काठमाडौं । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटललाई नियुक्त गरेको छ ।
आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरू तथा सर्वसाधारणहरूमा प्रतिशेयर १०० रूपैयाँ अंकित दरको १३ लाख ७९ हजार ३५० कित्ता साधारण शेयर निष्काशन गर्नका लागि कम्पनीले कुमारी क्यापिटललाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको जनाएको छ ।
उक्त सम्झौतापत्रमा सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडका तर्फबाट सञ्चालक समितिका अध्यक्ष सतिश न्यौपाने तथा कुमारी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका छन् ।
अपि पावर कम्पनी लिमिटेडको मुख्य लगानी रहेको सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले नुवाकोटको घ्याङफेदीस्थित माथिल्लो तादी खोलाको पानी सदुपयोग गरी ११ मेगावाट क्षमताको माथिल्लो तादी खोला जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । आयोजनाको निर्माण कार्य करिब ७० प्रतिशत सम्पन्न भइसकेको कम्पनीले जनाएको छ ।
कम्पनीमा अपि पावर कम्पनी लिमिटेडकोे बहुमत शेयर लगानी रहेको छ । आयोजनामा भारतको फ्लोवेल इनर्जी प्राइभेट लिमिटेड कम्पनीबाट निर्मित अत्याधुनिक इलेक्ट्रोमेकानिकल समग्रीहरू जडान गरी अबको १० महिनाभित्र आयोजना सञ्चालनमा ल्याउने कम्पनीले जनाएको छ ।
आयोजनाबाट उत्पादित विद्युत् ३३ केभी डबल सर्किट ट्रान्समिसन लाइनमार्फत ८ किलोमिटर लामो समुन्द्रटार सवस्टेशनमा जडान गरिने कम्पनीले जनाएको छ ।
यो पनि पढ्नुहोस्–
FACEBOOK COMMENTS