काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
१- नेकपा एमालेबाट बागमती प्रदेश सरकारमा सहभागी ६ जना मन्त्रीले गरेको सामूहिक राजीनामाको तयारी अचानक रोकिएको छ । काँग्रेससँग सातै प्रदेशमा सत्ता सहकार्यमा समस्या आएपछि एमालेले सरकार छोड्ने तयारी गरेपनि केन्द्रको निर्देशनपछि रोकिएको बताइएको छ । उनीहरुले आजै दिउँसो ४ बजे बस्ने मन्त्रिपरिषद् बैठकमा राजीनामा बुझाउने तयारी गरेका थिए ।
हाल बागमती प्रदेश सरकारमा एमालेबाट कृषि तथा पशुपन्छी विकासमन्त्री मधुसूदन पौडेल, स्वास्थ्यमन्त्री किरण थापा, वन तथा वातावरणमन्त्री भरत बहादुर केसी, उद्योगमन्त्री विन्दु श्रेष्ठ, श्रम, रोजगार तथा यातायातमन्त्री जयराम थापा र भौतिक पूर्वाधार विकासमन्त्री दिनेशचन्द्र देवकोटा सहभागी छन् । सुदूरपश्चिम प्रदेशमा बजेटको विषयमा काँग्रेससँग विवाद भएपछि काँग्रेसले सातै प्रदेशमा एमालेसँग सहकार्य नगर्ने निष्कर्ष निकालेको छ । जस अनुसार सुदूरपश्चिममा काँग्रेसका मुख्यमन्त्री कमलबहादुर शाहले एमालेका मन्त्रीलाई बर्खास्त गरेपछि एमाले सरकारबाट बाहिरिएको छ ।
त्यस्तै काँग्रेसका कर्णाली प्रदेशका मन्त्रीहरुले सामुहिक राजीनामा दिएका छन् भने विहिबार नेकपाका मिलेर मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव समेत दर्ता गराएका छन् । काँग्रेसको केन्द्रीय नेतृत्वले सबै प्रदेशमा एमालेसँग सहकार्य तोड्न निर्देशन दिएपनि एमाले नेतृत्वमा रहेको कोशी प्रदेशमा भने काँग्रेस तत्काल नबाहिरने बताइएको छ । त्यस्तै लुम्बिनी प्रदेशमा पनि काँग्रेस सरकारबाट बाहिरिने तयारी छ भने गण्डकी प्रदेशमा पनि सहकार्य टुट्ने भएको छ ।
२- पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–१०, जवाङ खोला नजिक सुख्खा पहिरो गएपछि सडक दुईतर्फी अवरुद्ध भएको छ । बिहीबार साँझ पहिरो जाँदा राजमार्ग दुईतर्फी अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । प्रहरीले पहिरो खस्ने क्रम जारी रहेकाले पहिरो हटाउन नसकिएको भन्दै अर्को सुचना नभएसम्म आवागमन बन्द रहेको जानकारी दिएको छ ।
३- नेपाली कांग्रेसका कपिलवस्तुका सांसद अभिषेकप्रताप शाहविरूद्व पक्राउ पुर्जी जारी भएको छ । कृष्णनगर उद्योग वाणिज्य संघका अध्यक्ष अध्यक्ष सीताराम शर्मामाथि आक्रमण गरेको आरोपमा मुद्दा दर्ता भएर पक्राउ पुर्जी जारी भएको कपिलवस्तु प्रहरीले जानकारी दिएको छ । शाह कपिलवस्तु-३ बाट निर्वाचित सांसद हुन् । आक्रमणमा संघीय सांसद अभिषेकप्रताप शाह र कृष्णनगर नगरपालिकाका नगरप्रमुख रजतप्रताप शाहसहित शर्माको निवासमा प्रवेश गरेर कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा सार्बजनिक भएको छ । कपिलवस्तु जिल्ला अदालतले सांसद शाहलाई पक्राउ गर्न अनुमति दिएपछि प्रहरीले उनको खोजी गरिरहेको बताएको छ ।
४- प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलसँग छलफल गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा आगामी मौद्रिक नीतिलाई थप लचिलो र सहजीकरणमुखी बनाउन साथै सरकार र राष्ट्र बैंकको सहकार्यबाट मात्रै अर्थतन्त्रमा आत्मविश्वास जगाउने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । प्रधानमन्त्री शाहले पुँजी बजारमा आबद्ध लगानीकर्ताको मनोबल उच्च राख्न राष्ट्र बैंकले अभिभावकीय भूमिका खेल्नुपर्नेमा जोड दिएका थिए ।
