काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
१- सर्वोच्च अदालतले सुकुम्वासी बस्ती हटाउने सरकारको निर्णयविरुद्ध पेस भएको रिटमा अन्तरिम आदेश जारी गरेको छ । शुक्रबार न्यायाधीशद्वय कुमार रेग्मी र नित्यानन्द पाण्डेको इजलासले सरकारका नाममा अन्तरिम आदेश जारी गरेको हो ।
सुकुम्वासी बस्तीमा बसोबास गर्दै आएका गोपाल रनपहेली, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र माजिद अन्सारीसमेतले दायर गरेको रिटमा सर्वोच्चले दोस्रो सुनुवाइ गर्दै अन्तरिम आदेश जारी गरेको हो । रिटमा नेपाल राज्यभर सुकुम्बासी बस्तीमा डोजर चलाएर भत्काउने काम रोक्न अन्तरिम आदेशको माग गरिएको थियो । आदेशको विस्तृत विवरण आउनेक्रममा रहेको छ ।
२- प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज कुमार शर्माको संसदीय सुनुवाई प्रक्रिया शुरु भएको छ । शुक्रबार बसेको संसदीय सुनुवाई संसदीय सुनुवाई समितिले प्रक्रिया शुरु गर्दै प्रसतावित प्रधानन्यायाधीशविरुद्ध उजुरी आह्वान गरेको हो । बैठकले प्रस्तावित प्रधानन्यायाधीशविरुद्ध जेठ ४ गतेभित्र उजुरी दिन सकिने गरि समय तोकेको छ ।
समितिका सभापति बोधनारायण श्रेष्ठले प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध उजुरी दिन दस दिनको समय तोकिएको जानकारी दिएका छन् । समितिले सो अवधिभित्र प्रमाणसहित उजुरी दिन उजुरीकर्ताको नाम गोप्य राखिने जनाएको छ । बिहीबार बसेको संवैधानिक परिषद्को बैठकले न्यायाधीश डा. शर्मालाई प्रधानन्यायाधीश पदमा सिफारिस गरेको थियो ।

३- नेपाल ए ले लगातार दोस्रो जित हासिल गरेको छ । शुक्रबार माथिल्लो मूलपानी मैदानमा सम्पन्न खेलमा नेपाल ए ले अमेरिकालाई ३ विकेटले पराजित गरेको हो । अमेरिकाले दिएको २६३ रनको लक्ष्य पछाएको नेपाल ए ले मयन यादवको ७२, सन्दीप जोराको ३६, कुशल मल्लको ३३, कप्तान अनिल कुमार शाहको २७ र पवन सराफको अविजित २४ रनको सहयोगमा ४९.१ ओभरमा ७ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

यसअघि पहिला ब्याटिंग गरेको अमेरिकाले ५० ओभरमा ८ विकेट गुमाएर २६२ रन बनाएको थियो । अमेरिकाका लागि समित पटेलले ११६ रनको शतकीय पारी खेलेका थिए । अब नेपाल ए ले यसअघि विहिबार सम्पन्न खेलमा स्कटल्याण्डलाई पनि पराजित गरेको थियो । अब अर्को खेल मे ९ मा स्कटल्याण्डसँग र मे ११ मा अमेरिकासँग खेल्ने तालिका रहेको छ ।

४- भारतीय जनता पार्टीले पश्चिम बंगालमा नयाँ मुख्यमन्त्रीका रूपमा शुभेन्दु अधिकारीलाई चयन गरेको छ । विधायक दलको बैठकले उनलाई सर्वसम्मत रूपमा नेता चयन गरेपछि मुख्यमन्त्री बन्ने बाटो खुलेको हो । बैठकमा केन्द्रीय गृहमन्त्री समेत रहेका अमित शाह केन्द्रीय पर्यवेक्षकका रूपमा सहभागी भएका थिए । प्रदेश अध्यक्ष समिक भट्टाचार्यले शुभेन्दु अधिकारीको नाम प्रस्ताव गरेका थिए । त्यसपछि उपस्थित सबै विधायकको समर्थनपछि अमित शाहले औपचारिक घोषणा गरेका हुन् ।
