काठमाडौं । दोलखाको बिगु गाउँपालिकामा निर्माण हुने ९९.८ मेगावाटको तामाकोसी पाँचौं जलविद्युत आयोजनाको लगानी जुटेको छ ।
निर्माण अवधिको ब्याजसहित २१ अर्ब १४ करोड रुपैयाँ अनुमानित लागत रहेको आयोजनामा कर्मचारी सञ्चय कोषले १३ अर्ब ७४ करोड ऋण लगानी गर्ने छ ।
जनताको जलविद्युत कार्यक्रममा समावेश आयोजनाको बाँकी रकम सर्बसाधारणलाईसमेत सेयर निश्कासन गरी स्वपुँजी ९इक्विटी०बाट जुटाइने छ । आयोजनामा ६५ प्रतिशत ऋणबाट र ३५ प्रतिशत इक्विटीबाट जुटाएर वित्तीय व्यवस्थापन गरिएको हो ।
नेपाल विद्युत प्राधिकरण, आयोजनाको प्रवद्र्धक तामाकोसी जलविद्युत कम्पनी र कर्मचारी सञ्चय कोषबीच त्रिपक्षीय ऋण सम्झौतामा हस्ताक्षर भएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, कोषका प्रशासक जितेन्द्र धिताल र कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) विनोद भण्डारीले सम्झौतामा हस्ताक्षर गरे ।
सबैका लागि, समृद्धिका लागि र स्वच्छ वातावरणका लागि हरित ऊर्जा नेपालको सम्भावना र आवश्यकता रहेको उल्लेख गर्दै कार्यक्रममा मन्त्री बस्नेतले यसका लागि जलविद्युत्को उत्पादन बढाउने, प्रसारण तथा प्रणालीका पूर्वाधार विस्तारमा काम भइरहेको बताए ।
बस्नेतले खपत बढाउन र देशभित्र खपत गरी अतिरित्त भएको विद्युत् निर्यातका लागि बजार सुनिश्चितका लागि प्रयासहरु भइरहेको उल्लेख गरे । उनले आयोजना तोकिएकै समय र लागतमा सम्पन्न गरी विकास निर्माणमा ढिला हुँदा उठ्ने प्रश्नको जवाफ दिनुपर्ने बताए ।
प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले नेपालमा उत्पादन भएको विद्युत् यहीं खपत गरी बढी भएको निर्यात गर्न बजार सुनिश्चित हुँदै गएको बताए । भारत र बंगलादेश नेपालमा उत्पादित विद्युत् किन्नका लागि आतुर रहेको बताउँदै घिसिङले ती देशहरुमा विद्युत् बिक्री गर्दा वर्षायामको विद्युत्को राम्रो दर पाउने अवस्था बन्दै गएको उल्लेख गरे ।
प्रशासक धितालले जलविद्युत् क्षेत्रमा करिब आठ सय मेगावाटका आयोजनाहरुमा ४० अर्ब रुपैयाँभन्दा बढी कोषले लगानी गरेको जानकारी दिए । उनले निर्धारित समय र लागतमा निर्माण सम्पन गरी आयोजनालाई नमुना बनाइनु पर्नेमा जोड दिए । कम्पनीका सिइओ भण्डारीले आयोजनाको निर्माण चारभित्र सम्पन्न गर्ने लक्ष्यकासाथ काम भइरहेको बताए ।
तामाकोसी पाँचौं ४५६ मेगावाटको मेगावाटको माथिल्लो तामाकोसीको जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादनपछि निस्किएको पानीलाई उपयोग गरी निर्माण हुन लागेको क्यास्केड आयोजना हो । त्यसैले तामाकोसी पाँचौले बाँध, बालुवा थिग्रयाउने पोखरी ९डिसेन्डर० लगायतका संरचनाहरु बनाउनु नपर्ने भएकोले आयोजनालाई आकर्षक मानिएको छ ।
माथिल्लो तामाकोसीको विद्युत गृहबाट निक्लिएको पानीलाई आयोजनाको सुरुङमा पठाउन आवश्यक पर्ने सिभिल संरचनाको निर्माण भइसकेको छ । हाइड्रोमेकानिकल काम बाँकी रहेको छ । आयोजनाले ८ किलोमिटर सुरुङ, विद्युतगृह, करिब २ किलोमिटर २२० केभी प्रसारण लाइनलगायतका मुख्य संरचना निर्माण गर्नु पर्ने छ ।
आयोजना निर्माणका लागि निर्माण व्यवसायी छनौटका लागि टेण्डर प्रक्रियामा रहेको छ । विस्तृत डिजाइन र वातावरणीय प्रभाव मूल्यांकन (इआइए) स्वीकृत भइसकेका छन् । आयोजना निर्माणमा आवश्यक पर्ने करिब १३३ रोपनी निजी जग्गा अधिग्रहण गरिसकिएको छ ।
आयोजनाबाट वार्षिक रुपमा ४९ करोड ५१ लाख युनिट विद्युत् उत्पादन हुने छ । माथिल्लो तामाकोसीमा रोलवालिङ खोला मिसाएपछि आयोजनाबाट उत्पादन हुने विद्युत् बृद्धि भई ५४ करोड ३५ लाख युनिट पुग्ने छ । आयोजनाबाट उत्पादित बिद्युत् खरिद बिक्रीका लागि प्राधिकरण र कम्पनीबीच सम्झौता भइसकेको छ ।
FACEBOOK COMMENTS