उनले मौद्रिक नीतिका केही सीमित र अप्ठ्यारा प्रावधान खुकुलो पारेर सेयर बजारमा लगानीको वातावरण सहज बनाउन, उद्योग–व्यवसायमा लगानी बढाउन, बैंकको ब्याजदर तथा कर्जाका सर्तलाई उद्यममैत्री बनाउन आग्रह गरेका थिए । साथै महिला उद्यमी तथा आर्थिक-सामाजिक रूपमा पछाडि परेका व्यवसायीलाई सहुलियतपूर्ण कर्जामा प्राथमिकता दिनुपर्ने बताएका थिए । छलफलमा गभर्नर पौडेलले मौद्रिक नीति समयसापेक्ष, व्यावसायिक र लचिलो बनाइने प्रतिबद्धता व्यक्त गरेका थिए । सरकार र राष्ट्र बैंकको साझा लक्ष्य अर्थतन्त्रलाई गति दिनु रहेको उल्लेख गर्दै उनले कसैलाई अप्ठ्यारो पार्ने नीति नलिइने र सेयर बजारका लगानीकर्तादेखि घरेलु उद्यमीसम्म सबैलाई नीतिगत रूपमा सहजीकरण गर्दै समग्र अर्थतन्त्रलाई चलायमान बनाउने विश्वास दिलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
५- नेकपा एमालेकी नेतृ अष्टलक्ष्मी शाक्यलाई हृदयघात भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई आज बिहान पाटन अस्पतालमा भर्ना गरिएको थियो । पारिवारिक स्रोतका अनुसार उनको मुटुको एउटा भल्भ ब्लकेज भएको पाइएपछि ‘एन्जियोप्लास्टी’ गरिएको थियो । एन्जियोप्लास्टी पश्चात् नेतृ शाक्यलाई हाल अस्पतालको सघन उपचार कक्षमा राखेर उपचार जारी राखिएको छ । हाल उनको अवस्था अहिले पूर्ण रूपमा स्थिर र सामान्य रहेको बताइएको छ ।
६- नेकपा एमालेका पूर्व सांसद लक्ष्मी महतो कोइरी सर्वोच्चले रिहा गर्न आदेश दिएको छ । विहिबार बन्दी प्रत्यक्षीकरणको रिटमाथि न्यायाधीशद्वय कुमार रेग्मी र श्रीकान्त पौडेलको इजलासले सुनुवाइ गर्दै कोइरीलाई रिहा गर्न आदेश दिएको हो । सर्वोच्चले पुनरावेदन गर्न पाउने समय बाँकी रहँदा नै कोइरीलाई गैरकानुनी रुपमा पक्राउ पुर्जी दिएर थुनामा पठाएको भन्दै रिहा गर्न आदेश दिएको छ । २०७२ भदौ २५ गते महोत्तरीको जलेश्वरमा भएको मधेस आन्दोलनमा थमन विकको हत्यामा जिल्ला अदालत महोत्तरीले उनलाई सफाइ दिएको थियो । उच्च अदालत जनकपुरमा पुनरावेदनमा जाँदा उनलाई यहि असार १७ गते ५ वर्ष कैद सजाय सुनाएको थियो । तर उक्त फैसलाको पूर्णपाठ नआउँदै इलाका प्रहरी कार्यालयले असार १८ गते उनलाई गैरकानुनी रूपमा पक्राउ गरेको भन्दै उनका छोरा मनोजकुमारले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए ।
७- सरकारले अनुचित लेनदेन (मिटरव्याज) बाट प्रभावित नागरिकहरूको माग सम्बोधन गर्न र वार्ता अघि बढाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव पुष्कर सापकोटाको संयोजकत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरेको छ । विहिबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ, गृह, भूमि व्यवस्था, र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सह–सचिवहरू सदस्य रहनेगरी वार्ता टोली बनाउने निर्णय गरेको हो । मिटरब्याज पीडितहरूले काठमाडौँ केन्द्रित आन्दोलन गर्न जनकपुरधामबाट पैदल यात्रा सुरु गरी काठमाडौँतर्फ अघि बढेका बेला सरकारले वार्ता टोली बनाएको हो ।
‘मिटरब्याज विरुद्ध (पैदल) न्याय मार्च’ गरिरहेका उनीहरूलाई फकाउन सरकारले मन्त्रिपरिषद्मार्फत विभिन्न आयोगका प्रतिवेदनहरू कार्यान्वयन गर्ने निर्णय गरेको थियो भने पीडितहरूलाई सम्बोधन गर्न र वार्ताका माध्यमबाट सहमति खोज्न गृहमन्त्री सुधन गुरुङ आफैँ निजगढ पुगेका थिए । निजगढस्थित उद्योग वाणिज्य सङ्घको सभाहलमा गृहमन्त्री र आन्दोलनरत मिटरब्याज तथा ठगी विरुद्ध किसान मजदुर सङ्घर्ष समितिबिच दुई चरणको वार्ता सम्पन्न भएपनि निष्कर्षमा भने पुग्न सकेन । उनीहरुले आफ्ना ६ बुँदे मागहरूको बुँदागत र लिखित सम्बोधन नभएसम्म आन्दोलन र पैदल यात्रा नरोकिने स्पष्ट अडान राखेका छन् । यसैबीच सरकारले वार्ता टोली बनाएपछि अब उनीहरुका प्रतिनिधिलाई काठमाडौँ ल्याएर वार्ता गर्ने तयारी भएको छ ।
