काठमाडौं । विश्व बैंक समूहले नेपालमा आफ्नो कार्य, संलग्नता र प्रभावकारिताको बारेमा सरोकारवालाहरूको धारणा बुझ्न ‘कन्ट्री ओपिनियन सर्भे २०२६’ सुरु गरेको छ ।
संस्थाको काम गर्ने तरिकामा सुधार ल्याउन र नेपालको विकास प्रक्रियामा बैंकको भूमिकालाई थप प्रभावकारी बनाउन यो सर्वेक्षण सञ्चालन गरिएको हो ।
विश्व बैंकले नेपालका नेतृत्वदायी, प्रभावशाली व्यक्तिहरू र निर्णयकर्ताहरूसँग उनीहरूको दृष्टिकोण मागेको छ । सर्वेक्षणमा विशेषगरी नेपाल सरकारका प्रतिनिधि, विकास साझेदार, प्राज्ञिक र निजी क्षेत्र, सञ्चारमाध्यम तथा नागरिक समाजका संस्थाहरू सहभागी गराइने बताइएको छ ।
लबदष्
ियस सर्वेक्षण प्रक्रियालाई व्यवस्थित र निष्पक्ष बनाउन विश्व बैंकले नेपालको स्वतन्त्र अनुसन्धान संस्था ‘फ्याक्ट्स नेपाल’लाई नियुक्त गरेको छ । आगामी केही हप्ताहरूमा ‘फ्याक्ट्स नेपाल’का प्रतिनिधिहरूले सम्बन्धित व्यक्तिहरूसँग सम्पर्क गरी प्रश्नावली उपलब्ध गराउने र पूरा भएका सर्वेक्षण फारमहरू संकलन गर्नेछन् ।
“व्यक्तिगत प्रतिक्रियाहरूलाई गोप्य राखिनेछ र सबै प्रतिक्रियाहरूलाई एकीकृत गरी विश्लेषण गरिनेछ । प्राप्त नतिजाहरू विश्व बैंकको नेपाल टोलीलाई बुझाइनेछ, जसले बैंकको भावी रणनीति, सञ्चालन र कार्यशैली तय गर्न मद्दत पुर्याउनेछ,” विश्व बैंकले बताएको छ ।
विश्व बैंकका माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि अपरेसन्स म्यानेजर एस. आमिर अहमदले यस सर्वेक्षणमा प्राप्त हुने स्पष्ट र इमानदार प्रतिक्रियाले संस्थाका लागि ठूलो महत्व राख्ने बताएका छन् ।