काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको गढीमाई नगरपालिकाका मेयर श्यामप्रसाद यादवसहित चार जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ।
नदीजन्य पदार्थको ठेक्का प्रक्रियामा अनियमितता गरी सरकारी राजस्व हिनामिना गरेको आरोपमा आयोगले मंगलबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दर्ता गरेको हो।
आयोगका अनुसार आर्थिक वर्ष २०७६/७७ मा समनपुरघाट क्षेत्रबाट बालुवा, गिट्टी र ग्राभेल उत्खननका लागि दिइएको ठेक्कामा गम्भीर अनियमितता भएको पाइएको छ। अनुसन्धानका क्रममा ठेक्का लिएको भाग्यमणी कन्स्ट्रक्सन प्रालिले कबोल गरेको सम्पूर्ण रकम नगरपालिकामा दाखिला नगरी झुटा बैंक भौचर र गलत विवरणका आधारमा ठेक्का सम्झौता गरिएको खुलेको आयोगले जनाएको छ।
यस प्रकरणमा मेयर श्यामप्रसाद यादव, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत सुवासकुमार ठाकुर, तत्कालीन राजस्व शाखा प्रमुख बालकिशोर राय तथा भाग्यमणी कन्स्ट्रक्सनका प्रतिनिधि राधेश्याम साहलाई प्रतिवादी बनाइएको छ।
अनुसन्धानअनुसार भाग्यमणी कन्स्ट्रक्सनले ३ करोड २५ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको भए पनि तोकिएको समयभित्र जम्मा ८४ लाख ६३ हजार रुपैयाँ मात्रै बुझाएको थियो। बाँकी रकम पनि दाखिला भएको देखाउने गरी झुटा प्रतिवेदन तयार पारेर नगरपालिकाका पदाधिकारी र कर्मचारीको मिलेमतोमा ठेक्का सम्झौता गरिएको अख्तियारको दाबी छ।
त्यसपछि सम्झौताअनुसार एक महिनामा १० हजार घनमिटर नदीजन्य पदार्थ उत्खनन गर्न पाउने अनुमति दिइएकोमा कम्पनीले ५४ हजार ३५५ घनमिटर उत्खनन गरेको अनुसन्धानबाट खुलेको छ।
यसबाट कम्पनीले ३ करोड ३२ लाख रुपैयाँभन्दा बढी आर्थिक लाभ लिएको भए पनि नगरपालिकामा आवश्यक राजस्व जम्मा नगरिँदा सरकारी कोषमा २ करोड ५७ लाख ६२ हजार रुपैयाँ बराबरको नोक्सानी पुगेको अख्तियारको निष्कर्ष छ।
उक्त रकम बराबरको बिगो असुल गरी भ्रष्टाचार निवारण ऐनअनुसार सजायको माग गर्दै आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको जनाएको छ।