काठमाडौं । सन् २०२६ को फिफा विश्वकपका लागि फ्रान्सले आफ्नो अन्तिम टोली घोषणा गरेको छ । मुख्य प्रशिक्षक डिडिएर डेसचाम्पले प्रारम्भिक ५५ खेलाडीको सूची सार्वजनिक नगरी सिधै २६ सदस्यीय टोली घोषणा गरेका हुन् । आगामी विश्वकप अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा आयोजना गर्दैछन् ।
फ्रान्सेली टोलीबाट मिडफिल्डर एडुआर्डो कामाभिङ्गा बाहिरिनु सबैभन्दा ठूलो आश्चर्यका रूपमा हेरिएको छ । प्रशिक्षक डेसचाम्पले कामाभिङ्गाले कठिन सिजन बिताएको र चोटका कारण कम खेल खेलेको बताएका छन् । उनले कामाभिङ्गा अझै युवा रहेको भन्दै भविष्यमा अवसर रहने संकेत पनि गरे ।
फ्रान्सेली टोलीको नेतृत्व कप्तान किलियन एम्बाप्पेले गर्नेछन् । टोलीमा उस्मान डेम्बेले, ब्राड्ली बारकोला, ओरेलियन चुआमेनी, विलियम सालिबा, माइकल ओलिसे र देजिरे दोउएजस्ता चर्चित तथा युवा खेलाडी समावेश छन् ।
फ्रान्सको विश्वकप टोलीमा गोलरक्षकतर्फ माइक मेगनान, रोबिन रिसेर र ब्रिस साम्बा रहेका छन् । रक्षापंक्तिमा मालो गुस्टो, माक्साँस लाक्रोआ, जुल्स कुन्डे, लुकास डिन्ये, इब्राहिमा कोनाते, विलियम सालिबा, दायो उपामेकानो, लुकास हर्नान्डेज र थेओ हर्नान्डेज समावेश छन् । मिडफिल्डमा ओरेलियन चुआमेनी, आद्रियन राबियो, एनगोलो कान्टे, मानु कोने र वारेन जाइरे एमरी रहेका छन् ।
आक्रमण पंक्तिमा उस्मान डेम्बेले, ब्राड्ली बारकोला, जाँ फिलिप माटेटा, रायान शेर्की, मार्कस थुराम, माग्नेस आक्लिउस, देजिरे दोउए, किलियन एम्बाप्पे र माइकल ओलिसे रहेका छन् ।

फ्रान्स विश्वकपमा समुह आइमा रहेको छ । फ्रान्सले समुह चरणमा जुन १६ मा सेनेगलसँग खेल्दै विश्वकपको शुरुवात गर्ने छ । त्यस्तै जुन २२ मा इराकसँग जुन २६ मा नर्वेसँग खेल्ने तालिका रहेको छ ।
