काठमाडौं । सिद्धार्थ बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत कर्णाली प्रदेशको रुकुम पश्चिमस्थित सानीभेरी गाउँपालिका–१ भण्डारवनमा रहेको जनप्रिय आधारभूत विद्यालयको भूकम्पबाट क्षतिग्रस्त भवन पुनर्निर्माण गरी विद्यालयलाई हस्तान्तरण गरेको छ।
वि.सं. २०८० साल कार्तिक १७ गते गएको विनाशकारी भूकम्पबाट क्षति पुगेको विद्यालय भवन बैंकको आर्थिक सहयोगमा पुनर्निर्माण गरिएको हो। सुलभ पहुँचयुक्त शौचालयसहित निर्माण सम्पन्न गरिएको भवनको समुद्घाटन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत रामेश्वर प्रसाद बस्यालले विद्यालयका प्रधानाध्यापक हसां बहादुर खड्कालाई भवन औपचारिक रूपमा हस्तान्तरण गर्नुभयो।
विद्यालय परिसरमा आयोजित कार्यक्रममा बैंकका प्रमुख मार्केटिङ अधिकृत सुरेशराज महर्जन, कर्पोरेट बैंकिङ प्रमुख प्रशन्न खड्का, लघु, साना तथा मझौला उद्यम बैंकिङ प्रमुख प्रदीप पन्त, मुसिकोट शाखा प्रबन्धक धर्मनन्द अवस्थी, सानीभेरी गाउँपालिकाका अध्यक्ष विर्खबहादुर विष्ट, उपाध्यक्ष कमला रोका पुन, वडा नं. १ का अध्यक्ष टेकबहादुर पुन, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गगनबहादुर खड्कालगायत शिक्षक, अभिभावक र विद्यार्थीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत बस्यालले विद्यालय भवन निर्माण केवल भौतिक पूर्वाधार निर्माणमा सीमित नभई भूकम्पपछिको पुन:स्थापना, बालबालिकाको सुरक्षित भविष्यप्रतिको प्रतिबद्धता तथा गुणस्तरीय शिक्षामार्फत समाज रूपान्तरण गर्ने साझा संकल्पको प्रतीक भएको बताए ।
उहाँले विद्यालय केवल पठनपाठनको केन्द्र मात्र नभई भविष्यका नागरिक निर्माण गर्ने महत्वपूर्ण आधारभूमि भएको उल्लेख गर्दै आजका बालबालिकालाई समयसापेक्ष, गुणस्तरीय तथा समावेशी शिक्षामार्फत सक्षम बनाउनु समृद्ध राष्ट्र निर्माणको आधार भएको धारणा व्यक्त गरे ।

बैंकका अनुसार नवनिर्मित भवनले विद्यार्थीहरूको सुरक्षित र गुणस्तरीय शिक्षामा पहुँच विस्तार गर्नुका साथै शिक्षण–सिकाइ प्रक्रियालाई थप प्रभावकारी बनाउने, नियमित पठनपाठनलाई निरन्तरता दिने तथा समग्र शैक्षिक वातावरण सुदृढ बनाउन महत्वपूर्ण योगदान पुर्याउनेछ।

सिद्धार्थ बैंकले दिगो विकास लक्ष्यलाई प्राथमिकतामा राख्दै शिक्षा, स्वास्थ्य, विपद् व्यवस्थापन तथा सामुदायिक विकासका क्षेत्रमा विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। बैंकले आगामी दिनमा पनि यस्ता सामाजिक कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।