काठमाडौं । नेकपा एमालेकी सांसद रिंगला यादवले प्रधानमन्त्री बालेन साहको सीमा सम्बन्धी अभिव्यक्तिपछि नवलपरासीको सुस्ता क्षेत्रमा स्थानीयले सास्ती व्यहोर्नु परेको बताएकी छन् ।
आइतबार बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले नेपालले पनि भारतको केही भूमि मिचेको भन्ने अभिव्यक्ति दिएपछि भारतीय सशस्त्र सीमा बल एसएसबीको गतिविधि सुस्ता क्षेत्रमा बढेको र नेपाली भूमिमै समस्या सिर्जना भएको सांसद यादवले बताएकी छन् ।
नवलपरासी बर्दघाट सुस्ता पश्चिमको पाल्हीनन्दन गाउँपालिकाकी स्थानीय समेत रहेकी यादव समानुपातिक निर्वाचन प्रणालीमार्फत प्रतिनिधिसभा सदस्य निर्वाचित भएकी हुन् ।
सोमबार कर्पोरेट खबरसँग कुरा गर्दै उनले प्रधानमन्त्रीको उक्त अभिव्यक्तिले सीमा क्षेत्रमा अनावश्यक अन्योल र तनाव बढाएको बताएकी हुन ।
सुस्तास्थित नेपाली भूमिमा एसएसबीको प्रवेश र गतिविधिप्रति गम्भीर आपत्ति जनाउँदै उनले सीमा क्षेत्रमा देखिएको समस्या समाधान नभएसम्म संसदभित्र र बाहिर सशक्त रूपमा आवाज उठाइरहने प्रतिबद्धता व्यक्त गरिन् ।
