काठमाण्डौँ — राजधानीको भृकुटीमण्डपमा शुक्रबारदेखि तीनदिने २२ औं फ्लोरा एक्सपो सुरु भएको छ ।
प्रदेश नम्बर ३ सरकारअन्तर्गतको भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र कृषि ज्ञान केन्द्र ललितपुरको सहकार्यमा फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) ले आयोजना गरेको उक्त एक्सपो( महोत्सव) को उदघाट्न संघीय सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका राज्यमन्त्री रामकुमार चौधरी(रोजिना) ले गरेकी थिइन् ।
एक्सपोको उदघाट्न गर्दै राज्यमन्त्री चौधरीले स्वदेशी पुष्प खेती र व्यवसायले हजारौं सर्वसाधारणलाई रोजगारीको अवसर प्रदान गर्नुका साथै धेरै हदसम्म गरिबी निबारणमा पनि उल्लेखनीय भूमिका खेलेको जानकारी दिइन् ।
संघीय कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिब डा. युवकध्वज जिसीले पुष्प क्षेत्रलाई अहिले प्रादेशिक सरकारअन्तर्गत राखिएको जानकारी दिए ।
उद्योग बाणिज्य महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठले नेपालमा वार्षिक दुई सय करोड रुपैयाँको पुष्पको कारोबार हुने गरेको जानकारी गराए ।
भ्यालेन्टाइन डे, तिहार र जाडो याममा हुने पुष्पको आयात दरलाई विस्थापन गर्न जग्गा, प्रविधि, बीउ र भण्डारणको अभाव रहेको भन्दै श्रेष्ठले खेर गइरहेको र बाँझो अवस्थामा रहेका २५ सयदेखि ३५ सय उचाईको जग्गा सहुलियत दरमा भाडामा राज्यले उपलब्ध गराउन सके यो क्षेत्रले वार्षिक १० अर्बभन्दा बढी मूल्यको कारोबार गर्न सक्ने सुझाव दिए ।
यो बर्षको तीन दिने मेलामा करिव ५० हजार अवलोकनकर्ताद्वारा अवलोकन हुने तथा ६० लाख बराबरको व्यवसायीक कारोबार हुने अपेक्षा गरिएको छ ।
गत बर्ष भएको ४ दिने २१ औं फ्लोरा एक्स्पोमा ६५ हजार अवलोकन कर्ताहरुले मेला अवलोकन भएको तथा ७५ लाखको व्यवसायीक कारोबार भएको थियो ।
नेपाली पुष्प व्यवसाय आ.ब. २०७३÷७४ सम्म आई पुग्दा हाल ४३ जिल्लामा लगभग ६९७ पुष्प व्यवसाय बिस्तार भईसकेको छ ।
करिव १५३ हेक्टर क्षेत्रफलमा पुष्प व्यवसाय भईरहेको र ४३,५०० भन्दा बढि व्यक्ति प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा आश्रित र रोजगारी उपलब्ध गराई रहेको छ ।
FACEBOOK COMMENTS