उनीहरुले मिटरब्याजसँग सम्बन्धित सम्पूर्ण फर्जी लिखतहरू (तमसुक, दृष्टिबन्धक, रजिस्ट्रेसन (छिन्नुवा) पास, फर्जी चेक आदि) मन्त्रिपरिषद् स्तरीय निर्णयबाट अवैध घोषणा गरिनुपर्ने, मिटरब्याजविरुद्ध शक्तिशाली विशेष ऐन निर्माण गर्नुपर्ने माग राखेका छन् । यस्तै उनीहरुले मिटरब्याज विरुद्ध न्यायाधिकरण गठन, साहुमहाजनले पीडितमाथि दायर गरेका मुद्दाको प्रक्रिया तथा पीडितमाथि जारी भएको पक्राउ पुर्जी स्थगित गर्नुपर्ने, फैसला भइसकेका मुद्दाको पुनरावलोकन हुनुपर्ने र फर्जी लिखतका आधारमा पक्राउ परेका पीडितहरूलाई क्षतिपूर्ति सहित स–सम्मान रिहाइ गरिनुपर्ने उनीहरुले माग राखेका छन् । त्यस्तै सुदखोरको सम्पत्ति छानबिन गर्न माग गरेका छन् भने साहु–महाजनले असुल गरेका चल र हडपेका अचल सम्पत्ति पीडितलाई फिर्ता गरिनुपर्ने साथै पीडितलाई न्यायोचित क्षतिपूर्तिको व्यवस्था गरिनुपर्ने र सम्पत्ति फिर्ता गर्ने प्रक्रियामा लाग्ने अदालती दस्तुर छुट हुनुपर्ने र न्यायपूर्ण आर्थिक कारोबार सुनिश्चित गर्नुपर्ने माग उनीहरुको रहेको छ ।
८- कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । नेपाली कांग्रेस र नेकपाका १६ जना सांसदहरूले मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् । ४० सदस्यीय कर्णाली प्रदेश सभामा काँग्रेस र नेकपाका १४-१४ सांसद छन् भने नेकपा एमालेका १० सांसद रहेका छन् । त्यस्तै राप्रपाका १ र स्वतन्त्र १ सांसद रहेका छन् ।
९- सरकारले अनुचित लेनदेन(मिटरव्याज) बाट प्रभावित नागरिकहरूको माग सम्बोधन गर्न र वार्ता अघि बढाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव पुष्कर सापकोटाको संयोजकत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरेको छ । विहिबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ, गृह, भूमि व्यवस्था, र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सह–सचिवहरू सदस्य रहनेगरी वार्ता टोली बनाउने निर्णय गरेको हो ।
त्यसैगरी आजको मन्त्रिपरिषद्को बैठकले रु १ र रु २ का नयाँ डिजाइनका सिक्काहरू टकमरी गर्नका लागि नेपाल राष्ट्र बैंकलाई स्वीकृति प्रदान गर्ने, ‘नेपाल कानुन सूचना पाइलट प्रणाली’ स्थापना गर्नका लागि कोरिया सरकारबाट प्राप्त हुने १.८१ मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकृत गर्ने, संरक्षित क्षेत्रभित्रका राष्ट्रिय वन क्षेत्रमा थप रुख र पोलहरू हटाउनुपर्ने भएमा, प्रचलित कानुनी प्रक्रिया पुरा गरी सम्बन्धित मन्त्रालयले नै स्वीकृति दिन सक्ने, विभिन्न मन्त्रालयहरूको संगठन संरचना र दरबन्दीहरू स्वीकृत गर्ने, ‘नीति अनुसन्धान प्रतिष्ठान विकास समिति (गठन) पहिलो संशोधन अध्यादेश, २०८३’ स्वीकृत गर्ने र सेवा करारमा कार्यरत रहेका कर्मचारीहरूको व्यवस्थापन सम्बन्धी आवश्यक व्यवस्था स्वीकृत गर्ने निर्णय गरेको छ ।
