काठमाडौं । काठमाडौं महानगरकी कार्यकारी नगरप्रमुख सुनिता डङ्गोलले काठमाडौं बिजनेस एक्स्पोले धेरै उद्यमीहरूलाई नयाँ आशा र भरोसा प्रदान गर्नेमा आफू विश्वस्त गरेको बताएकी छन् ।
‘काठमाडौं बिजनेश एक्सपो, २०२६’ उद्घाटनपछि समारोहलाई सम्बोधन गर्दै उनले महानगरसँगको समन्वयमा आयोजित एक्सपोबाट धेरै उद्यमीहरूलाई नयाँ आशा र भरोसा प्रदान गर्ने बताएकी हुन् ।
एक्स्पोले महिला उद्यमीहरूले उत्पादन गरेको वस्तुलाई प्राथमिकता दिएको उजागर गर्दै उनले भनिन्, ‘हामीले महिला सशक्तिकरण, युवा सशक्तिकरणका कुरा गर्दा त्यसमा जोडिने एकदमै महत्वपूर्ण पाटो भनेको आर्थिक रूपमा आत्मनिर्भर हुनु हो । जबसम्म हामी आर्थिक रूपमा आत्मनिर्भर बन्न सक्दैनौँ तबसम्म हामीले लगाउने विभिन्न नाराहरू, सशक्तिकरणका नाराहरू पूरा हुन सक्दैनन् । त्यसकारण आर्थिक रूपमा आत्मनिर्भर बनाउनका लागि र आफूसँग भएको सिपलाई अर्थसँग जोड्नका लागि पनि काठमाडौं बिजनेस एक्सपोले महत्वपूर्ण भुमिका खेल्नेछ ।’
साथै कार्यकारी मेयर डङ्गोलले काठमाडौँ महानगरपालिकाले एक वडा, एक नमूना उद्यमशील कार्यक्रम सञ्चालन गरिरहेको जसमा विशेषगरी गृहिणीहरूलाई उद्यमशील सिप सिकेर सिपलाई उत्पादनसँग जोडिरहेको पनि बताइन् । साथै सिप सिकेर देशमा मात्र सक्षम नभई अन्तर्राष्ट्रिय रूपमै सिप सिकाउन सक्षम भएको विषय पनि उनले बताइन् ।
डङ्गोलले देशको अर्थतन्त्रलाई मजबुत बनाउनका लागि सरकारी र निजी क्षेत्रसँग सहकार्य गरी अगाडि बढ्नुपर्नेमा उनले जोड दिइन् । ‘एक्सपोमा जतिले उद्यमीहरूले स्टल राख्नुभएको सबैजना सानो उद्योगको रूपमा सुरू गर्नुभयो होला, तर हरेक कुरा सुरू हुने सानैबाट हो, एकै स्थानमा धेरै जना व्यापारीको स्टल हुँदा एक अर्कासँग धेरै कुरा सिक्नुहुनेछ । यो एक्सपोको सफलता भनेको एउटा संघको लागि मात्र सफलता होइन, काठमाडौं महानगरपालिकाको लागि मात्र सफलता होइन, जो–जो एक्सपोमा आबद्ध हुनुभएको छ, उहाँहरूको व्यवसायको यात्रामा सफलताको एउटा खुड्किलो बन्ने छ,’ उनले भनिन् ।

यो पनि पढ्नुहोस्–


काठमाडौं महोत्सवमा दोस्रो दिनका कार्यक्रम जारी (फोटो फिचर)
अर्थतन्त्र सुदृढ बनाउन तालिम र सिपलाई आयसँग जोड्न आवश्यक : सुनिता डंगोल
‘भृकुटीमण्डपमा हामीलाई देऊ, ४९ वर्षपछि सजावटसहित चिटिक्क पारेर फिर्ता दिन्छौँ’
FACEBOOK COMMENTS