काठमाडौं – भारतले नवनिर्मित जनकपुर– जयनगर रेल मार्गका लागि आवश्यक रेल लिजमा दिने सहमति जनाएको छ ।
रेल लिजमा दिन नेपालले राखेको प्रस्तावमा भारतले सहमति जनाएको हो ।
भारतले आफ्नो विदेश मन्त्रालयमार्फत केही दिनअघि नेपाललाई पत्राचार गरी लिजमा रेल दिन सहमति जनाएको रेल विभागले वताएको छ ।
नेपालले लिजमा लिने रेल भारतीय सार्वजनिक संस्थानअन्तर्गतको रेल हुनेछ । यसका लागि भारतीय संस्थान अन्तर्गतका दुईवटा कम्पनीसँग अनौपचारिक रूपमा छलफल भइरहेको छ । अब औपचारिक छलफल गरी लिजका विषयमा टुंगो लाग्ने छ ।
सो छलफलमा रेलको भाडा, सञ्चालन मोडालिटी, रेलको नियमित मर्मत, यात्रुसँग उठाउनुपर्ने भाडादर, नेपाली प्राविधिक तथा सञ्चालन गर्ने टिमलाई दिनुपर्ने तालिमजस्ता विषयमा सहमति गरीने भएको छ । सबैभन्दा सस्तो दरमा नेपाललाई रेल उपलब्ध गराउने कम्पनीसँग नै लिज सम्झौता गरिनेछ । लिजमा रेल लिने, सञ्चाल गर्ने र मर्मत गर्न दुई छुट्टै कम्पनी वा एउटै कम्पनीसँग पनि सम्झौता गर्न सकिने छ ।
सो रेलमार्गमा एक ट्रिपमा चार सयसम्म यात्रु क्षमताको रेल चलाउने तयारी छ ।
अवको एक महिनाभित्रमा यो विषयको निष्कर्ष निकालि अर्को महिनाभित्र रेल सेवा सञ्चालनमा ल्याउने लक्ष्यरहेको रेल विभागले जनाएको छ ।
कुर्था–जनकपुर–जयनगर ३५ किलोमिटर रेलमार्गमा तत्काल भाडाकै रेल चलाउने भए पनि त्यसमा नेपाली झन्डा फहराउने विभागको तयारी छ । भारतकै ७ अर्ब रुपैयाँ अनुदानमा निर्माण भएको सो ब्रोडगेज रेलमार्गमा भारतकै रेल चल्ने भएको हो ।
FACEBOOK COMMENTS