काठमाडौं । विद्युत् नियमन आयोगले सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडलाई प्राथमिक शेयर (आईपीओ) निष्काशनका लागि पूर्वस्वीकृति प्रदान गरेको छ ।
कम्पनीले १३ लाख ७९ हजार ३५० कित्ता बराबरको १३ करोड ७९ लाख ३५ हजार को प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको हो ।
प्राथमिक शेयर निष्काशन (आईपीओ) का लागि कम्पनी र कुमारी क्यापिटलबीच सम्झौता सम्पन्न भई कार्य अघि बढिसकेको कम्पनीले जनाएको छ । शेयरको प्रत्याभूतिको कार्य नेपाल एसबिआई क्यापिटलबाट हुने छ । कम्पनीले ११ मेगावाट क्षमताको माथिल्लो तादी जलविद्युत् आयोजनाको निर्माण कार्य गरिरहेको छ ।
कुमारी बैंक लिमिटेडको अगुवाईमा नेपाल एसबिआई बैंकसँगको सहवित्तीय कर्जाबाट आयोजनाको निर्माण कार्य भइरहेको छ । आयोजनाको करिब ७० प्रतिशत कार्य सम्पन्न भएको जानकारी दिइएको छ ।
नुवाकोटको दुप्चेश्वर गाउँपालिकास्थित तादी खोलामा यो आयोजनाको निर्माण कार्य भइहरेको छ । कम्पनीमा अपि पावर कम्पनी लिमिटेडको बहुमत शेयर लगानी रहेको र आयोजना निर्माणपश्चात अपि पावर कम्पनीका शेयरधनीहरूलाई थप मुनाफा दिने कम्पनीका कार्यकारी सञ्चालक सञ्जिव न्यौपानेले बताए ।
आयोजनाको निर्माण कार्य २०८१ साल माघ महिनाभरिमा सम्पन्न गर्न कम्पनी लागि परेको समेत न्यौपानेले बताए । आयोजनाबाट उत्पादित विद्युत् ८ किलोमिटर लामो ३३ केभी ट्रान्समिसन लाइनबाट नेपाल विद्युत् प्राधिकरणको समुद्रटार सवस्टेशनमा जडान गरिने छ ।
FACEBOOK COMMENTS