अमित शाहले चुनाव प्रक्रिया सम्पन्न भइसकेपछि विभिन्न प्रस्ताव र समर्थन प्राप्त भएको, तर सबैले एउटै नाममा समर्थन जनाएकाले शुभेन्दु अधिकारीलाई पश्चिम बंगाल विधानमण्डल दलको नेता घोषणा गरिएको बताएका छन् । अब नयाँ मन्त्रिमण्डलमा मन्त्रालय बाँडफाँट, सरकारको प्राथमिकता तथा प्रशासनिक संरचनाबारे समेत छलफल भएको छ । पश्चिम बंगालका लागि अमित शाहलाई केन्द्रीय पर्यवेक्षक तथा मोहन चरण माझी लाई सह–पर्यवेक्षक तोकिएको छ । शनिबार ब्रिगेड परेड ग्राउन्डमा हुने शपथ ग्रहण समारोहको तयारी अन्तिम चरणमा पुगेको बताइएको छ ।
समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदीसहित विभिन्न केन्द्रीय मन्त्री र राज्यका मुख्यमन्त्री सहभागी हुने बताइएको छ । कार्यक्रममा ५० हजारभन्दा बढी मानिस सहभागी हुने अनुमान गरिएको छ । हालै सम्पन्न विधानसभा चुनावमा भाजपाले ऐतिहासिक सफलता हासिल गरेको थियो । २९४ सदस्यीय विधानसभामा भाजपा २०६ सिट जित्दै पहिलोपटक पश्चिम बंगालमा सरकार गठनको अवस्थामा पुगेको हो । सत्तारुढ तृणमूल कांग्रेस भने ८० सिटमा सीमित भएको छ ।
५- नेपाली कांग्रेसले नेपाल महिला संघको अध्यक्षको जिम्मेवारी मीनाकुमारी खरेललाई दिएको छ । समाजसेवीको पहिचान बनाएकी चितवनकी खरेल हालै सम्पन्न निर्वाचनमा रास्वपा सभापति रवि लामिछानेसँग प्रतिष्पर्धा गरेर चर्चामा आएकी थिइन् । काँग्रेस सभापति गगन थापाले खरेललाई अध्यक्षको जिम्मेवारी दिदै आगामी फागुन १५ भित्र महिला संघको महाधिवेशन सम्पन्न गर्नेसहित १७ बुँदे कार्यादेश र कार्यविवरण दिएका छन् ।
खरेललाई जेष्ठ १५ गतेभित्र पार्टी सभापतिसँग परामर्श गरेर सबै क्षेत्र, वर्ग, उमेर समुह, समुदाय र भुगोलको समेत समावेशी प्रतिनिधित्व हुनेगरी संघको केन्द्रीय कार्यसमितिलाई पूर्णता प्रदान गर्ने जिम्मेवारी दिइएको छ । साथै उनलाई फागुन १५ गतेभित्र संघको केन्द्रीय महाधिवेशन सम्पन्न गर्न श्रावण १ गतेभित्र महाधिवेशनको विस्तृत कार्यतालिका पार्टी समक्ष पेश गर्न भनिएको छ ।
६- विश्वविद्यालयमा विद्यार्थी संगठन खारेज गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट पेश गरिएको छ । शुक्रबार आठ संगठनले विद्यार्थी संगठन कायम हुनुपर्ने मागसहितको रिट सर्वोच्चमा पेश गरेका हुन् । उनीहरूले विश्वविद्यालयहरुमा विद्यार्थी संगठन हटाउने सरकारको निर्णय कार्यान्वयन नगराउन माग गरेका छन् । विचारका आधारमा संगठनमा आवद्ध हुन पाउने अधिकार संविधान प्रदत्त अधिकार भएको र विद्यार्थी संगठनहरुको खारेज गर्ने सरकारी निर्णय स्वेच्छाचारी भएको दाबि गर्दै उनीहरुले सरकारी निर्णय कार्यान्वयन नराउन अन्तरिम आदेशको माग गरेका छन् । आठ विद्यार्थी संगठनले सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र गृह मन्त्रालयलाई विपक्षी बनाएर निवेदन पेस गरेका छन् । रिट दायर गर्नेमा अनेरास्ववियु, अनेरास्ववियु क्रान्तिकारी, अखिल छैटौं, अखिल समाजवादी, वैज्ञानिक समाजवादी विद्यार्थी संगठन, जनपक्षीय विद्यार्थी युनियनलगायत रहेका छन् ।
