पोखरा । पोखरा उद्योग वाणिज्य संघमा ७२ वर्षमा पहिलोपटक नयाँ इतिहास शोभा गौतमले रचेकी छिन् ।
संघको ३६औँ महाधिवेशनबाट उनी अध्यक्ष पदमा ७५१ मत पाएर निर्वाचित भएकी छन् । संघको ७२ वर्षे इतिहासमा उनी पहिलो पटक नेतृत्वमा पुगेकी छिन् । चार जना प्रतिस्पर्धीलाई पछाडि पार्दै गौतमले यो ऐतिहासिक जित हासिल गरेकी हुन् ।
यसअघि संघको कार्यसमिति सदस्य, उप–महासचिव र महासचिवको जिम्मेवारी सम्हालिसकेकी गौतमले निजी क्षेत्रको समावेशी नेतृत्व, व्यावसायिक सुरक्षा र संस्थागत सुदृढीकरणलाई आफ्नो मुख्य एजेन्डा बनाएकी थिइन् ।

संघमा हाल २ हजार ७ सयभन्दा बढी उद्योगी–व्यवसायीहरू आबद्ध छन् ।

गौतम सानो चिया पसलबाट व्यवसायिक यात्रामा लागेकी हुन् । हाल ब्युटी पार्लर, लुब्रिकेन्ट, फेसन तथा इभेन्ट म्यानेजमेन्ट, रेस्टुरेन्ट, कृषि र ग्रोसरी लगायतका विभिन्न क्षेत्रमा व्यवसाय विस्तार गरेकी छन् ।
उनले सुदृढ संघ, सक्षम नेतृत्व र समावेशी टिम, जुझारु नेतृत्व—सबल संघ, समृद्ध पोखरा जस्ता नाराका साथ चुनावी प्यानल नै बनाएर आफ्नो १४ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेकी थिइन् ।