काठमाडौं । विश्व सगरमाथा दिवसको सन्दर्भ पारेर अल्पाईन स्पोटर्स फेडेरेसनको पाँचौं वार्षिक साधारणसभा हिमाली जिल्ला दोलखाको कालिन्चोक क्षेत्रमा सम्पन्न भएको छ ।
अल्पाईन, विन्टर, पर्वतिय, साहसिक तथा पर्यटकिय खेलकुद मार्फत दिगो पर्यटन प्रबद्र्धनमा प्रतिबद्ध महासंघले समुद्री सतहबाट ३ हजार ४ सय ५० मिटर उचाईमा रहेको धार्मीक पर्यटकीय क्षेत्र कालिन्चोकको कुरी बजारमा यही जेठ १५ र १६ मा साधारणसभा सम्पन्न गरेको हो ।
सभामा केन्द्रीय कार्यसमिति, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेश महासंघ, विज्ञ प्राविधिक तथा व्यवसायिक क्षेत्र समेतबाट मनोनयन भएका ५ जना समेत गरि ३१ जना प्रतिनिधि मध्ये २२ जना प्रतिनिधिको सहभागिता रहेको थियो ।
साधारणसभाले निष्कृय पदाधिकारीको विदाई तथा केही पदमा मनोनयन र जिम्मेवारीमा समेत हेरफेर गरेको छ भने महासंघको नियमित कार्यलाई थप प्रभावकारी र व्यवस्थित बनाउन उमेश केसी चौलागाईंलाई जनरल म्यानेजर नियुक्त गरेको छ ।
महासंघका अध्यक्ष गोविन्द भट्टराईको अध्यक्षतामा सम्पन्न साधारणसभाले प्रगति र आर्थिक प्रतिवेदन, आगामी कार्ययोजना प्रस्ताव र बजेट तथा विभिन्न विशेष प्रस्ताव समेत पारित गरेको छ ।

त्यस्तै साधारणसभाले अडिटर नियुक्ति, पदाधिकारीहरुको विषयगत जिम्मेवारी तथा राष्ट्रिय अन्र्तराष्ट्रिय आवद्धता, सहकार्य तथा एकता सम्बन्धि विशेष प्रस्ताव समेत पारित गरेको छ ।

साधारणसभामा बिगु गाउँपालिकाका अध्यक्ष संजीव ओली, कालिन्चोक गाउँपालिकाका उपाध्यक्ष कुलबहादुर बुढाथोकी, विभिन्न खेलका प्राविधिक, खेलप्रेमी तथा विज्ञ र व्यवसायिक व्यक्तित्व गरि ४३ जनाको सहभागीता रहेको थियो ।
नेपालकै अग्लो स्थानमा टग अफ वार
विश्व सगरमाथा दिवसको अवसरमा हिमाली जिल्ला दोलखाको कालिन्चोक क्षेत्रमा हाई अल्टिच्युड टग अफ वार प्रतियोगिता सम्पन्न भएको छ ।

समुद्री सतहबाट ३ हजार ४ सय ५० मिटर उचाईमा रहेको धार्मीक पर्यटकीय क्षेत्र कालिन्चोकको कुरी बजारमा सम्पन्न प्रतियोगिता नेपालकै सबैभन्दा अग्लो स्थानमा आयोजना गरिएको हो ।
कोशी, बागमती, कर्णाली–सुदुरपश्चिम तथा दोलखा गरी ४ टोलिको सहभागीता रहेको प्रतियोगिताको फाईनलमा बागमती प्रदेशलाई २–० को सोझो सेटमा पराजित गर्दै कोशी प्रदेशले पहिलो स्थान हासिल गरेको छ ।
यस अघि बागमतीले कर्णाली–सुदुरपश्चिमलाई २–१ ले हरायो भने कोशीले दोलखालाई २–० ले पराजित गर्न सफल भयो । प्रत्येक टोलिमा ८ जना मुख्य तथा २ जना वैकल्पिक गरी ४० खेलाडीको सहभागीता रहेको प्रतियोगिताका सहभागीलाई कालिन्चोक गाउँपालिकाका उपाध्यक्ष कुलबहादुर बुढाथोकीले शुभारम्भ गर्नुभएको थियो ।
अल्पाईन स्पोर्टस फेडेरेशनको आयोजना तथा नेपाल टग अफ वार एसोसियसनको प्राविधिक सहयोगमा सम्पन्न प्रतियोगताको विजेतालाई काठमाडौमा एक कार्यक्रम गरी पुरस्कृत गरिनेछ ।
टुर डे हिमालय काठमाडौं–कालिन्चोक मोटरसाईकल र्याली
अल्पाईन स्पोटर्स फेडेरेसन नेपालको आयोजनामा काठमाडौं–कालिन्चोक टि.एस.डि. मोटरसाईकल र्याली सम्पन्न भएको छ । टुर डे हिमालयको नाममा र ब्रान्डमा गरिएको सो र्याली आउँदो वर्ष देखि अन्र्तराष्ट्रिय स्तरको नेपाली ब्रान्ड बनाउने उद्देश्य सहित आयोजना गरिएको हो ।
सातटोबाटो स्थित अल्पाईन स्पोर्टस फेडेरेसनको कार्यालयबाट शुरु भएको सो र्यालीमा २१ वटा मोटरसाईकल, ४१ जना खेलाडी तथा ८ जना प्राविधिक गरी ४९ जनाकोे सहभागिता रहेको थियो । एक्स पल्स राइडर्स क्लवको व्यवस्थापनमा सम्पन्न र्याली बनेपा–दोलालघाट–खाडीचौर–मुडे–चरिकोट हुँदै कालिन्चोकको कुरी बजारमा पुगेर समापन भएको थियो ।
समय, गती र दूरीको सिस्टमलाई संयोजन गरी व्यवस्थापन गरिएको उक्त र्यालीलाई विगु गाउँपालिका अध्यक्ष सञ्जीव ओलीले स्वागत गर्नुभएको थियो । नेपालको भूगोल र प्रकृति सुहाउँदो साहसिक खेल मार्फत दिगो पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले आयोजित सो र्यालीले दोलखालाई साहसिक खेलको गन्तव्य बनाउने विश्वास गर्न सकिन्छ । नेपाल अटोमोबाइल एसोसिएसनका अध्यक्ष दशरथ रिसालले जेठ १५ गते फ्ल्याग अप गरि शुभारम्भ गर्नुभएको सो र्यालीको ट्रान्स हिमालयन क्षेत्रको खेलकूदमा महत्वपूर्ण योगदान पुर्याउनेछ ।