७- हन्ता भाइरस संक्रमण फैलिएपछि ‘एमभी होन्डियस’ नामक समुद्री क्रुज जहाज अन्तर्राष्ट्रिय स्वास्थ्य निगरानीमा परेको छ । जहाजमा यात्रा गरिरहेका पाँच जनामा संक्रमण पुष्टि भएको छ भने आठ जना शंकास्पद बिरामी फेला परेका छन् । संक्रमितमध्ये एक डच महिलाको मृत्यु भइसकेको छ । एक बेलायती नागरिक दक्षिण अफ्रिकाको अस्पतालमा सघन उपचारमा छन् भने एक स्विस नागरिकको ज्युरिख अस्पतालमा उपचार भइरहेको छ । शंकास्पद बिरामीमा एक बेलायती पुरुष, एक डच चालकदल सदस्य र एक जर्मन नागरिक रहेका छन् ।
उनीहरूमध्ये दुई जना उपचारका लागि नेदरल्यान्ड्स पुगिसकेका छन् भने अर्का एक जनाको अवस्था स्थिर रहेको बताइएको छ । दुई बेलायती यात्रु सम्भावित सम्पर्कपछि घरमै अलग्गै बसिरहेका छन् । जहाजमा हाल २३ देशका १४६ जना सवार छन् । जहाज क्यानरी द्वीपसमूहतर्फ जाँदैछ र त्यहाँ पुगेपछि सबैको स्वास्थ्य परीक्षण गरिने जनाइएको छ । अमेरिका पनि आफ्ना तीन यात्रुमाथि निगरानी गरिरहेको छ, जो केप भर्डे पुग्नुअघि जहाजबाट ओर्लिएर फर्किएका थिए । विश्व स्वास्थ्य संगठनका अनुसार हन्ता भाइरस कुनै एक रोग नभई भाइरसहरूको समूह हो । यसको २० भन्दा बढी प्रकार छन् ।
अधिकांश संक्रमण मुसा, गिलहरीजस्ता कुतरिने जनावरको मलमूत्र, र्याल वा सम्पर्कबाट फैलिन्छ । ‘एन्डिज भाइरस’ नामक प्रकार भने मानिसबाट मानिसमा पनि सर्न सक्ने मानिन्छ, यद्यपि यस्तो घटना दुर्लभ हुने चिकित्सकहरूको भनाइ छ । यो भाइरस मुख्य रूपमा अर्जेन्टिना र चिली मा पाइन्छ । सन् २०१८ मा अर्जेन्टिनामा फैलिएको संक्रमणमा एक व्यक्तिबाट ३४ जनामा भाइरस सरेको र ११ जनाको मृत्यु भएको थियो । डब्ल्यूएचओले जहाजमा नजिकको सम्पर्क र सम्भावित रूपमा मुसाजन्य संक्रमणबाट भाइरस फैलिएको हुन सक्ने अनुमान गरेको छ । संक्रमण रोक्न यात्रुहरूलाई आ–आफ्नै केबिनमा सीमित गरिएको छ ।
स्वास्थ्य विज्ञहरूले संक्रमितलाई अलग राख्ने, हात सफा राख्ने, सम्पर्कमा आएका व्यक्तिको निगरानी गर्ने र संक्रमण नियन्त्रणका उपाय अपनाउनुपर्ने बताएका छन् । विशेषज्ञहरूका अनुसार हन्ता भाइरसले मुख्य रूपमा दुई गम्भीर रोग निम्त्याउँछ । पहिलो ‘हन्ता भाइरस पल्मोनरी सिन्ड्रोम’ हो, जसमा ज्वरो, थकान, मांसपेशी दुखाइपछि गम्भीर श्वासप्रश्वास समस्या देखिन सक्छ । यसको मृत्युदर २० देखि ४० प्रतिशतसम्म रहने बताइएको छ । दोस्रो ‘हेमोरेजिक फिभर विथ रेनल सिन्ड्रोम’ हो, जसले मिर्गौलामा असर पार्न सक्छ ।
