काठमाण्डौं – सरकारले रेलमार्ग निर्माणलाई प्रमुख प्राथमिमकतामा राखेर निर्माण प्रक्रिया अगाडि बढाएको छ।
आगामी छ महिनाभित्रै केरुङ–काठमाडौं रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) तयार भई निर्माणको ढाँचा टुंगो लगाइने भएको छ।
पूर्व सम्भाव्यता अध्ययनको काम सकिएको र केही समयभित्रै डिपिआरका लागि छलफल भई अन्तिम निष्कर्ष निकाल्ने तयारी गरिएको हो ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सो रेलमार्गको विषयमा केही समयभित्रै आवश्यक तयारी पूरा हुने जानकारी दिए।
उनले सो रेलमार्गको लागत हालको मूल्यका आधारमा तीन खर्ब बराबर हुने जानकारी दिँदै कुन आधारमा कसरी लगानी जुटाउने भन्ने बारेमा सरकारले शीघ्र निर्णय गर्नेसमेत बताए।
नेपालले सुरुङमार्ग निर्माणलाई समेत विशेष प्राथमिकतामा राखेको उल्लेख गर्दै केही आयोजनासमेत सुरू भएको उनले बताए।
चीन र भारतलाई जोड्न भौतिक पूर्वाधार र सम्पर्क सञ्जाल विस्तारमा लागिपरेको, निजी क्षेत्रलाई समेत साथमा लिएर भौतिक पूर्वाधारको क्षेत्रमा काम गरिरहेको उनको भनाइ थियो। पूर्व–पश्चिम रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको छ।
‘स्ट्याण्डर्ड गेज’मा निर्माण हुने सो रेलमार्गको कूल लम्बाइ एक हजार १०० किलोमिटर बराबरको हुनेछ। उत्तर–दक्षिण जोड्ने विभिन्न सडक आयोजनाको कामसमेत अगाडि बढेको छ। चीन र भारतलाई जोड्ने भौतिक पूर्वाधारको विकासका विभिन्न सञ्जालसमेत अगाडि बढेका छन्। रासस
FACEBOOK COMMENTS