काठमाडौं । सत्तारूढ नेपाली कांग्रेसकी सांसद सुशीला थिङले कार्यक्रमसँग तालमेल मिल्ने खालको नीति आउनुपर्ने बताएकी छन् ।
आज बिहीबारको प्रतिनिधिसभा बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिकाे छलफलमा भाग लिँदै उनले कार्यक्रमसँग नीतिको तालमेल नमिले त्यो प्रभावकारी नहुने धारणा राखेकी हुन् ।
दुई ठूला दल नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर बनेको वर्तमान सरकारले ल्याएको नीति तथा कार्यक्रमसमेत दीर्घकालीन प्रवृत्तिको नभए त्यसको जिम्मेवारी यिनै दलले लिनुपर्ने उनले बताइन् ।
‘नेपालको संसदीय इतिहासमै दुई ठूला राजनीतिक दल मिलेर बनेको यत्तिको बलियो सरकारले ल्याएको नीति तथा कार्यक्रम पनि दीर्घकालीन भएन भने यसको जिम्मेवारी तिनै दलले लिनुपर्ने छ,’ उनले भनिन्, ‘प्रोग्रामलाई पोलिसीले सपोर्ट गर्न सक्नुपर्छ ।’
गायिका आस्था राउतको गीत ‘पोहोर पनि ढाँट्यौ आमा यसपालि नि ढाँट्यौ, खोइ त मलाई झुम्के बुलाकी ?’ सम्झँदै उनले जनताले खोजेको झुम्के बुलाकी भनेको विकास, रोजगार र सुशासन रहेको बताइन् ।

‘वास्तवमा सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई जनताले सजिलै पत्याउँछन् भन्ने पक्षमा म पनि छैन । म एउटा गीत सम्झन चाहन्छु– पोहोर पनि ढाँट्यौ आमा यसपालि नि ढाँट्यौ, खोइ त मलाई झुम्के बुलाकी ?,’ सांसद थिङले भनिन्, ‘जनताले खोजेको झुम्के बुलाकी भनेको विकास हो, रोजगार हो, सुशासन हो, भ्रष्टाचार निवारण हो ।’

नीति तथा कार्यक्रम प्रभावकारी हुनुपर्नेमा ‘रातभरि करायो दक्षिणा हरायो’ जस्तो हुने गरेको विगतको अनुभव रहेको सुनाउँदै उनले यसपटक त्यस्तो हुन नहुनेमा जोड दिइन् ।

‘प्रोग्राम र पोलिसीको तालमेल मिलेन भने प्रभावकारी हुँदैन । त्यसैले प्रभावकारी बनाउनको लागि हामीले प्रयत्न गर्नुपर्छ,’ उनले भनिन्, ‘तर, प्रभावकारीको सट्टा यहाँ हुन्छ चाहिँ के भन्दाखेरि ‘रातभरि करायो दक्षिणा हरायो’ भनेझैँ हामी सांसदहरू सदनमा कराउने, सरकारले बजेटमा हाम्रा कुरा नै हराउने कार्यक्रम र बजेट ल्याइरहेको देखेका छौँ । तर, यसपालि त्यस्तो नहोस् ।’
सांसद थिङको भनाइ जस्ताको तस्तै–
‘वास्तवमा सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई जनताले सजिलै पत्याउँछन् भन्ने पक्षमा म पनि छैन । म एउटा गीत सम्झन चाहन्छु– ‘पोहोर पनि ढाँट्यौ आमा यसपालि नि ढाँट्यौ, खोइ त मलाई झुम्के बुलाकी ?’ जनताले खोजेको झुम्के बुलाकी भनेको विकास हो, रोजगार हो, सुशासन हो, भ्रष्टाचार निवारण हो ।
तर, नेपालको संसदीय इतिहासमै दुई ठूला राजनीतिक दल मिलेर बनेको यत्तिको बलियो सरकारले ल्याएको नीति तथा कार्यक्रम पनि दीर्घकालीन भएन भने यसको जिम्मेवारी तिनै दलले लिनुपर्ने छ । ‘प्रोग्राम’ लाई ‘पोलिसी’ ले ‘सपोर्ट’ गर्न सक्नुपर्छ । प्रोग्राम र पोलिसीको तालमेल मिलेन भने प्रभावकारी हुँदैन । त्यसैले प्रभावकारी बनाउनको लागि हामीले प्रयत्न गर्नुपर्छ ।
तर, प्रभावकारीको सट्टा यहाँ हुन्छ चाहिँ के भन्दाखेरि ‘रातभरि करायो दक्षिणा हरायो’ भनेझैँ हामी सांसदहरू सदनमा कराउने, सरकारले बजेटमा हाम्रा कुरा नै हराउने कार्यक्रम र बजेट ल्याइरहेको देखेका छौँ । तर, यसपालि त्यस्तो नहोस् ।’