यो भाइरसको कुनै विशेष उपचार वा व्यापक रूपमा उपलब्ध खोप छैन । प्रारम्भिक उपचार पाए बिरामी निको हुने सम्भावना भने बढ्ने चिकित्सकहरूको भनाइ छ । अक्सिजन उपचार, भेन्टिलेटर र डायलाइसिससम्म आवश्यक पर्न सक्छ । अमेरिकामा सन् १९९३ देखि २०२३ सम्म ८९० वटा हन्ता भाइरस संक्रमण पुष्टि भएका थिए । हालै सन् २०२५ फेब्रुअरीमा अस्कर विजेता अभिनेता जिन ह्याकम्यान की पत्नी बेट्सी अराकावाको पनि हन्ता भाइरससम्बन्धी श्वासप्रश्वास रोगका कारण मृत्यु भएको थियो ।
८- सरकारले विभिन्न देशका १५ अवैतनिक दूतहरुलाई बर्खास्त गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले विदेशस्थित १५ स्थानमा रहेका नेपाली अवैतनिक दूतहरूलाई जिम्मेवारीबाट मुक्त गरिएको हो । परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले शुक्रबारको नियमित ब्रिफिङका क्रममा पदमुक्त गरिएका १५ स्थानका अवैतनिकदूतको जानकारी दिएका छन् । जसमा अमेरिकाका क्यालिफोर्निया, मासाचुसेट्स र सियाटल, अस्ट्रेलियाका एडलेड, मेलबर्न र सिडुनी, न्युजिल्यान्ड, मलेसियाको क्लाङ भ्याली, इन्डोनेसियाको जाकर्ता, इजरायलको रेहोवोट सिटी, साइप्रसको निकोसिया, जर्मनीका एनआरडब्ल्यू, ब्रेमिन र लोवर स्याक्सोनी र वार्सा, स्लोभेनिया र माल्टाका अवैतनिकदूत रहेका छन् ।
९- रियल म्याड्रिडले प्रशिक्षणका क्रममा खेलाडीबीच भएको झडपपछि मिडफिल्डर फेडेरिको भाल्भेर्डे र ओरेलियन चुआमेनीमाथि आन्तरिक अनुशासनात्मक अनुसन्धान सुरु गरेको छ । क्लबका अनुसार दुई खेलाडीबीच गम्भीर शारीरिक झडप भएको थियो, जसमा भाल्भेर्डेको टाउकोमा चोट लागेर अस्पताल भर्ना गर्नुपरेको थियो । उनको करिब १४ दिनसम्म उपचार चल्ने बताइएको छ । घटनापछि क्लबले विशेष अनुसन्धान अधिकृत नियुक्त गरेको छ । अनुसन्धानबाट आरोप पुष्टि भए दुवै खेलाडीलाई १० देखि ३० दिनसम्म खेल तथा तलबबाट निलम्बन गरिन सक्ने जनाइएको छ । क्लबले घटनालाई निकै गम्भीर रूपमा लिएको बताइएको छ ।
उनीहरुबीच विहिबारको प्रशिक्षणको क्रममा झडप भएको दाबी गरिएको छ । भाल्भेर्डेले भने घटनापछि एक नोट जारी गर्दै विवाद हुदा आफुले टेबलमा हानेको र आफ्नो निधारमा सानो घाउ भएको उल्लेख गरेका छन् । साथै उनले आफुलाई कुनै खेलाडीले प्रहार नगरेको बताएका छन् । यस घटनापछि रियल म्याड्रिडलाई आगामी खेलमा मिडफिल्डमा समस्या पर्ने देखिएको छ । विशेषगरी आइतबार हुने एल क्लासिकोमा बार्सिलोना विरुद्धको खेलअघि टोलीमाथि थप दबाब परेको छ ।
