काठमाडौं । प्रतिनिधिसभा अन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले उद्योगी व्यवसायीलाई विगतको त्रास त्यागेर ढुक्क भएर लगानी गर्न आग्रह गरेका छन् ।
आज बिहीबार काठमाडौंमा कर्पोरेट मिडिया ग्रुपद्वारा आयोजित ‘कर्पोरेट बिजनेस समिट एण्ड अवार्ड २०२६’ को १८औँ संस्करणलाई सम्बोधन गर्दै उनले विगत ३५ वर्षदेखि व्यवसायीहरू वनको बाघ भन्दा पनि मनको बाघसँग डराएर बस्नु परेको उल्लेख गर्दै अब त्यस्तो त्रासबाट मुक्त हुन आग्रह गरे ।
उनले वर्तमान सरकार विगत ३५ वर्षमा बनेका सरकार जस्तो नभएको दाबी गर्दै यो सरकारले पनि अघिल्ला सरकारले जस्तै दु:ख दिन्छ कि भन्ने मानसिकतामा नबस्न उद्योगी व्यवसायीलाई आग्रह गरे । विगत ३५ वर्षदेखिको राजनीतिक तथा नीतिगत दुष्चक्र अन्त्य गर्ने प्रतिबद्धतासहित सरकार अघि बढेको उनले दाबी गरे ।
ढकालले विषम परिस्थितिमा पनि नियमित रूपमा राज्यलाई कर तिर्दै अर्थतन्त्रलाई चलायमान बनाइरहेका उद्योगी व्यवसायीप्रति उच्च सम्मान व्यक्त गरे । निजी क्षेत्रले भोगिरहेका समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै लगानी मैत्री वातावरण निर्माणमा सरकार केन्द्रित रहेको उनले बताए ।
सरकार गठन भएको ८३ दिनमै केही सकारात्मक र परिणाममुखी काम भएको दाबी गर्दै उनले बजेट मार्फत निजी क्षेत्रका पक्षमा महत्वपूर्ण सुधारका कार्यक्रम ल्याइएको बताए । अब ती कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्नु सरकारको मुख्य प्राथमिकता रहेको उनको भनाइ थियो ।

उनले सुशासन कायम गर्न सरकार दृढ रहेको उल्लेख गर्दै कर तिर्दा समेत घुस खुवाउनुपर्ने विगतको बाध्यताको अन्त्य गर्ने दिशामा सरकार अघि बढिरहेको दाबी गरे । उद्योगी व्यवसायीको विश्वास जित्ने गरी नीतिगत सुधार र सेवा प्रवाहलाई थप प्रभावकारी बनाइने उनले बताए ।
