काठमाडौं । सर्वोच्च अदालतले काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकामा सञ्चालित इँटाभट्टाहरू बन्द गर्न परमादेश जारी गरेको छ । न्यायाधीशद्वय हरिप्रसाद फुयाल र शारङ्गा सुवेदीको इजलासले रिट निवेदकको मागबमोजिम फैसला गरेको हो ।
पाँचखालमा आठवटा इँटाभट्टा सञ्चालनमा छन् । पर्यावरण र जनस्वास्थ्यलाई गम्भीर असर पारेको भन्दै स्थानीयले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उक्त रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले परमादेश जारी गरेको हो ।
मापदण्ड पूरा नगरी इँटाभट्टा सञ्चालन हुँदा पर्यावरण र जनस्वास्थ्यमा गम्भीर असर परेको भन्दै स्थानीयले २०७६ पस १४ मा दर्ता गरेको रिटमा गत चैत १२ मा परमादेश आएको हो । रिटमा पाँचखाल नगरपालिका, वन तथा वातारण मन्त्रालय, शिक्षा मन्त्रालय, पुरातत्त्व विभागलगायतलाई विपक्षी बनाइएको थियो ।
रिटमा इँटाभट्टा सञ्चालनले प्रदूषण बढेको, माटो उत्खननले प्राचीन स्मारक तथा पुरातात्त्विक वस्तुहरूको अस्तित्व समाप्त हुने जोखिम रहेको तथा कृषिजन्य उत्पादन र स्थानीयको स्वास्थ्यमा गम्भीर असर परेको जिकिर थियो ।
FACEBOOK COMMENTS