काठमाडौं । देशभित्र र बाहिरका राजनीतिक गतिविधिदेखि अर्थतन्त्र, समाज, खेलकुद, अन्तर्राष्ट्रिय घटनाक्रम र अन्य महत्वपूर्ण विषयसँग सम्बन्धित आज दिनभरका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
१- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले पार्टीको १५औँ महाधिवेशन आगामी मंसिर २१ देखि २३ गतेसम्म गर्ने प्रस्ताव गरेको छ । बुधबार चुनदेवीमा बसेको समूहको बैठकमा वडा अधिवेशन असोज १५, पालिका अधिवेशन असोज २०, प्रदेश निर्वाचन तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्रको अधिवेशन असोज २३, जिल्ला अधिवेशन कात्तिक १५ र प्रदेश अधिवेशन मंसिर ४ गते गर्ने प्रस्ताव गरिएको नेता एनपी साउदले जानकारी दिए । महाधिवेशनको कार्यतालिका उमाकान्त चौधरीले प्रस्तुत गरेका थिए । साउदका अनुसार प्रस्तावित कार्यतालिकामाथि केन्द्रीय सदस्यहरूले धारणा राखिरहेका छन् । छलफलपछि आवश्यक परिमार्जनसहित कार्यतालिका पारित गरिने उनले बताए । उनले पार्टीभित्रको विवाद समाधानका लागि शेखर कोइराला पक्षलगायत अन्य नेतासँग निरन्तर संवाद भइरहेको पनि जानकारी दिए । महाधिवेशनका लागि पुस १० गतेभित्र नवीकरण भएका क्रियाशील सदस्यतालाई मान्यता दिने प्रस्तावसमेत गरिएको छ । देउवा समुहले महाधिवेशन गर्ने तयारी शुरु गरेपछि काँग्रेस विभाजन उन्मुख भएको छ ।
२- रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीमा परी ज्यान गुमाएका प्रहरी कर्मचारीका परिवारलाई प्रतिव्यक्ति तत्काल १० लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने निर्णय भएको छ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको अध्यक्षतामा बुधबार नेपाल प्रहरी प्रधान कार्यालयमा बसेको नीति निर्माण समितिको बैठकले प्रहरी कर्मचारीबाट राहतस्वरूप संकलन गरिएको रकमबाट मृतक प्रहरीका परिवारलाई प्रतिव्यक्ति १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो । बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४० करोड रुपैयाँ प्रदान गर्ने निर्णयसमेत गरेको छ । बैठकले बाढीमा परी ज्यान गुमाएका प्रहरी कर्मचारीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइते प्रहरी कर्मचारीको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । सम्पर्कविहीन रहेका प्रहरी कर्मचारीको खोजीलाई प्रभावकारी बनाउन परिवारका सदस्यसँग समन्वय गरी विशेषज्ञसहितको टोली परिचालन गर्ने निर्णय पनि गरिएको छ ।
त्यस्तै, मृतक प्रहरी कर्मचारीले नेपाल प्रहरी कल्याण कोषबाट लिएको विशेष सापटी ऋण मिनाहा गर्ने निर्णय भएको छ । मृतकका परिवारबाट इच्छुक एक जनालाई सीपमूलक तालिम प्रदान गरी रोजगारीका लागि आवश्यक पहल गर्ने तथा सन्ततिलाई आधारभूत तहसम्म पायक पर्ने प्रहरी आवासीय विद्यालय र उच्च तहसम्म नेपाल प्रहरी आवासीय विद्यालय साँगा, काभ्रेमा शैक्षिक शुल्क मिनाहा गरी अध्ययनको व्यवस्था मिलाउने निर्णय गरिएको छ । बाढी प्रभावित क्षेत्रमा कार्यरत प्रहरी कर्मचारीका व्यक्तिगत सामग्रीमा भएको क्षतिका लागि जनही ५० हजार रुपैयाँ राहत उपलब्ध गराउने निर्णयसमेत भएको छ । प्रभावित प्रहरी एकाइमा टिमुरे, मैलुङ, रसुवागढी, स्याफ्रुवेशी र बेत्रावती रहेका छन् । त्यसैगरी, नेपाल प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभागले एक जना वरिष्ठ प्रहरी अधिकृतलाई सम्पर्क व्यक्ति तोकी मृतक, सम्पर्कविहीन तथा घाइते प्रहरी कर्मचारी र उनीहरूका आफन्त तथा परिवारलाई खोजी, उपचार र आवश्यक सेवा–सुविधा प्राप्त गर्न सहजीकरण गर्ने निर्णय गरेको छ ।
