काठमाडौं, जेठ ६ – इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले कोभिड–१९ को तेस्रो भेरियन्ट निकै संक्रामक रहेको बताएको छ । नेपालमा गत हप्ता कोभिड–१९ संक्रमितको ३५ वटा नमुनालाई जिन स्क्विन्सिङ गर्दा ९७ प्रतिशत (३४ वटा)मा बि. १. ६१७.२ नयाँ भेरियन्ट र तीन प्रतिशत( एउटा)मा बि.१. ६१७. १ पुष्टि भएसँगै नेपालमा कोभिड–१९ को तेस्रो भेरियन्ट रहेको पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि मंगलबार विज्ञप्ति निकाल्दै नेपालमा तेस्रो भेरियन्ट रहेको बारे जानकारी गराइसकेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले तेस्रो भेरियन्ट यसअघि देखा परेको भेरियन्टभन्दा ५० प्रतिशत बढी संक्रामक रहको बताएको छ ।
इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. कृष्ण पौडेलले सुरुमा बेलायतमा पत्ता लागेको भेरियन्टभन्दा यो भेरियन्ट ४० देखि ५० प्रतिशत बढी संक्रामक रहेको बताए । यो भेरियन्ट २० देखि ४४ वर्ष उमेर समूहमा उच्च संक्रमण रहेको पनि उनले जानकारी दिए ।
उनले भने, ‘प्रारम्भिक अध्ययनहरुले यो सर्ने दर अन्य भेरियन्टभन्दा उच्च छ भन्ने देखियो । नेपालमा संक्रमण बढेको दर, भारतमा बढेको दरले पनि अप्रत्यक्ष रुपमा हामी एउटा निष्कर्षमा पुग्न सक्छौंं¬– यो अलि बढी संक्रामक छ भनेर । उमेर समूह हेर्ने हो भने २० देखि ४४ वर्ष समूहमा उच्च दरमा संक्रमण छ । संक्रमणको मुख्य हिस्सा यो उमेर समूहमा छ । कुनैपनि उमेरलाई यसले छोड्दैन भन्ने अप्रत्यक्ष रुपमा देखिन्छ ।’
डा. पौडेलले हाल कोभिड विरुद्धमा लगाइरहेको कोभिशिल्ड खोपले तुलनात्मक रुपमा यस भेरियन्टको जटिलता कम गर्न र मृत्युदर कम गराउन प्रभावकारी हुने पनि बताए । उनले सामाजिक दुरी कायम गर्ने, मास्कको प्रयोग गर्ने तथा सरसफाइलगायतका जनस्वास्थ्यको मापदण्ड पालना गरेर मात्रै कोभिड १९ को तेस्रो भेरियन्टबाट बच्न सकिने भन्दै जनस्वास्थ्यको मापदण्ड कडाइका साथ पालना गर्नुपर्ने पनि बताए ।