१०- देशभर असार ३२ गतेसम्म कुल धान खेतीयोग्य क्षेत्रफलको ६१.६२ प्रतिशत क्षेत्रमा मात्रै धान रोपाइँ सम्पन्न भएको छ । गत वर्ष सोही अवधिमा भने ७२.१४ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न भएको थियो । यसले यस वर्ष धान रोपाइँको गति अघिल्लो वर्षको तुलनामा सुस्त रहेको देखाएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार देशभर १३ लाख ६६ हजार ५६२ हेक्टर धान खेतीयोग्य क्षेत्रफलमध्ये हालसम्म ८ लाख ४२ हजार ६८ हेक्टरमा धान रोपाइँ भएको छ ।
प्रदेशगत रूपमा हेर्दा सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा ८७.८ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । त्यसपछि गण्डकीमा ६५.९ प्रतिशत, कर्णाली प्रदेशमा ६०.२ प्रतिशत क्षेत्रमा, लुम्बिनीमा ५९.६ प्रतिशत, मधेशमा ५७.९ प्रतिशत, बागमतीमा ५७.१ प्रतिशत र कोशी प्रदेशमा ५४.९ प्रतिशत क्षेत्रमा धान रोपाइँ भएको छ । गत वर्ष सोही अवधिमा भने सुदूरपश्चिम प्रदेशमा ९६.९९ प्रतिशत, कर्णालीमा ८७.९३ प्रतिशत, बागमतीमा ८७.१९ प्रतिशत, लुम्बिनीमा ८७.९३ प्रतिशत, गण्डकीमा ७९.२८ प्रतिशत, कोशीमा ५१.७९ प्रतिशत र मधेशमा ४६.८३ प्रतिशत क्षेत्रमा धान रोपाइँ सम्पन्न भएको थियो । मन्त्रालयको तथ्यांकले यस वर्ष अधिकांश प्रदेशमा धान रोपाइँको प्रगति गत वर्षको तुलनामा कम रहेको देखाएको छ । यसको प्रमुख कारण मनसुन ढिला शुरु हुनु र मलखादको व्यवस्था नहुनु रहेको बताइएको छ ।
११- प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा उनीहरूबी भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको हो । छलफल समसामयिक राजनीतिक घटनाक्रम, मुलुकको पछिल्लो अवस्था तथा आपसी हितका विविध विषयहरूमा केन्द्रित रहेको सचिवालको भनाइ छ। छलफलमा राप्रपाका अध्यक्ष लिङदेनसँगै वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ र केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य खुस्बु ओली सहभागी रहेका थिए ।
१२- नेप्सेमा आज सामान्य वृद्धि भएको छ । आज विहिबार नेप्से ७.५० अंकले बढेर २५९७.८० विन्दुमा पुगेर रोकिएको छ । आज ३७१ कम्पनिका ९४ लाख ६९ हजार ९९ कित्ता शेयर ४ अर्ब ५६ करोड २९ लाख ५० हजार ७०० मा कारोबार भएको थियो । आज फाइनान्स, होटल्स, हाइड्रो र उत्पादन बाहेक सबै क्षेत्रका शेयर मुल्य बढेको छ । आज, सबैभन्दा बढी एनआइबिएल ग्रोथ फण्डको शेयर १४.९६ प्रतिशतले बढेको छ भने फर्स्ट माइक्रो फाइनान्स लघुवित्तको शेयर १४.६७ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी कर्पोरेट विकास बैंकको शेयर ८.७७ प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी सिंगटी हाइड्रोको २४ करोड ७४ लाख बराबरको कारोबार भएको छ भने सानिमा डिभेन्चर २०८७ को २३ करोड बराबरको कारोबार भएको छ ।
१३- सरकारले संघीय संसद्का सांसदहरूले स्वकीय सचिव राख्न दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय सभा र प्रतिनिधिसभाका सदस्यहरूले स्वकीय सचिव राख्न पाउने निर्णय गरेको कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले जानकारी दिएकी हुन् । यसअघि सांसदहरूले शाखा अधिकृत सरहको सेवा, सुविधा पाउने गरी स्वकीय सचिव राख्न पाउने व्यवस्था थियो । तर जेनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारले गत असोज ५ को मन्त्रिपरिषद्को बैठकबाट सांसदहरूलाई दिँदै आएको स्वकीय सचिवको सुविधा खारेज गरेको थियो । संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०७३ को अनुसूचीमा संशोधन गरेर सांसदहरूलाई स्वकीय सचिवको सुविधा दिने निर्णय भएको मन्त्री गौतमले बताएकी छन् । सरकारको यो निर्णयसँगै संघीय संसद् अन्तर्गत प्रतिनिधि सभा २७५ र राष्ट्रिय सभा ५९ सांसदले स्वकीय सचिव राख्न पाउने भएका छन् ।