३- चीनले रसुवा-ग्यिरोङ सीमा क्षेत्रमा आएको भीषण बाढीपहिरोपछि नेपाललाई मौसमसम्बन्धी सूचना तथा पूर्वानुमानमा सहयोग गर्दै आएको जनाएको छ । चीनको मौसम प्रशासनका प्रवक्ता वाङ यावेईका अनुसार विपद्पछि चीनले तत्कालै नेपालको मौसम विभागसँग मौसमसम्बन्धी भिडियो छलफल गरेको थियो । त्यसयता नेपाललाई मौसम निगरानी, पूर्वानुमान, पूर्वसूचना तथा विपद्को प्रभावसम्बन्धी जानकारी उपलब्ध गराउँदै आएको छ । उनका अनुसार उद्धार तथा राहत कार्यमा मौसमसम्बन्धी आवश्यक जानकारी उपलब्ध गराउन चीनले निरन्तर सहयोग गरिरहेको छ । आपत्कालीन उद्धार र विपद् व्यवस्थापनमा सहयोग पुर्याउन नेपालसँग मौसमसम्बन्धी सहकार्य थप सुदृढ गरिने पनि चीनले जनाएको छ । चीनको मौसम प्रशासनले नेपालमा जारी उद्धार तथा राहत कार्यलाई आवश्यक पर्ने समग्र मौसमसम्बन्धी सेवा उपलब्ध गराउन सक्दो प्रयास गर्ने जनाएको छ ।

४- नेपाल राष्ट्र बैंकले भोटेकोसी नदीमा आएको बाढीबाट कागजात गुमाएका बैंकका ग्राहकहरूलाई हस्ताक्षर नमुना, फोटो तथा अन्य विवरणको आधारमा वित्तीय सेवा दिन बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको छ । राष्ट्र बैंकले बाढीबाट प्रभावित भई बैंकिङ कारोबार गर्न आवश्यक चेक, कार्ड, मोबाइल तथा अन्य कागजात गुमाएका ग्राहकहरूलाई यस विषम परिस्थितिमा वित्तीय सेवाको पहुँच सुनिश्चित गर्न यस्तो निर्देशन दिएको हो । राष्ट्र बैंकले भनेको छ- हालै रसुवा लगायतका जिल्लामा आएको प्राकृतिक विपद्बाट प्रभावित भई बैंकिङ कारोबार गर्न आवश्यक चेक, कार्ड, मोबाइल तथा अन्य कागजात गुमाएका ग्राहकहरूलाई संस्थामा रहेको हस्ताक्षर नमुना, फोटो तथा अन्य विवरणको आधारमा यकिन गरी यस विषम परिस्थितिमा वित्तीय सेवाको पहुँच सुनिश्चित गर्न आवश्यक सहयोग/सहजीकरण गर्ने व्यवस्था मिलाउनूहुन् यो सूचना जारी गरिएको छ ।’
५- प्रतिनिधि सभामा भोटेकोशी बाढीबारे विशेष प्रस्ताव पारित भएको छ । बुधबारको प्रतिनिधिसभा बैठकमा सभामुख डोलप्रसाद अर्यालले प्रस्तुत गरेको विशेष प्रस्ताव सर्वसहमतिले पारित भएको हो । प्रस्ताव प्रस्तुत गर्नु अघि सभामुख अर्यालले भोटेकोशी बाढीबाट पछि राहत, खोजी र उद्धारको काम प्रभावकारी ढंगले गर्न सरकारलाई निर्देशन दिएका थिए । आजको प्रतिनिधि सभाको बैठकमा बाढीमा परेर निधन भएकाहरुको सम्झनामा एक मिनेट मौनधारण गरिएको थियो ।
६- नेप्सेमा आज वृद्धि आएको छ । आज बुधबार नेप्से १५.४४ अंकले बढेर २५३८.११ विन्दुमा पुगेर रोकिएको छ । आज ३५४ कम्पनिका ७२ लाख ६८ हजार २०२ कित्ता शेयर २ अर्ब ९४ करोड २७ लाख ८१ हजार ८२६ मा कारोबार भएको थियो । आज म्युचुअल फण्ड र निर्जीव वीमा बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ । आज, सबैभन्दा बढी उपकार लघुवित्तको शेयर ११.८७ प्रतिशतले बढेको छ भने माथिल्लो मैलुंग जलविद्युतको शेयर १०.२३ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी एनएमबी इनर्जी बण्डको शेयर ५.८१ प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी सानिमा मिडल तमोर हाइड्रोको १४ करोड १७ लाख बराबरको कारोबार भएको छ भने एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको १२ करोड ६४ लाख बराबरको कारोबार भएको छ ।
७- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री बालेन शाहको शैलीप्रति संसदमा आलोचना गरेका छन् । बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रचण्डले प्रधानमन्त्री शाह संसदमा आउने तर कसैको अनुहार पनि नहेर्ने गरेको भन्दै यति ठुलो अवसर गुम्न दिन नहुने बताएका हुन् । प्रचण्डले भने- ‘सरकारको मुख्य नेतृत्व जिम्मेवार र संवेदनशील हुनुपर्ने हो। आज आउनुभयो, केही ब्रिफिङ गर्नुभयो, यस अर्थमा त उहाँलाई धन्यवाद नै भन्न चाहन्छु । तर उहाँले अरूलाई पनि विश्वासमा लिनुपर्छ र अरूका अनुभव पनि महत्त्वपूर्ण हुन्छ भन्नेतिर उहाँको ध्यान गएन । कार्यशैलीले के देखाउँछ भने आफ्नै दलका सांसदलाई विश्वासमा लिने मेहनत गरेको मैले देख्दिनँ, उहाँ आउनुहुन्छ कसैको अनुहार नहेरी जानुहुन्छ, यो के तरिका हो, हामी तपाईंलाई सहयोग गर्छौं भनिरहेका छौं, कसैको पनि अनुहार हेर्न नपर्ने के हो यो तरिका, यसरी त हुँदैन ।’
८- नेपाल ए टिम अस्ट्रेलियाको तासमानियासँग पराजित भएको छ । नेपाल ए तासमानियासँगको एकदिवसीय खेल २ विकेटले हारेको हो । नेपाल ए ले दिएको १९३ रनको लक्ष्य पछाएको तासमानियाले ४९.२ ओभरमा ८ विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो । यसअघि टस हारेर पहिला ब्याटिंग गरेको नेपाल ए ले ४३.३ ओभरमा अल आउट हुदै १९२ रन बनाएको थियो । अब नेपाल ए ले सेप्टेम्बर ४ बुधबार साउथ अस्ट्रेलिया टिमसँग र सेप्टेम्बर ६ आइतबार न्यूजील्याण्ड ए सँग खेल्ने तालिका रहेको छ ।
९- नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सुरुङभित्र फसेका नागरिकको खोज तथा उद्धारमा भएको ढिलाइ अमानवीय भएको टिप्पणी गरेका छन् । बुधबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै आङ्देम्बेले जलविद्युत आयोजनाको सुरुङमा फसेका नागरिकको उद्धारमा सरकारले ढिलाई गरेकोप्रति असन्तुष्टि व्यक्त गर्दै यसलाई अमानवीय भनेका हुन् । उनले भने- ‘खोज तथा उद्धार अहिले सबैभन्दा बढी खड्किएको विषय छ । अझै पनि ६२ जिल्लाका ३९१६ नागरिक सम्पर्कविहीन भएको विवरण आएको छ । समयक्रममा यो अझै बढ्न सक्छ । समयक्रममा यो अझै बढ्न सक्छ । सुरुङभित्र फसेकाको खोज तथा उद्धारमा भएको ढिलाइ अमानवीय र गम्भीर विषय हो ।’
उनले सुरुदेखि नै सरकारी, निजी र आवश्यक परेको खण्डमा अन्तर्राष्ट्रिय प्रविधि र दक्ष टिमसहित उद्धारमा केन्द्रित हुनुपर्नेमा सरकारले त्यसो नगरेको आरोप लगाए । उनले २०७२ सालको भूकम्पमा तत्कालिन सरकारले भूकम्पको १२ घण्टा भित्र नै विदेशका विशेषज्ञ उद्धार टोली नेपाल आएको स्मरण गर्दै विगतका राम्रा काम सिक्न सरकार चुकेको बताए । आङ्देम्बेले प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा अहिले सबै ठिक हुदै गएको र सबैसँग समन्यव गरेको बताए पनि आफु फिल्डमा गएर गरेको अनुभव त्यस्तो नरहेको बताए । उनले स्थानीय र प्रदेशलाई समन्यव नगरेको तथा सरकार एकतर्फी रुपमा अगाडी बढेको बताउदै जनताको दुखमा संसदको संख्या र राजनीति गर्न नहुने बताए ।
