काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नेपाली पुँजी बजारमा नयाँ वित्तीय उपकरण ‘शर्ट सेलिङ’ लागू गर्ने तयारी थालेपछि यस विषयले लगानीकर्ता, ब्रोकर र बजारका सरोकारवाला माझ चर्चा पाएको छ ।
बोर्डले हालै सार्वजनिक गरेको अवधारणा पत्र मार्फत मार्जिन लेन्डिङ, धितोपत्र सापटी, इन्ट्रा–डे कारोबार र शर्ट सेलिङ जस्ता आधुनिक वित्तीय उपकरण क्रमश: लागू गर्ने योजना अघि सारेको हो ।
हालसम्म नेपालमा लगानीकर्ताले शेयरको मूल्य बढ्ने अपेक्षामा खरिद गरी पछि बेचेर नाफा कमाउने अभ्यास मात्र गर्दै आएका छन् । तर शर्ट सेलिङ लागू भएपछि बजार घट्दा पनि निश्चित प्रक्रिया पूरा गरेर नाफा कमाउने अवसर खुल्नेछ ।
शर्ट सेलिङ भनेको के हो ?
शर्ट सेलिङ भनेको आफूसँग नभएको शेयर सापटी लिएर बिक्री गर्ने र पछि मूल्य घटेपछि त्यही शेयर किनेर फिर्ता गर्ने प्रणाली हो । अर्थात् कुनै कम्पनीको शेयर मूल्य घट्ने अनुमान गर्ने लगानीकर्ताले पहिले शेयर सापटी लिन्छन्, तत्काल बिक्री गर्छन् र पछि मूल्य घटेपछि सस्तोमा किनेर सापटी फिर्ता गर्छन् । बिक्री मूल्य र पुन: खरिद मूल्यबीचको अन्तर नै उनीहरूको नाफा हुन्छ ।
धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष डा गोपालप्रसाद भट्ट भन्छन, “पुँजी बजारमा लगानीकर्ताहरूको रणनीति मुख्यत: दुई प्रकारको हुन्छ । पहिलो समूहले शेयरको मूल्य भविष्यमा बढ्ने अपेक्षामा खरिद गर्छ र मूल्य बढेपछि बिक्री गरेर नाफा कमाउँछ, जसलाई लङ पोजिसन भनिन्छ । दोस्रो समूहले भने कुनै कम्पनीको शेयर मूल्य घट्ने अनुमानका आधारमा त्यसलाई सापटी लिएर बिक्री गर्छ र पछि मूल्य घटेपछि पुन: खरिद गरेर सापटी फिर्ता गर्दै मूल्य अन्तरबाट नाफा आर्जन गर्छ । यही प्रक्रियालाई ‘शर्ट पोजिसन’ वा शर्ट सेलिङ भनिन्छ ।”
उदाहरणका लागि, कुनै कम्पनीको शेयर प्रतिकित्ता ५०० रुपैयाँमा सापटी लिएर बिक्री गरियो । केही समय पछि उक्त शेयरको मूल्य ४०० रुपैयाँमा झर्यो भने लगानीकर्ताले ४०० रुपैयाँमा खरिद गरेर फिर्ता दिन्छ । यसरी प्रति कित्ता १०० रुपैयाँको अन्तरबाट, सापटी शुल्क कटाएर बाँकी रकम नाफा हुन्छ ।
किन ल्याउन खोजिएको हो ?
