काठमाण्डौं –नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले सार्क राष्ट्रका लगानी कर्तालाई नेपालमा लगानी गर्न आग्रह गरेकी छन् ।
भारतको नया दिल्लीमा आयोजना सार्क विकास कोषको सम्मेलनलाई सम्बोधन गर्दै उनले नेपालमा लगानी गर्न आग्रह गरेकी हुन् ।
सार्क सदस्य राष्ट्रका सरकारी तथा निजी क्षेत्रका प्रतिनिधिहरू, नीति निर्माताहरू, अर्थशास्त्रीहरू, सार्क सचिवालय, सार्क उद्योग वाणिज्य संघको सहभागिता रहेको उक्त सम्मेलनको दोस्रो प्राविधिक सत्रमा सामाजिक शीर्षक अन्तरगत गरिवी निवारण, मानव विकास, शिक्षा, स्वास्थ्य आदि क्षेत्रमा सह–वित्तियकरणका लागि सम्भावित परियोजनाहरूको विषयक विशेष सत्रलाई संबोधन गर्दै अध्यक्ष राणाले उक्त कुरा बताएकी हुन ।
उक्त सत्रमा नेपालको निजी क्षेत्रको धारणा राख्दै अध्यक्ष राणाले क्षेत्रीय आर्थिक विकासका लागि पूर्वाधार विकासमा जोड दिइन् । दक्षिण एशियाली राष्ट्रहरूको अर्थतन्त्रमा साना तथा मझौला उद्योगहरूको निकै ठूलो योगदान रहेकाले एसएमइजहरूलाई पछिल्लो प्रविधिहरूले सुसज्जित बनाउन र यस क्षेत्रमा प्रविधि आदान प्रदानमा विशेष जोड दिनुपर्ने अध्यक्ष राणाले सुझाव दिईन ।
नेपाल दक्षिण एशियामा लगानीका लागि उर्वर क्षेत्र रहेकाले पर्यटन, पूर्वाधार, जलस्रोत, कृषि लगायतका महत्वपूर्ण क्षेत्रमा लगानी गर्न पर्याप्त अवसर रहेको जानकारी गराईन । अध्यक्ष राणाले सदस्य राष्टहरू बीच सम्पर्क (जल, स्थल, हवाई) विस्तार, सहज आवागमन तथा सिमापार व्यापारमा पनि जोड दिईन । साथै उनले क्षेत्रीय स्तरमा अन्तराष्ट्रिय मान्यता प्राप्त प्रयोगशालाको विस्तार, महिला शसक्तिकरण तथा समावेशी अर्थतन्त्रको विकासमा पनि आफ्नो धारणा राखिन् ।
उक्त सम्मेलनमा सह–वित्तियकरणका लागि पर्यटन, साना तथा मझौला उद्यम(एसएमइज), कृषि, क्षेत्रीय प्रयोगशाला, उर्जा लगायतका सम्भावित क्षेत्रमा परियोजनाहरू प्रस्ताव गरिएको छ ।
अध्यक्ष राणास“गै उक्त सम्मेलनमा महासंघका विशिष्ट सदस्य, पूर्व अध्यक्ष एवं सार्क उद्योग वाणिज्य संघका उपाध्यक्ष चण्डिराज ढकाल, सार्क उवासंघका सदस्य वासुदेव गौतम र निमित्त महानिर्देशक गोपाल प्रसाद तिवारीले भाग लिएका छन्
FACEBOOK COMMENTS