१०- प्रधानमन्त्री बालेन शाहले भोटेकोशी बाढी रसुवा, नुवाकोट र धादिङको मात्रै नभई सिंगो नेपालको छातीमा परेको बज्रपात भएको बताएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रधानमन्त्री शाहले भोटेकोशी बाढीबाट भएको क्षति कुनै एउटा जिल्लाको मात्रै नभई सिंगो देशकै पीडा भएको बताएका हुन् । सम्बोधनमा प्रधानमन्त्री शाहले अहिले शरीर थकित भयो भनेर विश्राम लिने छुट नभएको बताउदै भने- ‘मन भक्कानिए पनि एक आपसमा बिलौना गर्ने अवस्था छैन ।’
उनले देशको नेतृत्वले आँसु होइन,जनतालाई आड र भरोसा दिनुपर्ने यथार्थलाई आफूहरूले स्वीकार गरेको उनले बताए । उनले भने- ‘यसैले दृढ संकल्पका साथ यो विपत्तिसँग लड्नुको अर्को विकल्प हामीसँग छैन । हामी लडिरहेका छौँ ।’ प्रधानमन्त्री शाहले संकटको घडीमा दृढ संकल्पका साथ सरकार जनताको जीवन रक्षमा लडिरहेको बताएका हुन् । प्रधानमन्त्री शाहले भदौ १० गते भोटेकोशीमा आएको भिषण बाढीपछि सरकारले गरेका कामको विवरण संसदमा जानकारी दिएका थिए । उनले खोज उद्धार र राहतलाई प्रभावकारी रुपमा कार्यान्वयन गरेको बताउदै बाढीको दोस्रो दिन आफै नुवाकोट पुगेर स्थलगत अनुगमन समेत गरेको जानकारी दिए । उनले प्रधानमन्त्री राहत कोषमा सहयोग आउने क्रम जारि रहेको बताउदै अहिलेसम्म ७ अर्ब ८८ करोड ५७ लाख जम्मा भएको जानकारी दिए ।
प्रधानमन्त्री शाहले बाढी प्रभावितका लागि सहयोगमा अन्तर्राष्ट्रिय सहयोग पनि उल्लेख्य प्राप्त भइरहेको भन्दै अन्तर्राष्ट्रिय विकास साझेदारहरुले पनि सहयोग गरिरहेको संसदमा जानकारी दिएका छन् । उनले बाढी प्रभावित क्षेत्रमा ९६ प्रतिशत संचार सेवा पुनर्स्थापित भएको बताए । अहिले रसुवा, नुवाकोट र धादिङमा वैकल्पिक प्रसारण मार्फत विद्युत आपूर्ति गरिएको र क्रमश सबै स्थानमा विद्युत पुन: आपूर्ति गरिने उनले संसदमा जानकारी दिएका छन् । प्रधानमन्त्री शाहले बाढीले बगाएका पुललाई पुन: निर्माण गर्न सम्भाव्यता अध्ययन शुरु गरिएको बताउदै बेलिब्रिज पुल छिटै निर्माण गर्ने बताएका छन् । प्रधानमन्त्री शाहले हामीले जलवायु परिवर्तनका कारण भोगेको असर बारे सचेत हुनैपर्ने बताउदै यस बारेमा अन्तर्राष्ट्रियस्तरमा आवाज उठाउने बताए । प्रधानमन्त्री शाहले यो विपद पूर्वानुमान भन्दा बाहिरको कुरा भएको बताउदै मानव सभ्यताकै ठुलो विपद भएको बताए ।
११- भदौ १० गते नेपालमा भएको विनाशकारी हिमपहिरो तथा बाढीपहिरो तीव्र रूपमा फैलिनुको कारणबारे चिनियाँ अनुसन्धानकर्ताले नयाँ तथ्य सार्वजनिक गरेका छन् । चिनियाँ विज्ञान प्रतिष्ठानअन्तर्गत तिब्बती पठार अनुसन्धान संस्थानको नेतृत्वमा गरिएको अध्ययनले विपद्को मुख्य कारण तत्कालको भारी वर्षा नभएको देखाएको छ । अध्ययन मंगलबार ‘चिनियाँ विज्ञान बुलेटिन’ नामक वैज्ञानिक पत्रिकामा प्रकाशित भएको छ ।
अनुसन्धानअनुसार विपद् हुनुअघि स्रोत क्षेत्रमा लामो समयसम्म हिमनदी तीव्र गतिमा सर्दै गएको प्रतिवेदनमा उल्लेख छ । वसन्त र गर्मीयाममा सामान्यभन्दा बढी तापक्रम रहेकाले हिमपग्लिने क्रम बढ्नु र उच्च क्षेत्रमा जमेको माटो कमजोर हुँदै जानुले बरफ र चट्टानबीचको सतहको स्थिरता कमजोर बनाएको हुन सक्ने अध्ययनले देखाएको छ । यद्यपि विपद् सुरु गराउने तत्कालीन एकमात्र कारण भने अझै निश्चित हुन सकेको छैन । अध्ययनको अर्को महत्वपूर्ण निष्कर्ष प्रारम्भिक हिमपहिरोभन्दा त्यसपछि बाटोमा थप सामग्री मिसिँदै जानु विपद्को विनाशकारी शक्ति बढाउने प्रमुख कारण बनेको उल्लेख छ । करिब २२ किलोमिटर लामो खोँच हुँदै बरफ र चट्टान बग्ने क्रममा नदीको सतह तथा आसपासका भिरबाट थप माटो, ढुंगा र अन्य सामग्री मिसिँदै गएपछि सामान्य हिमपहिरो विशाल बाढीपहिरोमा परिणत भएको अनुसन्धानकर्ताले बताएका छन् । भूकम्प मापन केन्द्रबाट प्राप्त विवरणमा मुख्य घटना हुनुभन्दा केही घण्टाअघि स्रोत क्षेत्रमा असामान्य कम्पनका संकेतसमेत देखिएको थियो ।