१०- नेप्सेमा आज वृद्धि भएको छ । आज शुक्रबार नेप्से २७.४९ अंकले बढेर २७४५.६५ विन्दुमा पुगेर रोकिएको छ । आज ३३५ कम्पनिका ७४ लाख ७८ हजार ५६२ कित्ता शेयर ३ अर्ब २८ करोड ६८ लाख ७० हजार ५५९ मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयर मुल्य बढेको छ । आज, सबैभन्दा बढी त्रिशुली जलविद्युतको शेयरमा १० प्रतिशतको वृद्धि भएको छ भने होटल फरेस्ट इनको शेयर ७.९० प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी स्वाबलम्बन लघुवित्तको शेयर ६. ५४ प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी होटल फरेस्ट इनको १३ करोड ८६ लाखको कारोबार भएको छ भने रिलायन्स स्पिनिंग मिल्सको १३ करोड ६४ लाख बराबरको कारोबार भएको छ ।
११- पर्यटन विभागले यस बर्षको वसन्त सिजनमा हुने हिमाल आरोहणका लागि अहिलेसम्म ११०८ जनालाई अनुमति दिएको छ । विभागले विभिन्न हिमालमा हुने आरोहणका लागि मे ७ सम्म ११०८ जनालाई अनुमति दिएको जानकारी दिएको छ । मार्च १ देखि मे ७ सम्म २७० महिला र ८३८ पुरुषलाई अनुमति जारी भएको विभागले जनाएको छ । यस अवधिमा सबैभन्दा धेरै सगरमाथा आरोहण गर्न ४६८ जनाले अनुमति पाएका छन् । त्यस्तै आरोहण अनुमति लिने सबैभन्दा बढी चीनका १४१ जना, अमेरिकाका १३९ जना, भारतका ९२ जना, बेलायतका ७४ जना, रसियाका ६९ जना रहेको विभागले जनाएको छ ।
पर्यटन विभागले यस बर्षको वसन्त सिजनमा हुने सगरमाथा आरोहणका लागि अहिलेसम्म ४६८ जनालाई अनुमति दिएको छ । त्यस्तै विभागले सगरमाथा आरोहणका लागि मे ७ सम्म १०१ महिला र ३६७ पुरुष गरि कुल ४६८ जनालाई अनुमति दिएको जानकारी दिएको छ । मार्च १ देखि मे ७ सम्म अनुमति जारी भएको विभागले जनाएको छ । यस अवधिमा सबैभन्दा धेरै सगरमाथा आरोहण गर्न चीनका २५ महिला र ७६ पुरुष गरि १०१ जनाले अनुमति लिएका छन् । त्यस्तै अमेरिकाका ८ महिला र ६० पुरुष गरि ६८७ जना, भारतका २५ महिला र ३३ पुरुष गरि ५८ जनाले अनुमति लिएको विभागले जानकारी दिएको छ ।यी अनुमतिबाट एक अर्ब १८ करोड ९७ लाख ६ हजार १५४ रुपैयाँ राजश्व संकलन भएको बिभागले जनाएको छ ।
१२- संघीय संसद सचिवालयले कर्मचारी युनियन अस्तित्वमा नरहेको जानकारी दिएको छ । शुक्रबार सचिवालयले सूचना जारी गर्दै केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८२ मार्फत संघीय संसद सचिवालयसम्बन्धी ऐन, २०६४ को दफा ७७ को उपदफा (ख) बमोजिमको कर्मचारी युनियनसम्बन्धी व्यवस्था हटाइएको जानकारी दिएको हो । सूचनामा सो ऐनमा कर्मचारी युनियनसम्बन्धी व्यवस्था नरहेकाले सचिवालयको २०८३ वैशाख २४ गतेको निर्णयअनुसार कर्मचारी युनियन अब अस्तित्वमा नरहेको उल्लेख गरिएको छ । सरकारले कर्मचारीको दलीय र आधिकारिक ट्रेड युनियन खारेज गर्ने निर्णय गरेसँगै संघीय संसद सचिवालयले कर्मचारी युनियन खारेज भएको जानकारी गराएको छ ।