१४- युक्रेनले लगातार गरेको ड्रोन आक्रमणका कारण रुसले एजोभ सागरका दुई महत्त्वपूर्ण समुद्री मार्गमा जहाजको आवागमन अस्थायी रूपमा रोक्न बाध्य भएको छ । यसले रुसको अन्तर्राष्ट्रिय व्यापार प्रभावित हुन थालेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । एजोभ सागर रुसका लागि तेल, गहुँ, इस्पात, सूर्यमुखीको तेललगायतका सामग्री विश्व बजारमा निर्यात गर्ने प्रमुख समुद्री मार्ग मानिन्छ । युक्रेनको ड्रोन फौजका कमान्डर रोबर्ट ब्रोभदीले पछिल्ला नौ दिनमा एजोभ सागर क्षेत्रमा रुसी ११६ वटा जहाजलाई निशाना बनाइएको दाबी गरेका छन् । यसअघि युक्रेनका आक्रमण मुख्य रूपमा रुसी युद्धपोत र तेल बोक्ने जहाजमा केन्द्रित भए पनि पछिल्ला महिनामा त्यसको दायरा विस्तार भएको छ । लगातारको आक्रमणपछि रुसले डन-एजोभ जलमार्ग र केर्च जलडमरूमध्य हुँदै हुने जहाज आवागमन रोकेको छ । यी दुवै मार्ग एजोभ सागरलाई रुसको आन्तरिक जलमार्ग तथा कालो सागरसँग जोड्ने अत्यन्त महत्त्वपूर्ण नाका हुन् । उपग्रह तस्बिर र जहाजको आवागमन निगरानी गर्ने प्रणालीका अनुसार यी समुद्री मार्गका दुवै किनारमा ठूलो सङ्ख्यामा जहाज रोकिएका छन् । विश्लेषकहरूका अनुसार यसको असर तेल व्यापारमा मात्र सीमित रहने छैन ।
गहुँ, सूर्यमुखीको तेल तथा अन्य कृषि उत्पादनको निर्यात पनि प्रभावित हुन सक्छ । अमेरिकास्थित युद्ध अध्ययन संस्थानले युक्रेनको उद्देश्य क्रिमियालाई रुसी आपूर्ति सञ्जालबाट अलग गर्नु र समुद्री मार्गमार्फत हुने तेल तथा अन्नको निर्यातमा अवरोध सिर्जना गर्नु रहेको जनाएको छ । रिपोर्टका अनुसार रुसको करिब २५ प्रतिशत गहुँ एजोभ सागरमार्फत निर्यात हुने गर्छ । संकट लम्बिएमा रुसलाई अर्बौं डलर बराबरको आर्थिक क्षति हुन सक्ने अनुमान गरिएको छ । विश्वकै सबैभन्दा ठूलो गहुँ निर्यातकर्ता रुसबाट विश्व निर्यातको करिब २० प्रतिशत गहुँ आपूर्ति हुने भएकाले अन्तर्राष्ट्रिय बजारमा गहुँको मूल्य पनि बढ्न थालेको छ । रुसले अन्य बन्दरगाह प्रयोग गरेर निर्यात निरन्तर राख्न सकिने दाबी गरे पनि व्यस्त निर्यात मौसममा ती बन्दरगाहको क्षमता पर्याप्त नहुने विज्ञहरूको भनाइ छ ।
एजोभ सागर युक्रेन र रुसबीच अवस्थित भित्री समुद्र हो, जुन केर्च जलडमरूमध्यमार्फत कालो सागरसँग जोडिएको छ। सन् २०१४ मा क्रिमिया नियन्त्रणमा लिएपछि रुसले यस क्षेत्रमा आफ्नो प्रभाव विस्तार गरेको थियो । सन् २०२२ मा युक्रेनमाथि आक्रमण सुरु गरेपछि एजोभ सागर आसपासका अधिकांश युक्रेनी तटीय क्षेत्र पनि रुसको नियन्त्रणमा पुगेका थिए । सानो आकारको भए पनि दक्षिणी रुसबाट विश्व बजारसम्म ऊर्जा, कृषि तथा औद्योगिक सामग्री ढुवानीका लागि यो समुद्री मार्ग अत्यन्त रणनीतिक र आर्थिक दृष्टिले महत्त्वपूर्ण मानिन्छ ।
१५- नेपाली बजारमा आज सुनको मुल्य बढेको भने चाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार सुनको मुल्य तोलाको ४ सयले बढेर तोलाको २ लाख ८५ हजार २ सयमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन तोलाको २ लाख ८४ हजार ८ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मुल्य भने घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ९० रुपैयाँले घटेर तोलाको ४३२५ मा कारोबार भइरहेको छ । यसअघि बुधबार चाँदी तोलाको ४४१५ मा कारोबार भएको थियो ।