ती संकेत त्यहाँ देखिएका साना हिम तथा बरफ खस्ने घटनासँग मिल्दोजुल्दो रहेको पाइएको छ । यसले ठूलो विपद्अघि साना चरणमा हिम तथा चट्टान सर्ने प्रक्रिया भएको हुन सक्ने देखाएको छ । अनुसन्धानकर्ताले जलवायु परिवर्तनका कारण उच्च हिमाली क्षेत्रमा यस्ता विपद्को जोखिम बढिरहेको भन्दै जोखिम मूल्यांकन गर्दा पहाडबाट कति सामग्री खस्छ भन्ने मात्र नभई बाटोमा थप कति सामग्री मिसिन सक्छ र त्यसको प्रभावमा कति जनसंख्या तथा महत्वपूर्ण संरचना पर्न सक्छ भन्ने विषयलाई समेत समेट्नुपर्ने बताएका छन् । चिनियाँ विज्ञान प्रतिष्ठान, युनान विश्वविद्यालय, हङकङ चिनियाँ विश्वविद्यालय, वुहान विश्वविद्यालयलगायत संस्थाको संयुक्त अध्ययनले हिमाली क्षेत्रमा सीमापार विपद् निगरानी, पूर्वसूचना, जोखिम मूल्यांकन तथा उद्धार र पुनःस्थापनाका लागि महत्वपूर्ण वैज्ञानिक आधार प्रदान गर्ने जनाइएको छ ।
१२- नेपाली काँग्रेसले भोटेकोशी बाढीपछि सुरुङमा फसेकाको उद्धारमा सरकारको भूमिकामाथि गम्भीर प्रश्न उठाएको छ । कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले बैठकले उद्धार कार्यमा अहोरात्र खटिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा अन्य प्रशासनिक निकायको भूमिकाको प्रशंसा गर्दै सम्मान व्यक्त गर्दै सुरुङभित्र फसेकाको उद्धारमा सरकारले देखाएको अदूरदर्शिता र ढिलासुस्तीप्रति गम्भीर असन्तुष्टि जनाएको छ ।
विपदमा काँग्रेस सरकारको साथमा रहेको उल्लेख गर्दै सुरुङभित्र इन्जिनियर तथा श्रमिक फसेको संवेदनशील जानकारी भए पनि तत्काल अन्तर्राष्ट्रिय विज्ञको सहयोग लिन ढिलाइ गरिएको र जलविद्युत् आयोजनाका प्रवर्द्धक तथा निर्माण कम्पनीलाई समेत समयमै उद्धारको अनुमति नदिइएको आरोप लगाइएको छ । काँग्रेसले सरकारको यस्तो व्यवहार गलत मात्र नभई अन्ततः अमानवीयसमेत प्रमाणित भएको भन्दै सुरुङभित्र फसेकाहरूको तत्काल उद्धार गर्न र सुरक्षित निकासको व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ ।
१३- गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद विस्तार गरेका छन् । मुख्यमन्त्री पाण्डेले नेपाल समाजवादी पार्टी गोरखाका सांसद फणिन्द्र देवकोटा गण्डकी प्रदेश सरकारमा ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्री नियुक्त गरेका हुन् । गण्डकीमा एमालेले सरकार छाडेपछि पाण्डेले देवकोटालाई सरकारमा ल्याएका छन् । यसअघि ऊर्जामन्त्री रहेका कांग्रेसका नन्दप्रसाद न्यौपाने भौतिक पूर्वाधारमन्त्री बनेका छन् । ५९ सदस्यीय प्रदेशसभामा कांग्रेसका २७, एमालेका २२ र नेपाली कम्युनिष्ट पार्टीका सभामुखबाहेक ६ सांसद छन् । त्यस्तै राप्रपाका २ सांसद रहेका छन् । यद्यपि, एमाले र नेपाली कम्युनिष्ट पार्टीबीच सत्ता सहकार्य भएपनि राप्रपाको सहयोग बिना बहुमत पुग्ने अवस्था रहेको छैन । एमाले सरकारबाट बाहिरिएपछि पनि गण्डकी प्रदेशमा सहज रुपमा नयाँ सरकार बन्ने अवस्था स्पष्ट रहेको छैन ।
