काठमाडौं । भारतीय राज्य ओडिसाको भुवनेश्वरस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) को होस्टेलमा नेपाली छात्रा प्रिशा साह मृत भेटिएको घटनामा भारतीय प्रहरीले अनुसन्धान गरिरहेको छ ।
भुवनेश्वरका प्रहरी आयुक्त एस. देवदत्त सिंहका अनुसार घटनालगत्तै फरेन्सिक र प्रहरी टोली घटनास्थल पुगेको थियो । यस घटनामा अप्राकृतिक मृत्युको मामला दर्ता गरिएको उनले जानकारी दिए ।
उनका अनुसार प्रिशाका आमाबुवा र नेपाली दूतावासलाई घटनाको जानकारी गराइसकिएको छ ।
नेपालकी परराष्ट्रमन्त्री आरजु राणा देउवाले घटनाको सत्यतथ्य छानबिनका लागि कूटनीतिक पहल सुरु गरिएको बताएकी छन् ।
भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्माले प्रिशा साहको मृत्युमा शोक व्यक्त गर्दै भारतको विदेश मन्त्रालय, ओडिसा सरकार, प्रहरी र विश्वविद्यालयसँग सम्पर्कमा रहेको बताएका छन् ।
किट विश्वविद्यालयमा बीटेक अधययनरत वीरगञ्जकी प्रिशा साह हिजो बिहीबार साँझ ७ बजेतिर विश्वविद्यालयको होस्टेलको एक कोठामा मृत भेटिएकी थिइन् ।
यसअघि गत फागुनमा पनि सोही विश्वविद्यालयमा अर्की नेपाली छात्रा प्रकृति लम्साल मृत भेटिएकी थिइन् ।
FACEBOOK COMMENTS