१६- नेपाल र भारतबीच ऊर्जा क्षेत्रको सहकार्यलाई थप मजबुत बनाउने उद्देश्यले संयुक्त निर्देशक समिति र संयुक्त कार्यसमूहको १३औँ बैठक पोखरामा सम्पन्न भएको छ । नेपाल सरकारको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयकी सचिव सरिता दवाडी र भारत सरकारको विद्युत् मन्त्रालयका सचिव पंकज अग्रवालको सहअध्यक्षतामा संयुक्त निर्देशक समितिको बैठक बुधबार सम्पन्न भएको हो । यसअघि मंगलबार दुवै देशका सहसचिवहरूको सहअध्यक्षतामा संयुक्त कार्यसमूहको १३औँ बैठक बसेको थियो । बैठकमा नेपाल–भारतबीच जलविद्युत् आयोजना विकास, विद्युत् व्यापार तथा प्रसारण पूर्वाधार निर्माणको प्रगतिबारे विस्तृत समीक्षा गरिएको थियो ।
दुवै पक्षले चार सय केभी क्षमताको गोरखपुर–नयाँ बुटवल प्रसारण लाइनसहित नयाँ अन्तरदेशीय प्रसारण लाइन निर्माणमा भएको प्रगतिप्रति सन्तोष व्यक्त गर्दै निर्माणाधीन तथा प्रस्तावित विद्युत् उत्पादन र प्रसारण आयोजनालाई छिटो कार्यान्वयन गर्ने उपायबारे छलफल गरेका छन् । त्यसैगरी नेपाल र भारतको विद्युत् प्रणालीको समन्वित सञ्चालन, सौर्य ऊर्जा आयोजना विकास, हरित हाइड्रोजन क्षेत्रमा सहकार्य तथा नेपाली प्राविधिक जनशक्तिको क्षमता अभिवृद्धिका विषयमा पनि विचारविमर्श भएको थियो । संयुक्त निर्देशक समितिको बैठकअघि भारतका विद्युत् सचिव पंकज अग्रवालले नेपालका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वीराजभक्त श्रेष्ठसँग मंगलबार शिष्टाचार भेटवार्ता गरेका थिए । बैठकमा भएका छलफलले नेपाल–भारत ऊर्जा क्षेत्रको सहकार्यलाई थप प्रभावकारी र सुदृढ बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास दुवै पक्षले व्यक्त गरेका छन् ।
१७- इङ्ग्ल्यान्डलाई २-१ ले पराजित गर्दै विश्वकपको फाइनलमा पुगेपछि अर्जेन्टिनाका खेलाडीले फकल्यान्ड टापुमाथिको आफ्नो देशको दाबी समर्थन गर्ने ब्यानर प्रदर्शन गरेका छन् । त्यसपछि अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले अर्जेन्टिनामाथि अनुशासनात्मक कारबाही गर्न सक्ने सम्भावना बढेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । खेल सकिएलगत्तै अर्जेन्टिनाका खेलाडीले ‘माल्भिनास अर्जेन्टिनाकै हो’ भन्ने अर्थ लाग्ने ब्यानर प्रदर्शन गरेका थिए । दक्षिण एटलान्टिक महासागरमा रहेको फकल्यान्ड टापु बेलायतको अधीनमा रहेको भूभाग भए पनि त्यसमाथि अर्जेन्टिनाले लामो समयदेखि आफ्नो सार्वभौम अधिकार दाबी गर्दै आएको छ । यही विवादका कारण सन् १९८२ मा दुई देशबीच ७४ दिनसम्म युद्ध भएको थियो, जसमा ६५५ अर्जेन्टिनी र २५५ बेलायती सैनिकको मृत्यु भएको थियो ।
यसअघि पनि सन् २०१४ मा अर्जेन्टिनाका खेलाडीले स्लोभेनियाविरुद्धको मैत्रीपूर्ण खेलअघि यही सन्देश भएको ब्यानर देखाएपछि फिफाले अर्जेन्टिनी फुटबल संघलाई २७ हजार डलर जरिवाना गरेको थियो। त्यतिबेला फिफाले त्यसलाई राजनीतिक सन्देश फैलाएको र प्रतियोगिताको आचारसंहिता उल्लंघन भएको ठहर गरेको थियो । यसबीच अर्जेन्टिनाकी उपराष्ट्रपति भिक्टोरिया भियारुएलले सामाजिक सञ्जालमार्फत फकल्यान्ड टापु अर्जेन्टिनाकै भएको दोहोर्याउँदै यो खेल सामान्य खेल मात्र नभएको टिप्पणी गरेकी छन् । तर अर्जेन्टिनाका मुख्य प्रशिक्षक लियोनेल स्कालोनीले भने खेलअघि नै फुटबल र राजनीतिलाई एकै ठाउँमा मिसाउन नहुने