१४- नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोमा बेपत्ता भएका नौ कोरियाली नागरिकसहित अन्यको खोजीका लागि दक्षिण कोरियाले विशेष उद्धार टोली नेपाल पठाएको छ । ४४ सदस्यीय कोरियाली विपद् उद्धार टोली बुधबार काठमाडौं आइपुगेको हो । टोलीमा परराष्ट्र मन्त्रालय, कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग र अग्नि उद्धार अधिकारीहरू सहभागी छन् । टोलीले नेपाली अधिकारीसँग सहकार्य गर्दै करिब १० दिन खोज तथा उद्धार अभियान सञ्चालन गर्नेछ । उनीहरु अहिले रसुवा पुगिसकेका छन् । टोलीले पाँचवटा उद्धार कुकुरसहित उच्च क्षमताका ड्रोन, भग्नावशेषमा पुरिएका व्यक्तिको आवाज तथा दृश्यबाट पहिचान गर्न सक्ने उपकरण र ताप पहिचान गर्ने उपकरण ल्याएको कोरियन टाइम्सले उल्लेख गरेको छ । भदौ १० मा रसुवामा आएको बाढीका क्रममा माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजना निर्माणस्थलबाट नौ कोरियाली नागरिक बेपत्ता भएका थिए । तीमध्ये छ जना दोसान इनर्जीबिलिटी र तीन जना कोरिया दक्षिण-पूर्वी विद्युत् कम्पनीका कर्मचारी रहेका छन् ।
नेपाली सुरक्षाकर्मी तथा कोरियाली उद्धार टोलीले हेलिकोप्टर, ड्रोन, उद्धार कुकुर र अन्य उपकरण प्रयोग गरी रसुवाको धुन्चे क्षेत्रमा खोजी गरिरहेका छन् । कठिन भौगोलिक अवस्था, ठूलो क्षेत्रफल तथा माटो र भग्नावशेषका कारण खोजी कार्य चुनौतीपूर्ण बनेको छ । दक्षिण कोरियाली अधिकारीहरूले बेपत्ताहरूको मोबाइल फोनको स्थान पहिचान गर्ने विकल्पबारे पनि नेपाली अधिकारीसँग छलफल भइरहेको बताएका छन् । कम्पनीहरूले समेत हवाई खोजी तीव्र बनाएका छन् । पछिल्लो अपडेट अनुसार भोटेकोशी बाढीपछि ११ सय भन्दा बढीको शव फेला परिसकेको छ भने ४ हजार भन्दा बढी अझै सम्पर्कविहिन रहेका छन् ।
१५- नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको ८ हजार ८ सयले घटेर तोलाको २ लाख ९७ हजार ३ सयमा कारोबार भइरहेको छ । यसअघि मंगलबार सुन तोलाको ३ लाख ६ हजार १ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मुल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको तोलाको १८५ रुपैयाँले घटेर ४५८० मा कारोबार भइरहेको छ । यसअघि मंगलबार चाँदी तोलाको ४७६५ मा कारोबार भएको थियो ।
१६- नेकपा एमालेका महासचिव शंकर पोखरेलले ‘ग्रीन आर्मी नेपाल’ नामक संस्थाको वैधता, पृष्ठभूमि र सञ्चालनको स्रोतबारे सरकारले स्पष्ट पार्नुपर्ने बताएका छन् । पोखरेलले विद्यालय–विद्यालयमा शाखा तथा ५२ जिल्लामा सञ्जाल रहेको दाबी गरिएको उक्त संस्था कस्तो संगठन हो भन्ने प्रश्न गरेका छन् । उनले संस्थाको सञ्चालनका लागि आम्दानीको स्रोत के हो भन्ने विषयमा समेत स्पष्टता आवश्यक रहेको बताएका छन् । उनले भने- ‘नेपाली सेनाले विद्यालयहरूमा राष्ट्रिय सेवा दल (एनसीसी) गठन गर्ने त सबैलाई थाहा थियो, तर सेवा दलको सट्टा ‘ग्रीन आर्मी’ बनाउन थालिएको हो ? यदि होइन भने, सेना जस्तै देखिने यस प्रकृतिको संगठन खोल्न र संगठित हुन दिनु कत्तिको उचित हो ? सरकारले यस विषयमा स्पष्ट पार्नुपर्छ ।’
