झापा । झापामा छ महिनामा एक अर्ब बढीको उद्योग दर्ता भएका छन् ।
आर्थिक वर्ष २०७९/०८० को पुस मसान्तसम्ममा स्थायी र चालु गरी एक अर्ब ३१ करोड ३८ लाख ८९ लाख कूल पुँजी भएको ५०५ वटा उद्योग दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालय झापाका निमित्त प्रमुख प्रेमप्रसाद सापकोटाले जानकारी दिए ।
जिल्लामा सबैभन्दा बढी कृषि तथा वनजन्य उद्योग दर्ता भएका छन् । नयाँ दर्ता भएकामध्ये झण्डै ४४ प्रतिशतअर्थात् दुई सय २२ वटा कृषि तथा वनजन्य उद्योग छन् । दर्ता भएकामा उत्पादनमूलक ७९ र सेवामूलक दुई सय चार रहेको कार्यालयका कर्मचारी चन्द्र पौडेलले जानकारी दिए ।
साउनमा एक सय सात, भदौमा एक सय ४४, असोजमा ५३, कात्तिकमा ४९, मङ्सिरमा ७७ र पुसमा ७५ वटा उद्योग दर्ता भए । दर्ता भएका ती उद्योगमा महिला र पुरुष गरी पाँच सय ४२ उद्यमी छन् । ती उद्योग सञ्चालनमा आएमा एक हजार दुई सय ८९ जनाले रोजगारीसमेत पाउने देखिन्छ ।
दर्ता भएका उद्योगको उत्पादन क्षमता वार्षिक एक अर्ब ३९ करोड ६० लाख चार हजार छ । उद्योग दर्ताबापत कार्यालयले २० लाख १० हजार सात सय राजस्व सङ्कलन गरेको छ ।
FACEBOOK COMMENTS