीमा समितिबाट २०६९ माघ १ गते बाली तथा पशुपक्षी बीमा निर्देशिका, २०६९ जारी गरी नेपालमा पहिलो पटक कृषि बीमाको सुरूवात भएको थियो । निर्देशिका परिमार्जन गर्ने क्रममा बीमा समितिले निर्देशिकाको क्षेत्रलाई अझै वृहत् बनाउन २०७७ मंसिर १५ गते कृषि तथा पशुपक्षी बीमा निर्देशिका, २०७७ जारी गरेको थियो भने त्यसलाई पनि परिमार्जन गरी कृषकको माग अनुसार जडिबुटी समेतलाई समेटेर २०७९ साउन १ गतेदेखि लागू हुनेगरी कृषि, पशुपक्षी तथा जडिबुटी बीमा निर्देशिका, २०७९ जारी भएको छ । त्यसैगरी, नेपाल सरकार, कृषि विकास मन्त्रालयबाट २०७० साउन १ गतेदेखि लागू हुने गरी बाली तथा पशुधन बीमाको प्रिमियममा अनुदान उपलब्ध गराउने निर्देशिका, २०७० जारी गरी कृषि बीमाको बीमाशुल्कमा अनुदानको व्यवस्था पनि गरिएको छ ।)
आफ्नो सम्पत्तिको सुरक्षाका निम्ति मानिसले बीमा गरेका हुन्छन् । तर, कम्पनीहरूले ‘दाबी भुक्तानी नदिएर हैरान भयौँ’ भन्ने थुप्रै गुनासोहरू पनि आउने गरेका छन् नि ?
बीमा कम्पनीहरूले दाबी भुक्तानी दिँदैनन् भन्ने कुरा केबल हल्ला मात्रै हो भन्ने मेरो बुझाइ छ । किनभने बीमा कम्पनीहरू बीमितहरूकै सेवा र सुरक्षाका निम्ति खुलेका हुन्छन्, उनीहरूले भुक्तानी नदिने भन्ने कुरै आउँदैन । बैंकबाट ऋण लिँदा महिनौँ कुर्न सक्नुहुने हाम्रा ग्राहकहरू नै बीमाबाट भुक्तानी लिन आधा घण्टा पनि नलागोस् भन्ने चाहाना राख्ने गर्नुभएको छ । त्यसकारण मैले भन्ने गरेको छु– ‘बीमालाई औपचारिकता होइन, आवश्यकता बनाऔँ ।’ हामी धेरै औपचारिकतामै गइरहेका छौँ । कृषि बीमा क्रमशः आवश्यकताकै आधारमा अघि बढिरहेको भए पनि अरु धेरै बीमाहरू औपचारिकतामा भइरहेको देखिन्छ । औपचारिकतामा बीमा गर्दा बीमाले कभर (व्यहोर्ने) गर्ने र गर्न नसक्ने विषयबारे बीमितहरू स्वयम् अनविज्ञ देखिनुहुन्छ । त्यस्ता कतिपय अवस्थामा भुक्तानी नपाउन पनि सकिन्छ, तिनै विषयलाई ‘भुक्तानी नदिएको’ भनेर प्रचार गर्ने गरिएको हामी पाउँछौँ । त्यसकारण बीमा गर्नुअघि समय दिएर अनि बुझेर गर्ने गरौँ भन्न चाहान्छु ।
बीमा चाहानेलाई कुन बीमाले के कभर गर्छ भनेर जानकारी दिने काम त तपाइँ कम्पनीहरूकै होइन र ?
हामीले धेरैजसो त गरिरहेकै छौँ, तर हामीले मात्र गरेर नपुग्ने रहेछ । हाम्रा त वेबसाइटमै पनि धेरै कुराहरू राखेका छौँ । कम्तिमा त्यहाँ भएका कुराहरू अध्ययन गरेर इन्स्योरेन्स गर्न आग्रह गर्दछु ।
शिखर इन्स्योरेन्स कम्पनीमा दाबी भुक्तानीको समस्या कत्तिको छ र कसरी सम्बोधन गरिरहेको छ ?
यस विषयमा हामी हाम्रो तर्फबाट सचेत र सजग छौँ । कानुनको परिधिभित्र रहेर सकेसम्म सबैलाई समयमै भुक्तानी दिने हाम्रो रणनीति छ । कागजातहरू नमिल्दा केही ढिलो वा नपाउने स्थिति बन्नेबाहेकका विषयमा हामीले राम्रो सुविधा दिएका छौँ । यदि त्यस्तो केही समस्या भएको भए वा गुनासो भए तपाइँहरूसम्म पहिल्यै कुरा आइहाल्थ्यो नि ।
कागजात मिलाएर ल्याउनुस् भनेर सजिलो कुरा गर्ने, कतिपय कागजात मिलाउन नसक्दाको अवस्थामा स्वतः कम्पनी नै धनी हुने स्थिति छ नि ? भुक्तानीमा सहजीकरण पनि तपाइँहरूले नै गर्नुपर्ने होइन र ?