बताएका थिए । उनले विगतको युद्ध दुःखद इतिहास भए पनि त्यसलाई फुटबलसँग जोड्न नहुने धारणा राखेका थिए । अटलान्टामा सम्पन्न सेमिफाइनल ऐतिहासिक संवेदनशीलतालाई ध्यानमा राख्दै कडा सुरक्षा व्यवस्थाबीच खेलाइएको थियो । खेलमा इङ्ग्ल्यान्डले अग्रता लिए पनि अन्तिम समयमा एन्जो फर्नान्डेज र लाउतारो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई २–१ को जित दिलाएका थिए। अब अर्जेन्टिनाले उपाधिका लागि आइतबार स्पेनसँग प्रतिस्पर्धा गर्नेछ ।
१८- निरन्तर खोजी तथा अनुगमनपछि चितवन राष्ट्रिय निकुञ्जमा रहेको ध्रुवे हात्ती फेला परेको छ । निकुञ्जभित्र सुखीभार पोस्ट नजिक ध्रुवे हात्ती फेला परेपछि गएराती विशेषज्ञ टोलीले ध्रुवे हात्तीलाई रेडियो कलर जडान गरेको हो । यस्ले नियमित निगरानी गरिने,बस्ती आउनु अगावै जानकारी गराउने छ । रेडियो कलरमार्फत हात्तीको अवस्थिति र गतिविधिको जानकारी छोटो–छोटो अन्तरालमा प्राप्त हुने भएकाले नियमित अनुगमन गर्न सहज हुने विश्वास गरिएको छ। यस प्रविधिले हात्तीको जीपीएस लोकेसन तत्काल प्राप्त हुने, जोखिमपूर्ण क्षेत्रको पूर्वानुमान गर्न सकिने तथा मानव–हात्ती द्वन्द्व न्यूनीकरणमा महत्वपूर्ण सहयोग पुग्ने छ । चितवन राष्ट्रिय निकुञ्जले रेडियो कलरमार्फत ध्रुवे हात्तीको नियमित निगरानी गर्दै आवश्यक व्यवस्थापनका कार्यलाई निरन्तरता दिने जनाएको छ । चितवन राष्ट्रिय निकुञ्जले मानव–हात्ती द्वन्द्व न्यूनीकरण तथा वन्यजन्तु व्यवस्थापनलाई प्रभावकारी बनाउन समस्या सिर्जना गर्दै आएको ध्रुवे हात्तीलाई रेडियो कलर जडान गरेको छ । असार २० गते राति भरतपुर महानगरपालिका–२३ बेलहटा निवासी २५ वर्षीया आशिका बोटे र उनका ४ वर्षीय छोरा भरत बोटेको ध्रुवे हात्तीको आक्रमणबाट मृत्यु भएपछि थप मानवीय क्षति हुन नदिन निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष, नेपाली सेना, स्थानीय तह तथा अन्य सरोकारवालासँगको समन्वयमा हात्तीको खोजी र निगरानी तीव्र बनाइएको थियो ।
१९- अर्जेन्टिनाले अन्तिम पाँच मिनेटमा दुई गोल गर्दै इङ्ग्ल्यान्डमाथि २-१ को रोमाञ्चक जित निकाल्दै विश्वकप फुटबलको फाइनलमा स्थान सुरक्षित गरेको छ । एटलान्टास्थित मर्सिडिज–बेन्ज रङ्गशालामा सम्पन्न दोस्रो सेमिफाइनलमा निर्धारित समय सकिनै लाग्दा अर्जेन्टिनाले अविश्वसनीय पुनरागमन गर्दै फाइनलमा स्पेनसँगको भेट पक्का गरेको हो । खेलको दोस्रो हाफमा एन्थोनी गोर्डनले गोल गर्दै इङ्ग्ल्यान्डलाई अग्रता दिलाएका थिए ।
खेलको अधिकांश समय अग्रता जोगाएको इङ्ग्ल्यान्ड अन्तिम क्षणमा दबाब थेग्न नसक्दा सन् १९६६ पछि दोस्रो पटक विश्वकप फाइनल पुग्ने सपना फेरि अधुरै रह्यो । तेस्रो विश्व उपाधि विजेता तथा साविक च्याम्पियन अर्जेन्टिनाले बराबरी गोलको खोजीमा लगातार आक्रमण गरे पनि सुरुआती प्रयास सफल हुन सकेका थिएनन् । कप्तान लियोनल मेसीको नेतृत्वमा अर्जेन्टिनाले धेरै अवसर सिर्जना गरे पनि इङ्ग्ल्यान्डका गोलरक्षक जोर्डन पिकफोर्डले उत्कृष्ट बचाउ गर्दै टोलीलाई लामो समयसम्म खेलमा अगाडि राखेका थिए । खेलको ६९औँ मिनेटमा मेस्सीको सटिक पासमा निको गोन्जालेजले गरेको प्रहार पिकफोर्डले शानदार रूपमा बचाएका थिए ।