१३- नेकपा एमालेले राष्ट्रियसभामा सचेतकमा रोशनी मेचेलाई चयन गरेको छ । एमालेका संसदीय दलका नेता राम बहादुर थापा बादलले मेचेलाई राष्ट्रिय सभातर्फको सचेतकमा नियुक्त गरेका हुन् । शुक्रबार नै अध्यक्ष केपी शर्मा ओलीले नवनियुक्त सचेतक मेचेलाई बधाई र कार्यकाल सफलताको शुभकामना दिएका थिए । गत माघमा सम्पन्न राष्ट्रिय सभाको निर्वाचनमा मेचे कोशी प्रदेशबाट एमालेको तर्फबाट महिला कोटामा राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएकी थिइन् । नेपालकै अति सीमान्तकृत मेचे समुदायबाट राष्ट्रिय सभा पुग्ने उनी पहिलो महिला पनि हुन् ।
१४- सरकारले प्रधानन्यायाधीशको सिफारिश अहिलेसम्मकै राम्रो प्रक्रियाबाट गरेको दाबि गरेको छ । सरकारका प्रवक्ता सस्मित पोखरेलले प्रधानन्यायाधीशको सिफारिस अहिलेसम्मनै पहिलो पटक कार्यक्षमताको आधारमा गरिएको बताउदै यो पहिलो पटक राम्रो प्रक्रियाबाट भएको दाबि गरेका हुन् । उनले भने- ‘नेपालको न्याय क्षेत्र सुधार गर्नुपर्छ, यसको लागि नीतिगत कानुनीसहितका धेरै कुरा सुधार हुनुपर्छ भन्ने कुरा पहिला देखि नै हुदै आएको हो । यो पाली पहिलो पटक प्रधानन्यायाधीशको सिफारिस मुद्धाको फर्स्यौटको हिसाबमा, इन्डिकेटरको हिसाबमा सिफारिस गरेर पठाएका छौं ।
यो नै पनि पर्फेक्ट पद्दति हो भनेर भन्न खोजेको होइन । तर अहिलेसम्मको इतिहास हेर्दा कार्यक्षमताको हिसाबमा सिफारिस भएको पहिलो पटक हो । यसलाई पनि क्रमबद्ध रुपमा सुधार गर्दै, अझ राम्रो प्रोसेस बनाउदै लैजानुपर्छ । तर यो अहिलेसम्मको राम्रो प्रोसेस भएको भन्ने हामीलाई लाग्छ ।’
१५- संवैधानिक परिषद्ले प्रधानन्यायाधीश सिफारिस गर्दा वरीयता मिचेको भन्दै सर्वोच्चमा रिट पेस भएको छ । शुक्रबार वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता विपिन ढकाल र डा. प्रेम सिलवालले छुट्टाछुट्टै रिट पेस गरेका हुन् । संवैधानिक परिषद्को निर्णय प्रथम दृष्टिमै संविधानको आधारभूत मर्म विपरीत देखिएको भन्दै रिट पेस गरिएको उनीहरुले रिटमा उल्लेख गरेका छन् । रिटमा संवैधानिक परिषद्को निर्णय यथास्थितिमा राख्न र संसदीय सुनुवाइको प्रक्रिया अघि नबढाउनु अन्तरिम आदेश माग गरिएको छ । सर्वोच्चले रिट दर्ता भने गर्न बाँकी रहेको छ । विहिबार संवैधानिक परिषद्ले प्रधानन्यायाधीश बन्न योग्यता पुगेका ६ मध्ये चौथो वरीयताका डा. मनोजकुमार शर्मालाई सिफारिस गर्ने निर्णय गरेको थियो ।
१६- विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले हन्ता भाइरस संक्रमणलाई लिएर १२ देशलाई सतर्क गराएको छ । दक्षिण एटलान्टिक महासागरस्थित बेलायती क्षेत्र सेन्ट हेलेनामा रहेको ‘एमभी होन्डियस’ नामक क्रुज जहाजसँग सम्बन्धित संक्रमण फैलिएपछि डब्ल्यूएचओले बिहीबार अलर्ट जारी गरेको हो । डब्ल्यूएचओका अनुसार हालसम्म हन्ता भाइरससँग सम्बन्धित पाँच वटा संक्रमण पुष्टि भएका छन् भने थप तीन जनामा संक्रमणको आशंका गरिएको छ । गम्भीर श्वासप्रश्वाससम्बन्धी कुल आठ बिरामी फेला परेका छन्, जसमध्ये तीन जनाको मृत्यु भइसकेको छ । पुष्टि भएका पाँच जनामा एन्डिज भाइरस संक्रमण देखिएको जनाइएको छ ।
