काठमाडौं । काठमाडौंको बल्खु र वंशीघाट क्षेत्रका ७२ जनाले आफ्नो घर, जग्गा र पैतृक सम्पत्ति नभएको र न्यून आयस्रोत भएको भन्दै विवरण टिपाएका छन् ।
स्वेच्छिक सहभागिता र तथ्याङ्क: आफ्नो सुरक्षित व्यवस्थापनको खोजीमा अहिलेसम्म ७२ जनाले स्वेच्छिक रूपमा रंगशाला पुगेर आफ्नो विवरण दर्ता गराइसकेको सरकारका प्रवक्ता सस्मित पोखरेलको सचिवालयले जानकारी दिएको छ ।
एकीकृत प्रयास: रंगशालामा शहरी विकास तथा भवन निर्माण विभाग, काठमाडौं उपत्यका विकास प्राधिकरण, अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति र काठमाडौं महानगर प्रहरीको संयुक्त टोलीले अभिभावकीय भूमिकामा विवरण संकलन गरिरहेको छ ।
त्यस्तै स्वास्थ्य र मनोपरामर्श: विवरण संकलनसँगै त्यहाँ आइपुग्नु भएका नागरिकहरूको स्वास्थ्य जाँच र आवश्यक मनोपरामर्श प्रदान गरिँदैछ, जसले उनीहरूमा रहेको त्रासलाई कम गरी आत्मविश्वास जगाउन मद्दत गरेको छ।
साथै आतिथ्य र सम्मान: लामो समयदेखि असुरक्षित र कष्टकर बसोबास गरिरहेका नागरिकहरूलाई सम्मानजनक व्यवहारका साथ खाजा खुवाएर व्यवस्थित तरिकाले ’होल्डिङ सेन्टर’मा लैजाने तयारी गरिएको छ।

सुरक्षित होल्डिङ सेन्टरको व्यवस्था: विवरण संकलनपछि उहाँहरूलाई तत्कालका लागि ललितपुरको धापाखेलस्थित टेवा कार्यालय, भक्तपुरको खरिपाटीस्थित विद्युत तालिम केन्द्र, बोडेस्थित कृषि विकास बैंक तालिम केन्द्र, नगरकोट खानेपानी तालिम केन्द्र र काभ्रेको बनेपास्थित रेडक्रस भवनमा व्यवस्थापन गर्ने तयारी भएको छ ।
