काठमाडौं । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन तान्जानियाको अरूसामा रहेका सभामुख डोलप्रसाद (डीपी) अर्यालले अष्ट्रेलियाली संसद्का समकक्षीसँग शिष्टाचार भेट गरेका छन्।
भेटमा नेपाल–अष्ट्रेलिया सम्बन्ध, संसदीय सहकार्य तथा जलवायु परिवर्तनका विषयमा छलफल भएको थियो । सभामुख अर्यालले भोटेकोसी बाढीपछि अष्ट्रेलियाले गरेको मानवीय सहायता र खोज तथा उद्धार सहयोगप्रति धन्यवाद व्यक्त गरे।
उनले जलवायु परिवर्तनबाट नेपाललगायत हिमाली मुलुक प्रभावित भइरहेको उल्लेख गर्दै यस विषयमा अष्ट्रेलियाको सहयोग र ऐक्यबद्धताको अपेक्षा व्यक्त गरेका थिए ।
सभामुख अर्यालले नेपाल–अष्ट्रेलिया संसदीय मैत्री समूह, सांसदबीच अनुभव आदानप्रदान तथा संसदीय कूटनीतिमार्फत सम्बन्ध थप सुदृढ गर्न सकिने बताए। साथै पर्यटन, शिक्षा र जनस्तरको सम्बन्ध विस्तारका लागि प्रत्यक्ष हवाई सम्पर्क स्थापना गर्न सहकार्यको आग्रह गरे।
अष्ट्रेलियाली समकक्षीले नेपालसँगको संसदीय तथा द्विपक्षीय सम्बन्ध थप सुदृढ गर्न अष्ट्रेलिया इच्छुक रहेको बताएका थिए ।
