काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले निजी क्षेत्रलाई राहत महसुश हुनेगरी सरकारले काम गर्ने बताएका छन् । राष्ट्रलाई आत्मनिर्भर बनाउने अभियान निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताउँदै उनले सरकार निजी क्षेत्रको हितमा काम गर्न तयार रहेको बताएका हुन् ।
‘राष्ट्रलाई आत्मनिर्भर बनाउने अभियानमा लाग्नका लागि निजी क्षेत्रले कस्तो नीतिगत सुधार चाहन्छ त्यसका लागि लागि सरकार तयार छ,’ मन्त्री शर्माले भने, ‘अनौपचारिक अर्थतन्त्रलाई औपचारिक अर्थतन्त्रको दायरामा ल्याउन समेत निजी क्षेत्रको सहयोग सरकारलाई चाहिन्छ ।’
नेपाल उद्योग वाणिज्य संघ काठमाडौँले शनिबार भर्चुअल रुपमा आयोजना गरेको दोस्रो वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले आयात प्रतिस्थापन गर्न पनि जोड दिएका छन् । व्यापार घाटा डरलाग्दो किसिमले बढिरहेको भन्दै उनले उत्पादन बढाएर व्यापार घाटा कम गर्ने उद्घोष समेत गरेका छन् ।
वैदेशिक लगानीको लागि उपयुक्त वातावरण निर्माण गर्ने र राष्ट्रको समग्र पूँजी निर्माण गर्नतिर लाग्ने प्रतिवद्धता पनि उनले व्यक्त गरेका छन् ।