काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले युरोपेली सङ्घ (इयू)ले नेपाली जहाजलाई युरोपका आकाशमा गर्दै आएको प्रतिबन्ध चाँडै हट्ने बताएका छन् ।
मन्त्री अधिकारीले इयूका पदाधिकारीसँग हालै भएको छलफलका आधारमा प्रतिबन्ध हट्ने विश्वास व्यक्त गरे ।
उनले अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन(आइकाओ)ले गम्भीर सुरक्षा चासोलाई हटाइसकेको अवस्थामा आइकाओ मातहतको इयूले नेपाललाई कालोसूचीमै राखिराख्नुपर्ने कारण नभएको बताए ।
सन् २०१३ को डिसेम्बरदेखि इयूले नेपाललाई उडान प्रतिबन्ध गर्दै आएको थियो । उसले एक साताअघि सार्वजनिक गरेको उडान प्रतिबन्ध हुने देशको सूचीमा नेपालसहित १५ देशलाई समावेश गरेको छ ।
सन् २०१३ मै आइकाओले सुरक्षा चासो राखेकामा गत वर्ष हटाएको थियो ।
मन्त्री अधिकारीले इयूले हटाएन भनेर बस्ने भन्दा पनि वैकल्पिक उपाय खोजेर नेपाल वायु सेवा निगमलाई प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्नेमा जोड दिए ।
FACEBOOK COMMENTS