काठमाडौं । नेपालको लागि सिट ब्रान्डको टायरको आधिकारिक विक्रेता एसटीसी अटो प्रालिले गत आर्थिक वर्षको ११ महिनाको अवधिमा करिब सवा १ अर्ब रुपैयाँको कारोबार गरेको छ ।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष सुरेन्द्र उप्रेतीको स्वामित्व रहेको कम्पनीले सन् २०२५ मा १ अर्ब २७ करोड २० लाख रुपैयाँ कारोबार गरेको थियो। कम्पनीका अनुसार गत आवको ११ महिनामा ३ कम्पनीको कारोबार ३ प्रतिशतले वृद्धि भएको छ।

गत आवमा गरेको कुल व्यापारमध्ये कम्पनीको सञ्चालन नाफा मार्जिन ५.८ प्रतिशत छ । सन् २०२५ मा सञ्चालन नाफा मार्जिन ५.६ प्रतिशत थियो । यता कम्पनीको खुद नाफा मार्जिनमा पनि सुधार आएको छ । कम्पनीको सन् २०२५ मा उच्च लाभांश वितरण अनुपात थियो । कम्पनीले सो वर्ष १४३ प्रतिशत लाभांश वितरण गरेको थियो ।
गत आवमा कम्पनीको कुल ऋण र सञ्चालन नाफाको अनुपात ६.५ गुणा रहेको छ । त्यस्तै, कर्जा सेवा कवरेज अनुपात १.१ गुणा रहेको छ । सन् २०२५ मा कर्जाको वार्षिक किस्ता र सञ्चालन नाफा बराबर थियो ।
सन् २०१२ मा स्थापना भएको कम्पनीले विशेषगरी दुई पाङ्ग्रे सवारी साधनको टायर बिक्री वितरण गर्दै आएको छ । देशभर तीन वटा शाखा कार्यालय रहेको कम्पनीको २ सय ५० वटाभन्दा बढी डिलर छन् ।

सुरेन्द्र उप्रेती र भोलेश्वर दुलालको स्वामित्व रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ८५ करोड रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ३० करोड ७० लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ५४ करोड ३० लाख रुपैयाँको रेटिङ गराएको हो । कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ८५ करोड रुपैयाँको क्रेडिट रेटिङ गराएको जनाएको छ।