डब्ल्यूएचओले यात्रा क्रममा क्रुज जहाजबाट ओर्लिएका यात्रु रहेका १२ देशलाई औपचारिक रूपमा जानकारी गराएको छ । ती देशमा क्यानडा, डेनमार्क, जर्मनी, नेदरल्यान्ड्स, न्युजिल्यान्ड, सेन्ट किट्स एन्ड नेभिस, सिङ्गापुर, स्विडेन, स्विट्जरल्यान्ड, टर्की, बेलायत र संयुक्त राज्य अमेरिका रहेका छन् । डब्ल्यूएचओका प्रमुख टेड्रोस एडनोम घेब्रेयेससले जेनेभामा आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक स्वास्थ्यसम्बन्धी कदम छिटो र प्रभावकारी रूपमा लागू गरिए संक्रमण सीमित दायरामै रहने आशा व्यक्त गरेका छन् । तर विभिन्न देशमा यात्रु तथा उनीहरूको सम्पर्कमा आएका व्यक्तिको परीक्षण जारी रहेकाले थप संक्रमित फेला पर्न सक्ने चेतावनी समेत उनले दिएका छन् ।
डब्ल्यूएचओले अर्जेन्टिनाका प्रयोगशालाबाट करिब दुई हजार पाँच सय हन्ता भाइरस परीक्षण किट पाँच देशमा पठाइँदै गरेको जनाएको छ । ‘एमभी होन्डियस’ जहाज सञ्चालन गर्ने डच कम्पनीले जहाजमा २३ देशका १४९ जना रहेको जानकारी दिएको छ । यसैबीच, जहाजबाट अलग गरिएको दुई जना शंकास्पद हन्ता भाइरस संक्रमित स्पेनको क्यानरी द्वीपसमूहमा रहेको ग्राउन्डेड एयर एम्बुलेन्समै राखिएको जनाइएको छ ।
१७- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानन्यायाधीश सिफारिस प्रकरणमा उपसभामुख रुवी कुमारी ठाकुरको भूमिकाको आलोचना गरेका छन् । शुक्रबार विज्ञप्ति जारी गर्दै साम्पाङले आफ्नो पार्टीबाट उपसभामुख ठाकुरले वरियता मिचेर प्रधानन्यायाधीश सिफारिस गर्ने निर्णयमा हस्ताक्षर गरेको भन्दै खेद प्रकट गरेका हुन् । उनले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश संसद् छलेर राष्ट्र प्रमुखमाथि दबाब सिर्जना गर्दै जारी गराउनु गलत भएको बताएका छन् । साम्पाङले गलत कार्यलाई सही भन्न नसकिने उल्लेख गर्दै सरकारले वरिष्ठताको चौथो क्रममा रहेका व्यक्तिलाई प्रधानन्यायाधीश नियुक्त गरेर अर्को ठूलो गल्ती गरेको आरोप लगाएका छन् ।
उनले सुशासन र थिति बसाल्ने आश्वासन दिएर सत्तामा पुगेका दलहरूले अहिले विधि मिचेर काम गरिरहेको टिप्पणी गर्दै सरकारले गरेको नियुक्ति राजनीतिक तथा कानुनी स्वार्थबाट प्रेरित हुन सक्ने आशंका व्यक्त गरेका छन् । उनका अनुसार सहकारी ठगी प्रकरण तथा भदौ २३ र २४ गते भएको ‘जेन जेड’ आन्दोलनजस्ता विषयमा आफ्नो पक्षमा निर्णय गराउने उद्देश्यले उक्त नियुक्ति गरिएको हुन सक्ने देखिन्छ । उनले नियुक्तिसम्बन्धी बैठकका क्रममा विभिन्न दललाई एक ठाउँमा ल्याउनुपर्ने विषयदेखि एमसीसी र एसपीपी जस्ता विषयसमेत उठाएर दबाब र प्रभाव सिर्जना गरिएको दाबी गरेका छन् । अध्यक्ष साम्पाङले विधि र प्रक्रियालाई मिचेर राजनीतिलाई अघि सार्ने प्रवृत्तिको श्रम संस्कृति पार्टीले सधैं विरोध गर्ने बताएका छन् ।
