एमालेमा ‘आफ्नालाई काखा अरूलाई पाखा’
काठमाडौँ । नेकपा एमालेको दोस्रो केन्द्रीय कमिटी बैठकबाट आफ्नालाई काखा र अरूलाई पाखा लगाउने काम भएको छ । कमिटीको बैठकबाट वरीयताक्रम निर्धारण, स्थायी कमिटी, पोलिटब्युरो गठन तथा १० प्रतिशत केन्द्रीय सदस्य मनोनयन प्रकृयामा पार्टी अध्यक्ष केपी शर्मा ओलीले विगतमा आफूलाई साथ दिनेलाई काखी च्यापेका छन् ।
पार्टीमा शक्तिशाली अध्यक्षको हैसियतबाट केन्द्रीय कमिटीको बैठकमा पेस गरेका नामहरूले ओलीले विगतमा आफूलाई साथ दिने नेताहरूलाई च्यापेको पुष्टि भएको छ । उनले केन्द्रीय सदस्यको मनोनयन तथा स्थायी कमिटी गठन र पोलिटब्युरो गठनमा विगतको जिम्मेवारीलाई समेत ध्यान नदिई नेताहरूलाई जिम्मेवारी दिइएको छ ।
भक्तपुरमा जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले ८० जना पोलिटब्युरो सदस्य प्रस्ताव गरेका थिए। एमालेको विधानमा ९९ सदस्यीय पोलिटब्युरो रहने व्यवस्था छ। अध्यक्ष ओलीसहित १९ जना पदाधिकारी स्वतः पोलिटब्युरोमा रहने भएकाले ८० जना प्रस्ताव गरेका हुन्।
नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकले १९ जना पदाधिकारीको मर्यादाक्रम तोकिएको छ। जसमा अध्यक्ष ओली पहिलो र सचिव पद्मा अर्याल १९ औं नम्बरमा परेका छन्। उपाध्यक्षमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्यपछि ओलीले रामबहादुर थापालाई तेस्रो मर्यादाक्रममा राखेका छन्।

त्यसपछि विष्णु पौडेल, सुवास नेम्वाङ र सुरेन्द्र पाण्डेको मर्यादाक्रम तोकेका छन्। सचिवको माथिल्लो वरीयतामा टोपबहादुर रायमाझीलाई राखिएको छ। उनीपछि लेखराज भट्टको मर्यादाक्रम तोएिको छ।

नवौं महाधिवेशनमा हारेका रघुवीर महासेठलाई अघिल्ला सचिवहरू गोकर्ण विष्ट र योगेश भट्टराईभन्दा अघि राखेका छन्। त्यस्तै छविलाल विश्वकर्मालाई पनि विष्ट र भट्टराईभन्दा अघिल्लो मर्यादाक्रम दिइएको छ।

यो सँगै नेताहरूको जिम्मेवारी पनि तोकिएको छ। अध्यक्ष ओलीले पार्टीको समग्र पक्ष हेर्ने गरी तोकिएको छ। वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई नीति अनुसन्धान प्रतिष्ठान, उपाध्यक्ष युवराज ज्ञवालीलाई स्थानीय तह, प्रदेश र संघ,अष्टलक्ष्मी शाक्यलाई राजनीतिक समन्वय, रामबहादुर थापालाई राष्ट्रिय सुरक्षा,विष्णु पौडेललाई पार्टी संगठन अनुगमन, सुवास नेम्वाङलाई संसदीय अनुगमन, सुरेन्द्र पाण्डेलाई राजकीय मामिलाको जिम्मेवारी,महासचिव शंकर पोखरेललाई समग्र पार्टी,प्रदीप ज्ञवालीलाई स्कुल विभाग, पृथ्वीसुब्बा गुरुङलाई प्रचार विभाग, विष्णु रिमाललाई आर्थिक लेखाको जिम्मेवारी दिइएको छ।
त्यस्तै स्वास्थ्य तथा जनसंख्या विभागको प्रमुखमा योगेश भट्टराई र कार्यालय सचिवमा भीष्म अधिकारी र संगठन विभागमा खगराज अधिकारीलाई जिम्मेवारी दिइएको छ। सचिव रघुवीर महासेठलाई प्रदेश २ को इन्चार्ज दिइएको छ। स्थायी कमिटी सदस्य काशीनाथ अधिकारीलाई वाग्मती प्रदेशको इन्चार्ज दिइएको छ। सचिव छविलाल विश्वकर्मालाई लुम्बिनी प्रदेश, लेखराज भट्टलाई सुदूरपश्चिम प्रदेशको इन्चार्ज दिइएको आजको नागरिक दैनिकमा समाचार छ ।