नेपाली सेनाले तालिम दिएको दाबीसहित संस्थासँग सम्बन्धित तस्बिरहरू सार्वजनिक भएको उल्लेख गर्दै पोखरेलले नेपाली सेनाले विद्यालयमा राष्ट्रिय सेवा दल गठन गर्दै आएको अवस्थामा त्यसको सट्टा ‘ग्रीन आर्मी’ गठन गर्न थालिएको हो कि होइन भन्ने प्रश्न गरेका छन् । यदि त्यस्तो नभए सेना जस्तै देखिने पोसाक र संरचना भएको संगठन खोल्न तथा विस्तार गर्न दिनु कत्तिको उचित हो भन्ने विषयमा पनि सरकारले स्पष्ट पार्नुपर्ने उनको भनाइ छ । विपद् उद्धारका लागि गठन गरिएको भनिएको संस्था ठूलो विपद्का बेला कहाँ थियो भन्ने प्रश्न गर्दै पोखरेलले जोखिम कम भएपछि एक सातापछि अचानक मैदानमा देखिनुले थप शंका उत्पन्न गरेको बताएका छन् । उनले यस्ता गतिविधिले पीडितलाई राहत दिनुभन्दा समाजमा सन्देह र त्रास बढाउन सक्ने भन्दै सम्बन्धित निकायले यस विषयमा तत्काल ध्यान दिनुपर्ने बताएका छन् ।
१७- भोटेकोशी बाढीबाट प्रभावित परिवार तथा समुदायप्रति ऐक्यबद्धता जनाउँदै एभरेस्ट महिला भलिबल लिगको तेस्रो संस्करण स्थगित गरिएको छ । आयोजक इन्फिनिटी ड्रिम्सले प्रभावित परिवार तथा समुदायप्रति गहिरो समवेदना व्यक्त गर्दै कठिन परिस्थितिमा उनीहरूसँग ऐक्यबद्धता जनाउन लिग स्थगित गर्ने निर्णय गरिएको जनाएको छ । यसअघि लिगको तेस्रो संस्करण आगामी असोज १५ देखि २४ गतेसम्म काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आयोजना गर्ने घोषणा गरिएको थियो । नेपाल भलिबल संघबाट स्वीकृति पाएपछि आयोजकले प्रतियोगिताको तयारी औपचारिक रूपमा अघि बढाएको थियो ।
तेस्रो संस्करणमा कर्णाली यशविस, ललितपुर क्विन्स, काठमाडौं स्पाइकर्स, मधेस युनाइटेड, लुम्बिनी लाभाज, पोखरा निन्जा र सुदूरपश्चिम रोयल वारियर्सले प्रतिस्पर्धा गर्ने तय भएको थियो । सुदूरपश्चिम रोयल वारियर्सले यस संस्करणमा नयाँ टोलीका रूपमा सहभागिता जनाउने भएको थियो । यसअघि २०२४ र २०२५ मा सम्पन्न लिगका दुवै संस्करण कर्णाली यशविसले जितेको थियो। दुवै संस्करणमा ललितपुर क्विन्स उपविजेता बनेको थियो ।
१८- चीनको जलस्रोत मन्त्रालयले सीमाको चोचेन खोला नदीमा पहिरो खसेर बनेको प्रभाव क्षेत्र आसपासका हिमनदीहरू अझै भत्किने जोखिममा रहेको जनाएको छ । चीनको सरकारी समाचार संस्था सीसीटीभीका अनुसार चीनको जलस्रोत मन्त्रालयले दक्षिणपश्चिमी तिब्बतको ग्यिरोङ जिल्लामा भएको विपद्सँग जोडिएका जोखिमबारे निरन्तर परामर्श र समग्र मूल्यांकन गरिरहेको उल्लेख गरेको छ । हालै गरिएको सेटेलाइट तस्बिरको तुलनात्मक विश्लेषणअनुसार ग्यिरोङ त्साङ्पो नदी जलाधार क्षेत्रमा यसअघि पहिचान गरिएका १४ वटा हिमतालको पानीको सतहमा उल्लेखनीय परिवर्तन देखिएको छैन ।
ती हिमतालहरू समग्रमा स्थिर अवस्थामा रहेको मन्त्रालयले जनाएको छ । मंगलबार बिहान ८ बजे ड्रोनबाट खिचिएका तस्बिरका आधारमा चोचेन खोला नदीमा बनेको प्रभाव क्षेत्रमा जम्मा भएको पानीको ठूलो हिस्सा बाहिरिइसकेको छ । नदीको तल्लो क्षेत्रमा पानीको बहाव पनि सामान्य अवस्थामा फर्किएको जनाइएको छ । तर प्रभाव क्षेत्र आसपासका हिमनदीहरू अझै भत्किन सक्ने जोखिम रहेको र त्यसबाट थप खतरा उत्पन्न हुन सक्ने चेतावनी चीनको जलस्रोत मन्त्रालयले दिएको छ ।