अहिले नेपाली पुँजी बजार एकतर्फी छ । बजार बढ्दा मात्रै लगानीकर्ताले नाफा कमाउन सक्छन् । तर शर्ट सेलिङ लागू भएपछि बजार बढ्ने वा घट्ने दुवै अवस्थाबाट लगानीकर्ताले अवसर प्राप्त गर्नेछन् ।
यसले बजारमा तरलता बढाउने, कारोबारको परिमाण विस्तार गर्ने, मूल्य निर्धारणलाई थप प्रभावकारी बनाउने र भविष्यमा डेरिभेटिभ्स जस्ता उन्नत वित्तीय उपकरण लागू गर्न आधार तयार गर्ने बोर्डको विश्वास छ ।
सरकारले चालु आर्थिक वर्षको बजेट मार्फत इन्ट्रा–डे कारोबार, शर्ट सेलिङ र डेरिभेटिभ्सलाई चरणबद्ध रूपमा सञ्चालनमा ल्याउने घोषणा गरिसकेको छ । त्यसअनुसार बोर्डले आवश्यक कानुनी तथा प्राविधिक तयारी अघि बढाएको हो ।
बजारका लागि अवसर र चुनौती
बजारका जानकारहरू शर्ट सेलिङलाई आधुनिक पुँजी बजारको महत्वपूर्ण उपकरण मान्छन् । यसले बजारलाई थप सक्रिय, प्रतिस्पर्धी र अन्तर्राष्ट्रिय अभ्यास अनुकूल बनाउन सहयोग पुग्ने उनीहरूको धारणा छ ।
स्टक ब्रोकरहरूका अनुसार यो प्रणाली कार्यान्वयन गर्नुअघि शेयर सापटीको स्पष्ट व्यवस्था, कर प्रणाली, जोखिम व्यवस्थापन र प्राविधिक संरचना तयार हुन आवश्यक छ । अन्यथा लगानीकर्तामा अन्योल सिर्जना हुन सक्छ ।
धितोपत्र बोर्डका पूर्व पदाधिकारी र बजार विश्लेषकहरूले पनि नेपालको पुँजी बजार अझै विकासको प्रारम्भिक चरणमा रहेको उल्लेख गर्दै वित्तीय साक्षरता, सूचना प्रणाली, नियामकीय क्षमता र लगानीकर्ताको तयारीलाई प्राथमिकता दिनुपर्ने बताएका छन् ।
शर्ट सेलिङसँग अवसर मात्रै होइन, जोखिम पनि जोडिएको हुन्छ । यदि लगानीकर्ताले मूल्य घट्ने अनुमान गरेर शेयर बिक्री गरे तर त्यसको मूल्य उल्टै बढ्न थाल्यो भने ठूलो घाटा बेहोर्नुपर्ने अवस्था आउन सक्छ ।
त्यसैगरी, बजारमा गलत सूचना फैलाएर कृत्रिम रूपमा शेयर मूल्य घटाउने प्रयास हुन सक्ने जोखिम पनि रहने भएकाले कडा नियमन आवश्यक हुने विज्ञहरूको सुझाव छ ।
सन् २००८ को विश्वव्यापी वित्तीय संकटका बेला अमेरिकासहित केही देशले बजारमा अत्यधिक दबाब नपरोस् भनेर केही समयका लागि शर्ट सेलिङमा प्रतिबन्धसमेत लगाएका थिए ।
चरणबद्ध रूपमा लागू गर्ने तयारी
“शर्ट सेलिङ एकैपटक लागू नगरी चरणबद्ध रूपमा अघि बढाइने छ । सुरुमा मार्जिन लेन्डिङ, त्यसपछि इन्ट्रा–डे कारोबार, त्यसपछि धितोपत्र सापटी तथा उधारो प्रणाली सञ्चालनमा ल्याइनेछ । यी पूर्वाधार र आवश्यक कानुनी तथा प्राविधिक तयारी पूरा भएपछि मात्रै शर्ट सेलिङलाई व्यवहारमा लागू गर्ने बोर्डको योजना रहेको छ”, अध्यक्ष भट्टले कर्पोरेट खबरसँग भने ।
सेबोनले भने सबै प्रक्रिया एकैपटक लागू नगरी चरणबद्ध रूपमा अघि बढ्ने जनाएको छ । सुरुमा मार्जिन लेन्डिङ, त्यसपछि इन्ट्रा–डे कारोबार, धितोपत्र सापटी र त्यसपछि मात्रै ‘कभर्ड शर्ट सेलिङ’ लागू गरिने योजना छ ।
यसका लागि आवश्यक नियमावली निर्माण, सूचना प्रविधि प्रणालीको विकास, नेप्से, सीडीएससी र ब्रोकर कम्पनीहरूको तयारीसँगै लगानीकर्तालाई आवश्यक जानकारी र वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिने बोर्डको तयारी छ ।
‘शर्ट सेलिङ’ नेपाली पुँजी बजारका लागि नयाँ र आधुनिक अवधारणा हो । यसको सफल कार्यान्वयनले बजारलाई थप गतिशील, पारदर्शी र अन्तर्राष्ट्रिय स्तरसँग प्रतिस्पर्धी बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ ।
तर त्यसका लागि बलियो कानुनी व्यवस्था, प्रभावकारी नियमन, आधुनिक प्रविधि र लगानीकर्ताको पर्याप्त वित्तीय साक्षरता अपरिहार्य रहने देखिन्छ । त्यसैले अवसर र जोखिमबीच सन्तुलन कायम गर्दै यसलाई सावधानीपूर्वक कार्यान्वयन गर्नु नै नियामक निकायका लागि सबैभन्दा ठूलो चुनौती हुनेछ ।