काठमाडौं । विश्वव्यापी डिजिटल भुक्तानी क्षेत्रको अग्रणी कम्पनी भिसाले नेपालको प्रमुख भुक्तानी नेटवर्क फोनपेसँग सहकार्य गर्दै नेपालमा अन्तर्राष्ट्रिय पर्यटकहरूलाई फोनपेको क्यूआर प्रणालीमार्फत भुक्तानी गर्न सक्षम बनाउने स्क्यान टु पे सुविधा सुरु गरेको छ।
यो साझेदारीले भिसा कार्ड प्रयोग गर्ने पर्यटकहरूका लागि नेपालमा सीमापार भुक्तानीलाई सुरक्षित, सहज र सुविधाजनक बनाउने अपेक्षा गरिएको छ।
यस सुविधाले नेपालभरका १५ लाखभन्दा बढी क्यूआर व्यवसायहरूमा भिसा कार्डबाट भुक्तानी गर्न सकिनेछ, जसले पर्यटकहरूको खरिद अनुभवलाई उत्कृष्ट बनाउनेछ। पर्यटकहरूले आफ्नो डिजिटल वालेटमा टोकनाइज्ड भिसा कार्ड जोडेर फोनपे क्यूआर स्क्यान गरी सजिलै भुक्तानी गर्न सक्नेछन्। भिसाका नेपाल कन्ट्री म्यानेजर सब्बीर अहमदले यो सहकार्यले डिजिटल भुक्तानीलाई नवीन र सुरक्षित बनाउने बताए।
फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटाले यो साझेदारीले भुक्तानीलाई पहुँचयोग्य बनाई नेपालमा डिजिटल भुक्तानीको प्रयोग बढाउने उल्लेख गरे। यसले साना-ठूला व्यवसायीहरूलाई फाइदा पुर्याउँदै वित्तीय समावेशीकरणलाई बलियो बनाउनेछ। फोनपेको क्यूआर कोडले नगदरहित भुक्तानीलाई सरल र सुरक्षित बनाउनेछ।
भिसाले नेपालमा डिजिटल भुक्तानीको विस्तारका लागि निरन्तर काम गरिरहेको छ। यो सहकार्यले नेपालको डिजिटल भविष्यलाई नयाँ उचाइ दिने अपेक्षा छ।
FACEBOOK COMMENTS