काठमाडौँ — दुग्ध विकास संस्थान (डीडीसी) ले दुग्ध उत्पादक सहकारीलाई प्रतिलिटर दूधमा ३ रुपैयाँका दरले दिँदै आएको वार्षिक ५ करोड रुपैयाँ ‘अतिरिक्त रकम’ कटौती गरेको छ ।
अब उप्रान्त दूधमा अतिरिक्त सकमको सट्टा दाना उपलब्ध गराउने भएको छ ।
यो रकम सबै सहकारीलाई नभई गुणस्तरीय शुद्ध दूध उपलब्ध गराउने सहकारीलाई मात्रै दिइने हो ।
यो निर्णय आउनुअघि डीडीसीले छ जिल्लाका दैनिक कम्तीमा ५ हजार लिटर दूध डीडीसीलाई उपलब्ध गराउने दुग्ध उत्पादक सहकारीलाई मात्रै प्रतिलिटर ३ रुपैयाँ अतिरिक्त रकम दिँदै आएको थियो ।
यो अतिरिक्त रकमको सट्टा दाना दिने निर्णय गरिएको हो ।
यसबाहेक सहकारी सञ्चालनका लागि उपलब्ध गराउँदै आएको प्रतिलिटर ३ रुपैयाँ भने कटौती गरेको छैन ।
डीडीसीले विज्ञप्तिमार्फत अतिरिक्त मूल्य स्थगन गर्दै अब उप्रान्त दूधको शुद्धता र गुणस्तरमा आधारित भई आफ्नै ब्रान्डको ‘डीडीसी पशु आहारा’(दाना) वितरण गर्ने भनेको छ ।
यो प्रणालीबारे अध्ययन गर्न डीडीसीको सञ्चालक समितिका सदस्य डा. विशाल बास्तोलाको संयोजकत्वमा अध्ययन समिति पनि बनाइएको छ ।
२०७५ असार १६ गतेदेखि लागू हुने गरी अतिरिक्त मूल्य स्थगित गरी अब उप्रान्त उपलब्ध गराइने अतिरिक्त मूल्य परिणामको आधामा नगरी दूधको शुद्धता र गुणस्तरमा आधारित बनाउन अध्ययन भइरहेको डीडीसीका सूचना अधिकारी सुभाष भट्टराईद्वारा शुक्रबार जारी विज्ञप्तिमा उल्लेख छ ।
— कान्तिपुर
FACEBOOK COMMENTS