त्यसको सात मिनेटपछि पनि उनले अलेक्सिस म्याक एलिस्टरको प्रहार रोकेका थिए। त्यसअघि म्याक एलिस्टरको अर्को प्रहार पोस्टमा लागेको थियो । तर ८६औँ मिनेटमा एन्जो फर्नान्डेजले करिब २० गज टाढाबाट दर्शनीय प्रहार गर्दै अर्जेन्टिनालाई १–१ को बराबरीमा पुर्याएका थिए । त्यसपछि ९०औँ मिनेटमा म्याक एलिस्टरको अर्को प्रहार पुनः पोस्टमा लागे पनि त्यसलगत्तै मेस्सीले दिएको उत्कृष्ट क्रसलाई वैकल्पिक खेलाडी लाउटारो मार्टिनेजले नजिकैबाट हेडमार्फत जाली चुमाउँदै निर्णायक गोल गरेका थिए । यस जितसँगै अर्जेन्टिनाले लगातार दोस्रो पटक विश्वकपको फाइनल यात्रा तय गरेको छ भने उपाधिका लागि अब स्पेनसँग प्रतिस्पर्धा गर्नेछ ।
२०- अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सन् २०२७ को एकदिवसीय विश्वकपको प्रतियोगिता ढाँचामा ठूलो परिवर्तन गरेको छ । दक्षिण अफ्रिका, जिम्बाब्वे र नामिबियाले संयुक्त रूपमा आयोजना गर्ने विश्वकपमा अब सुपर सिरिज र सुपर ७ नामका दुई नयाँ चरण समावेश गरिने भएका छन् । एडिनबर्गमा सम्पन्न आईसीसीको वार्षिक सम्मेलनपछि सार्वजनिक गरिएको नयाँ ढाँचाअनुसार प्रतियोगितामा १४ टोलीको सहभागिता रहनेछ । प्रारम्भिक चरणलाई अझ प्रतिस्पर्धात्मक बनाउन र प्रत्येक खेलको महत्व बढाउने उद्देश्यले नयाँ व्यवस्था लागू गरिएको आईसीसीले जनाएको छ । नयाँ ढाँचाअनुसार छनोटमा १२औँदेखि १४औँ स्थानमा रहने तीन टोलीबीच पहिले सुपर सिरिज खेलाइनेछ। यस चरणबाट एक टोली समूह चरणमा पुग्नेछ र त्यसपछि १२ टोलीलाई दुई समूहमा विभाजन गरिनेछ । समूह चरणपछि दुवै समूहका शीर्ष तीन-तीन टोली तथा दुवै समूहमध्ये उत्कृष्ट अर्को एक टोली गरी सात टोली सुपर-७ चरणमा पुग्नेछन् ।
सुपर-७ मा सबै टोलीले एकअर्कासँग खेल्नेछन् र शीर्ष चार टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । यसअघि सन् २०१९ र २०२३ को विश्वकप १० टोलीबीच आयोजना गरिएको थियो । त्यसपछि आईसीसीले सन् २०२१ मा १४ टोलीको विश्वकप गराउने निर्णय गरेको थियो । प्रारम्भिक योजनाअनुसार दुई समूहबाट सुपर-६ चरण हुँदै सेमिफाइनल र फाइनल हुने व्यवस्था थियो । तर अब त्यसलाई परिवर्तन गर्दै सुपर सिरिज र सुपर–७ चरण समावेश गरिएको हो । हालै सम्पन्न टी-२० विश्वकपमा धेरै खेलको नतिजाले प्रतियोगितामा खास प्रभाव नपारेको भन्दै आलोचना भएपछि आईसीसीले प्रारम्भिक चरणमै प्रतिस्पर्धा बढाउने निर्णय गरेको हो । यसले प्रत्येक खेललाई थप महत्वपूर्ण बनाउने विश्वास गरिएको छ । आईसीसीका अनुसार नयाँ संरचनाले प्रतियोगिताको हरेक चरणलाई अर्थपूर्ण बनाउनेछ र सुपर-७ चरणले सेमिफाइनल प्रवेशका लागि अझ कडा प्रतिस्पर्धा सिर्जना गर्नेछ ।
प्रतियोगिताको अन्तिम तालिका र विस्तृत खेलतालिका आगामी अक्टोबरमा बस्ने आईसीसी बैठकबाट अनुमोदन गरिने बताइएको छ । अधिकांश खेल दक्षिण अफ्रिकामा हुनेछन् भने करिब १० खेल जिम्बाब्वेमा र केही खेल नामिबियामा आयोजना गरिने अपेक्षा गरिएको छ । विश्वकपका लागि छनोट प्रक्रिया भने यथावत् रहने बुझिएको छ । १४ टोलीमध्ये १० टोलीले स्वतः स्थान बनाउनेछन् । आयोजक राष्ट्र दक्षिण अफ्रिका र जिम्बाब्वेसहित सेप्टेम्बर २०२६ सम्मको एकदिवसीय वरीयताका शीर्ष आठ टोलीले प्रत्यक्ष विश्वकप खेल्नेछन् । बाँकी चार टोली विश्वव्यापी छनोट प्रतियोगिताबाट तय हुनेछन् । त्यस प्रतियोगितामा वरीयताका अर्को दुई टोली, विश्वकप क्रिकेट लिग-२ बाट चार टोली र छनोट प्लेअफबाट चार टोली गरी १० टोली सहभागी हुनेछन् । उक्त छनोट प्रतियोगिता सन् २०२६ को डिसेम्बर वा २०२७ को जनवरीमा नामिबिया वा दक्षिण अफ्रिकामा आयोजना हुने सम्भावना रहेको छ ।