काठमाडौं, भदौ २६। सेयर बजार लगानीकर्ताको समुहले अर्थमन्त्री डा.युवराज खतिवडालाई बर्खास्त गर्न माग गरेका छन्। लगानीकर्ताको समुहले एक भेलाको आयोजना गरी आफ्ना ३ बुँदे माग सार्वजनिक गर्दै पहिलो बुँदा मार्फत अर्थमन्त्रीलाई बर्खास्त गर्ने जनाएको हो।
अर्थ मन्त्रालयले २०७६ मसान्त भित्रमा गर्नुपर्ने गरि तोकिएको ५८ बुँदे सुधारका कामहरु नगरेका कारण पुँजी बजारमा गम्भीर आएको भन्दै लगानीकर्ताहरुले यतो निर्णय लिएको बताए ।
पुँजी बजार निरन्तर घटेर खरबौं सम्पति नोक्सानी भइसक्दा पनि सरकारले सुधारका लागि कुनै पनि सम्बोधन नगरेको भन्दै लगानीकर्ताहरु एकाएक जागेका छन् । लगानीकर्ताको मागको पहिलो नम्बर बुँदामै अर्थमन्त्री युवराज खतिवडालाई बर्खास्त गरिनुपर्ने भन्ने छ ।
खतिवडाले पुँजी बजार सुधारका कुनै पनि कार्यक्रम नगरेको उल्टै लगानीकर्ताको मनोबल खस्किने गरी सार्वजनिक कार्यक्रममा भाषण गर्ने गरेको भन्दै लगानीकर्ता आक्रोशित बनेका हुन् । बजार पुँजीकरण निरन्तर घटेर १४ खर्ब हाराहारीमा आइसक्दा समेत खतिवडाले सेयर बजार सम्बन्धी उल्टो नीति र व्यहार प्रदर्शन गरेको आरोप लगाइएको छ ।
यसैगरी, सरकारलाई दबाब दिन आगामी बिहीबार लगानीकर्ताहरुले नेप्से कार्यालयमा भेला डाकेका छन् । माग पूरा नगरिए थप सशक्त आन्दोलन गरिने लगानीकर्ताहरुको भनाई छ ।