बीमा भुक्तानीका लागि कागजपत्र प्रमुख कुरा हो र हामीले पनि यसलाई प्राथमिकतामा राखेका छौँ । तर, डकुमेन्ट दिनै नसक्ने अवस्था छ भने आपसी समझदारीमा पनि विषयहरूलाई सेटल गर्दै गइरहेका छौँ । यद्यपि, हामीकहाँ त्यस्ता कुनै समस्या छैनन् । बीमा भुक्तानीका सबै डकुमेन्ट भएको, डकुमेन्ट पुग्ने अवस्था हुँदाहुँदै नपुगेको र डकुमेन्ट हुँदैनहुने अवस्था हुन्छ । यस्तो अवस्थामा हामीले विवेक पु¥याएर काम गरिरहेका हुन्छौँ र अरुले पनि त्यही गरेका छन् भन्ने लाग्छ । नत्र ‘तिललाई पहाड बनाउने’ आजको दुनियाँमा कुनै पनि कुरा बाहिर आइहाल्थे नि ।
कम्पनीहरूले सहजै दाबी भुक्तानी दिनका लागि उसले रोजेको रि–इन्स्योरेन्स कम्पनी कत्तिको सवल छ भन्नेमा पनि निर्भर हुन्छ भनिन्छ । तपाइँहरूले कस्ता रि–इन्स्योरेन्सहरू अपनाउनुभएको छ ?
कम्पनी र बीमितबीच तथा कम्पनी र रि–इन्स्योरेन्सबीच हुने सम्झौता फरक–फरक हुन् । ठूला–ठूलाबाहेकका केसमा हामी रि–इन्स्योरेन्सलाई कुर्दैनौँ र कुर्न पनि पर्दैन ।
जीवन बीमालाई मानिसले बचतका रूपमा लिन्छन् अनि गर्छन् । तर, निर्जीवन बीमामा तिरिएको प्रिमियम फिर्ता हुँदैन । त्यसकारण किन गर्ने भन्ने पनि मानिसहरूको सोचाई रहेको पाइन्छ । उहाँहरूलाई बीमा गर्न कसरी कन्भिन्स गर्नुहुन्छ ?
बीमाको कन्सेप्ट भनेको एउटै ‘रिस्क’का लागि धेरैबाट कलेक्सन गरेर जसलाई क्षति पर्छ उसलाई तिर्ने भन्ने हो । त्यसकारण मेरो क्षति नहुनु धेरै राम्रो कुरा हो, यदि क्षति भइहाल्यो भने बीमाले तिर्छ भन्ने कन्फिडेन्स मसँग हुन्छ । मैले तिरेको प्रिमियम मैले नै सदुपयोग गर्नुपर्छ भन्ने बुझाइ राख्नुहुँदैन, अरु कसैको क्षतिमा सहयोगी बनेको छ र आफूलाई पर्दा पनि अरुको योगदान छ भन्ने सम्झनुपर्छ । यति बुझियो भने सबैले बीमा गर्नुहुन्छ ।
बीमा कम्पनीहरूले आफूलाई जति अब्बल र सक्षम भने पनि राज्यले पत्याएको अवस्था देखिदैन । नत्र राज्य आफैंले ठूलो खर्च गरेर स्वास्थ्य बीमाको काम आफैंले किन गरिरहन पथ्र्यो र ?
यसमा दुईवटा कुरा छ, एउटा सामाजिक सुरक्षा र अर्को बीमा । जस्तोः कोही दीर्घरोगी हुनुभयो भने त्यसलाई बीमाले तिर्न सक्दैन । त्यस्तो समस्यालाई ‘सोसल सेक्युरेटी’को ‘एस्पेक्ट’बाट राज्यले नै व्यवस्था गर्नुपर्छ । बाँकी कुराको हकमा स्वास्थ्य बीमा बीमा कम्पनीहरूमा चाँडै नै आउने विश्वास मलाई छ ।
हेर्नुहोस् भिडिओ कुराकानी–
यो पनि पढ्नुहोस्–
प्रत्येक नेपालीले आज बीमा गर्ने हो भने १५ वर्षपछि सबै धनी बन्नेछन् (भिडिओ वार्ता)