१९- बार्सिलोनाले आर्सनलका ब्राजिलियन फरवार्ड गाब्रिएल जिससलाई अनुबन्ध गरेको छ । बार्सिलोनाले जिससलाई भित्र्याउन करिब १ करोड १० लाख युरो खर्च्च गरेको बताइएको छ । जिससले बार्सिलोनासँग सन् २०२९ सम्मको तीन वर्षे सम्झौता गरेका छन् । बार्सिलोनाले यो स्थानान्तरणलाई बजारमा उपलब्ध अवसरका रूपमा लिँदै जिससलाई क्लबमा भित्र्याएको हो । २९ वर्षीय जिससले गत सिजन आर्सनलका लागि इङ्लिस प्रिमियर लिगका तीन खेलमा मात्र सुरुआती टोलीबाट खेलेका थिए । उनले १४ खेलमा तीन गोल गरेका थिए । पछिल्ला केही वर्षदेखि पटक पटक चोटबाट प्रभावित हुँदै आएका जिससले बार्सिलोनाको आक्रमणलाई बलियो बनाउने अपेक्षा गरिएको छ । बार्सिलोनाको अग्रपंक्तिमा अब रोबर्ट लेवान्डोस्की र फेरान टोरेस नरहेपछि जिससलाई महत्वपूर्ण खेलाडीका रूपमा हेरिएको छ । बार्सिलोनाले एटलेटिको म्याड्रिडका अर्जेन्टिनी फरवार्ड जुलियन अल्भारेजलाई अनुबन्ध गर्ने प्रयास सफल नहुने भएपछि जिससलाई भित्र्याएको विश्लेषण गरिएको छ ।
२०- सरकारले बाढी प्रभावित क्षेत्रका लागि रु एक अर्ब निकासा गरेको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा गुणाकर भट्टको संयोजकत्वमा बसेको बैठकले उक्त निर्णय गरेको हो । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भएको मध्येबाट उक्त रकम निकासा गरिएको हो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा धर्मराज उप्रेतीले भने- ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाममा रहेको एभरेष्ट बैंक सिंहदरबार शाखामा मौज्दात रहेको रकममध्ये रु एक अर्ब विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा २२ बमोजिम विपद् व्यवस्थापन कोषमा उपलब्ध गराउने निर्णय गरिएको छ ।’
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष सञ्चालन नियमावली, २०६३ बमोजिम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष स्थापना भएको हो । कार्यकारी प्रमुख उप्रेतीका अनुसार सरकारले निकासका गरेको उक्त रकममध्ये रसुवाको उत्तरगया गाउँपालिका लागि रु ७५ लाख, गोसाइँकुण्ड गाउँपालिकाका लागि रु एक करोड, कालिका गाउँपालिकाका लागि रु ३० लाख र आमछोदिङ्गो गाउँपालिकाका लागि रु २० लाख निकासा गरिएको छ । त्यसैगरी नुवाकोटको बिदुर नगरपालिकाका लागि रु एक करोड ५० लाख, बेलकोटगढी नगरपालिकाका लागि रु ७५ लाख किस्पाङ गाउँपालिकाका लागि रु २५ लाख र तारकेश्वर गाउँपालिकाका लागि रु ५० लाख निकासा गरिएको छ । धादिङको गल्छी गाउँपालिकाका लागि रु ३० लाख, सिद्धलेक गाउँपालिकाका लागि रु २० लाख, गजुरी गाउँपालिकाका लागि रु २० लाख, बेनिघाट रोराङ गाउँपालिकाका लागि रु २० लाख तथा गोरखाको गण्डकी गाउँपालिकाका लागि रु २० लाख र तनहुँको देवघाट गाउँपालिकाका लागि रु २० लाख निकासा गरिएको छ ।
उनका अनुसार प्रभावित पालिाकाका लागि सोही रकम बराबरको रकम पठाइएको थियो । उनले भने- ‘बाढी प्रभावित १५ पालिकामा ६ करोड ५० लाख निकासा गरिएको थियो, अहिले पनि सोही रकम बराबर निकासा गरिएको छ, हालसम्म १५ पालिकामा रु १३ करोड ५० लाख निकासा भइसकेको छ ।’ सरकारले बाढी आएको दिन सरकारले तत्कालै रसुवाका लागि रु एक करोड, नुवाकोटका लागि रु एक करोड र धादिङका लागि रु ५० लाख पठाइएको थियो । उक्त रकम विपद् पश्चात स्थानीय तहको सेवा तत्काल सञ्चालन गर्न, अवरुद्ध सडक, खानेपानी, सञ्चार, विद्युत्लगायतका आवश्यक सेवाहरू सामान्य मर्मत सम्भार गरी तत्काल सञ्चाल गर्न, स्वास्थ्य चौकी र विद्यालय सञ्चालानार्थ तत्काल गर्नुपर्ने सामान्य मर्मत सम्भार तथा अस्थायी प्रकृतिका संरचना तयार गरी सेवा सञ्चार गर्न, विपद् पीडित परिवारलाई तत्काल बस्नका लागि आवश्यक सामग्री उपलब्ध गराउन र विपद् प्रभावित स्थानसम्म राहत सामग्री ढुवानीका लागि स्थानीय तहले खर्च गर्नुपर्नेछ ।