काठमाडौं, माघ १३ -चीनमा कोरोनोभाइरसको सङ्क्रमणका कारण मृत्यु हुने व्यक्तिको सङ्ख्या ८० पुगेको अधिकारीहरूले बताएका छन्।अहिलेसम्म झन्डै ३,००० जनामा उक्त भाइरसको सङ्क्रमण भएको पुष्टि भएको छ।
हुबेइ प्रान्तको वुहानसहितका शहरमा ज्यान गुमाउनेको संख्या ५६ बाट ७६ पुगेको र अरु चारजनाको देशका अरु क्षेत्रमा मृत्यु भएको चीनको स्वास्थ्य संगठनले सोमबार बताएको छ ।
गत डिसेम्बरमा चीनको वुहानमा देखापरेको सो भाइरस यतिखेर चीनका अन्य शहरहरुमा पनि फैलिँदै गएको छ भने चीन बाहिर पनि त्यस भाइरसबाट संक्रमित रोगीहरु फेला परिरहेका छन् ।
भाइरसका कारण चीनका कतिपय शहरहरुमा आवातजावातमा कडाइ गरिएको छ । वुहानमा सार्वजनिक यातायात, स्कुल, कलेज, प्रतिष्ठानहरु बन्द गरिएका छन् । वुहान शहरमा जान र त्यहाँबाट बाहिर आउन प्रतिबन्ध लगाइएको छ । यतिखेर चीनका करिब ६ करोड जनताहरुका जनजीवन यसै भाइरसका कारण नराम्ररी प्रभावित भएको छ ।
सङ्क्रमणको केन्द्रमा रहेको वुहान प्रान्तमा चीनले २,००० शय्याका दुईवटा अस्पतालको निर्माण हुँदैछ गदैंछ । स्वास्थ्यसेवाका पाँच लाख कर्मचारीलाई उक्त भाइरसको रोकथाम, नियन्त्रण र उपचार गर्न परिचालित छन्। थप मास्क तथा सुरक्षित पोसाक बनाउन कारखानाहरूमा तीव्र गतिमा काम भइरहेको छ।
सरकारले कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गर्न नयाँ वर्षको बिदा लम्ब्याउने घोषणा गरेको छ। ज्यानुअरी ३० सम्म रहेको चिनियाँ नयाँ वर्षको बिदा अब फेब्रुअरीको दोस्रो सातासम्म लम्ब्याइएको छ।
कोरोना भाइरसको संक्रमण चीनमा मात्रै सीमित भएको छैन । चीनबाट आएका एक नेपालीमा यसको संक्रमण पुष्टि भएको छ । यस्तै अरु दुईजनामा पनि संक्रमणको आशंका गरिएको छ । यस्तै अमेरिका, फ्रान्स, दक्षिण कोरिया, थाइल्याण्डसहितका देशमा पनि संक्रमण देखिएको छ ।
FACEBOOK COMMENTS