१८- नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार सुनको मुल्य तोलाको १३ सयले बढेर तोलाको २ लाख ९९ हजार ९ सयमा कारोबार भइरहेको छ । यसअघि विहिबार सुन तोलाको २ लाख ९८ हजार ६ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मुल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १२० रुपैयाँले बढेर ५२७५ मा कारोबार भइरहेको छ । यसअघि विहिबार चाँदी तोलाको ५१५५ मा कारोबार भएको थियो ।
१९- विभिन्न आठ विश्वविद्यालयमा रिक्त उपकुलपतिको नियुक्तिका लागि दरखास्त आह्वान गरिएको छ । विश्वविद्यालयको रिक्त उपकुलपति पदका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र राजर्षि जनक विश्वविद्यालयको रिक्त उपकुलपति पदका लागि दरखास्त आह्वान गरिएको हो ।
इच्छुक तथा योग्य व्यक्तिले यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले १० (दश) दिनभित्र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वेबसाइट www.moest.gov.np मा दिइएको लिङ्कमा गई दरखास्त दिन सकिने बताइएको छ । उपकुलपति सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिबाट बैशाख २४ गते स्वीकृत विभिन्न विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिस सम्बन्धी एकीकृत कार्यविधि, २०८३ बमोजिम दरखास्त आह्वान गरिएको समितिले जनाएको छ ।
२०- लखनउ सुपर जाइन्टले जारी आइपिएलमा रोयल च्यालेन्जर्स बैंगलुरुलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा लखनउले बैंगलुरुलाई डिएलएस मेथड अनुसार ९ रनले पराजित गरेको हो । बैंगलुरुले डिएलएस मेथड अनुसार १९ ओभरमा २१३ रनको लक्ष्य पाएको थियो । जसमा बैंगलुरुले १९ ओभरमा ६ विकेट गुमाएर २०३ रन मात्र बनाउन सकेको थियो । बैंगलुरुका लागि कप्तान रजत पाटिदारले सर्बाधिक ६१ रन बनाए भने टिम डेविडले ४०, देवदत्त पाडिकलले ३४, क्रुनाल पाण्डेयले अविजित २८ र रोमारियो शेफार्डले अविजित २३ रन बनाएका थिए ।
त्यस्तै लखनउका बलर प्रिन्स यादवले ३, शह्बाज अहमदले २ विकेट लिएका थिए । यस अघि पहिला ब्याटिंग गरेको लखनउले १९ ओभरमा ३ विकेट गुमाएर २०९ रन बनाएको थियो । लखनउका लागि मिचेल मार्शले १११ रनको शतकीय पारी खेलेका थिए भने निकोलस पुरनले ३८ र ऋषव पन्तले अविजित ३२ रन बनाएका थिए । जारी आइपिएलमा लखनउको यो १० खेलमा तेस्रो जित हो । यो जितपछि लखनउ ६ अंकसहित पुछारमा नै रहेको छ । त्यस्तै बैंगलुरुको भने यो यस सिजनको चौथो हार हो । १० खेलमा १२ अंक रहेको बैंगलुरु तेस्रो स्थानमा रहेको छ । जारी आइपिएल अन्तर्गत आज दिल्ली क्यापिटल्स र कोलकोता नाइट राइडर्सबीच खेल हुदैछ ।