काठमाडौं, कात्तिक २० – बुधबार राजधानीको कोटेश्वरस्थित एक गेष्ट हाउसमा एक युवती मृत फेला परेकी छन् । गेष्टहाउसको २०४ नम्बर कोठामा ललितपुर सुनाकोठीकी २५ वर्षीय शुभलक्ष्मी अधिकारी मृत फेला परेकी हुन् ।
काठमाडौं महानगरपालिका–३२ कोटेश्वर महादेवस्थान नजिकको पाथीभरा भोजनालय एण्ड हाउसमा अधिकारी मृत अवस्थामा भेटिएकी महानगरीय प्रहरी प्रभाग कोटेश्वरका प्रहरी निरीक्षक राजन लामाले जानकारी दिए ।
लामाका अनुसार अधिकारी मंगलबार राति सो होटलमा आएर बसेको अनुसन्धानबाट खुलेको छ । ‘बुधबार बिहान अबेरसम्म पनि तल नझरेपछि स्टाफले गएर हेर्दा उनी मृत फेला परेकी हुन्,’ लामाले भने ।
उनको मृत्युको कारण भने पुष्टि भइसकेको छैन । यद्यपी अधिकारीको साथबाट लागुऔषध नाइट्रोभेट पनि भेटाएको लामाले बताए । अधिकारीको शव पोष्टमार्टमको लागि महाराजगञ्जस्थित टिचिङ अस्पतालमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
FACEBOOK COMMENTS