काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई)को युवा संगठन सीएनआई युवा उद्यमी मञ्च सीएनआईवाइईएफले सीइओ फोरम सम्पन्न गरेको छ ।
‘इन्जिनभन्दा पर, नेपालको अटोमोबाइल उद्योगको कथा विषयक’ उच्चस्तरीय अन्तरक्रिया सम्पन्न गरिएको हो ।
उक्त कार्यक्रममा नेपाली अर्थतन्त्रका संरचनागत चुनौती र विकासका सम्भावनाबारे विश्लेषण गर्न युवा व्यावसायिक नेतृत्व, नीतिविज्ञ र उद्योगीसँग छलफल गरिएको थियो ।
छलफलका प्यानलिस्टमा सीजी होल्डिङ्सका प्रबन्ध निर्देशक करण चौधरी (मारुती प्रतिनिधि), भोइथकी प्रबन्ध निर्देशक ऋतुसिंह वैद्य (टोयोटा प्रतिनिधि), र साइमेक्स इंक प्रालिका सीईओ साहिल श्रेष्ठ (बीवाईडी प्रतिनिधि) सहभागी थिए । कार्यक्रमको सहजीकरण त्रिवेणी ग्रुपका निर्देशक साकेत संघाईले गरेका थिए ।
सीएनआईवाइईएफकी नेटवर्क एन्ड कम्युनिकेसन सभापति साइनी खेतानले कार्यक्रमको रूपरेखा र उद्देश्यमाथि प्रकाश पारेकी थिइन् ।
छलफलका क्रममा अटोमोटिभ क्षेत्रका जटिलता, औद्योगिक विकासमा रहेका कानुनी बाधा र नेपालको वाणिज्य क्षेत्रमा भइरहेको परिवर्तनबारे विमर्श गरिएको थियो । त्यस अवसरमा आयोजित खुला प्रश्नोत्तरसत्रमा उत्पादन, प्रविधि, सेवालगायत विभिन्न क्षेत्रका प्रतिनिधिले नीतिगत स्थिरता, बजारका समसामयिक चुनौती र समग्र लगानीको वातावरणका विषयमा प्यानलिस्टसँग प्रत्यक्ष अन्तरक्रिया गरेका थिए ।