अमेरिका । अमेरिकामा जारी फिफा विश्वकपका कारण पर्यटन तथा आतिथ्य क्षेत्रमा रोजगारी उल्लेख्य रूपमा बढ्ने अपेक्षा गरिए पनि जुन महिनामा त्यसको उल्टो परिणाम देखिएको छ।
होटल, रेष्टुरेन्ट, बार तथा अन्य आतिथ्य क्षेत्रका करिब ६१ हजार रोजगारी घटेको अमेरिकी श्रम तथ्यांक ब्युरो बीएलएसले जनाएको छ।
विश्वकप अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गरिरहेका कारण विश्लेषकहरूले पर्यटन र सेवा क्षेत्रमा रोजगारी उल्लेख्य रूपमा बढ्ने अनुमान गरेका थिए। तर, जुन महिनाको तथ्यांकले त्यो अपेक्षा पूरा हुन नसकेको देखाएको हो।
बीएलएसका अनुसार जुन महिनामा समग्र अमेरिकी अर्थतन्त्रमा ५७ हजार नयाँ रोजगारी थपिएका छन्, जुन विश्लेषकहरूको अनुमानभन्दा कम हो। यद्यपि बेरोजगारी दर भने सामान्य रूपमा घटेर ४ दशमलव २ प्रतिशतमा झरेको छ।
यसअघि मे महिनाको तथ्यांकले विश्वकपको तयारीस्वरूप होटल, बार र रेष्टुरेन्टहरूले कर्मचारी भर्ना बढाएको संकेत दिएको थियो। लगानी बैंक गोल्डम्यान साक्सले पनि जुन महिनामा मात्रै विश्वकपका कारण करिब ४० हजार अतिरिक्त रोजगारी सिर्जना हुने प्रक्षेपण गरेको थियो।

तर, विश्वकप हेर्न आएका विदेशी समर्थकहरूको चहलपहल बढे पनि आतिथ्य क्षेत्रको रोजगारी भने बढ्नुको सट्टा घटेको देखिएको छ।
आईएनजीका प्रमुख अमेरिकी अर्थशास्त्री जेम्स नाइट्लीले आतिथ्य क्षेत्र जुन महिनाको रोजगारी तथ्यांकमा सबैभन्दा कमजोर क्षेत्रका रूपमा देखिएको बताए। विश्वकप चलिरहेका बेला बार, होटल र विभिन्न मनोरञ्जनस्थल व्यस्त भइरहेका अवस्थामा पनि रोजगारी घट्नु अप्रत्याशित भएको उनको भनाइ छ।
उनले मे महिनामा यस क्षेत्रमा ४४ हजार रोजगारी थपिएको भए पनि त्यसपछि देखिएको गिरावटले आश्चर्यमा पारेको बताएका छन्।
बीएलएसले यसअघि सार्वजनिक गरेको अप्रिल र मे महिनाको रोजगारी तथ्यांक पनि संशोधन गरेको छ। संशोधित विवरणअनुसार ती दुई महिनामा सिर्जना भएको रोजगारी संख्या पहिले अनुमान गरिएभन्दा ७४ हजारले कम रहेको छ।
नाइट्लीका अनुसार जुन महिनाको कमजोर रोजगारी वृद्धि र अघिल्ला महिनाको संशोधित तथ्यांकले पछिल्ला तीन महिनादेखि देखिएको रोजगारी वृद्धि नयाँ दीर्घकालीन प्रवृत्तिको संकेत नभएको देखाउँछ। यसले अमेरिकी केन्द्रीय बैंकले यसै महिनाभित्र ब्याजदर बढाउने सम्भावना पनि कम भएको संकेत दिएको उनले बताएका छन्।
वेल्थ क्लबकी प्रमुख लगानी रणनीतिकार सुसाना स्ट्रिटरले रोजगारी वृद्धिको गति सुस्त बन्दा अमेरिकी अर्थतन्त्र ुगोल्डिलक्सु अवस्थातर्फ उन्मुख भएको बताएकी छन्। उनका अनुसार अर्थतन्त्र न अत्यधिक तातिने, न अत्यधिक सुस्त हुने सन्तुलित अवस्थातर्फ गएको देखिएको छ। यससँगै अब धेरै पटक ब्याजदर बढ्ने अपेक्षा कमजोर बन्दै गएको र अर्को वर्षभन्दा अघि ब्याजदर वृद्धि हुने सम्भावना कम रहेको उनको भनाइ छ।
– बीबीसीबाट साभार