काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को आगामी २१ र २२ गते हुने ६०औँ वार्षिक साधारण सभाबाट नयाँ नेतृत्व चयन गर्ने तयारी छ ।
नेतृत्व चयनका लागि महासंघको निर्वाचन समितिले विभिन्न १६ वटा बुँदामा व्यवस्थित गरिएको निर्वाचन कार्यक्रम सञ्चालन गरिरहेको छ । सोही अनुसार महासंघले आज सोमबार उक्त कार्यक्रमको बुँदा नं. ६ मा उल्लेख भएको उम्मेदवारहरूको दोस्रो सूची सार्वजनिक गरेको छ ।
उक्त सूचीमा दुई जना उम्मेदवारको कलष्टर परिवर्तन गरिएको छ भने एक जना उम्मेदवारको नाम थप गरिएको छ । जस अनुसार जिल्ला/नगरतर्फ खुला सदस्य पदमा उम्मेदवारी दिएकी सुष्मा महरालाई सोही समूहको महिला कलष्टरमा र जितबहादुर कार्कीलाई कोशी प्रदेश कलष्टरमा सारिएको छ ।
उम्मेदवारी सच्याउन परेको निवेदनका आधारमा उनीहरूको कलष्टर परिवर्तन गरिएको निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत लीलामणि पौडेलले जानकारी दिए । उनका अनुसार कोशी प्रदेश कलष्टरमै दीपक बस्नेतको उम्मेदवारी थप गरिएको छ ।
पथरी उद्योग वाणिज्य संघबाट मनोनयन भएका बस्नेतले तोकिएको समयभित्रै ई–मेलमार्फत उम्मेदवारी दर्ता गराएका थिए । तर, उक्त मनोनयनपत्र ई–मेलमा जङ्क भएकाले पहिलो सूचीमा समावेश गरिएको थिएन । ‘सम्बन्धित उम्मेदवारको जानकारीपछि खोजी गर्दा उहाँको उम्मेदवारीपत्र ई–मेलको जङ्कमा गएर बसेको रहेछ । अहिले अद्यावधिक गरेका हौँ,’ निर्वाचन अधिकृत पौडेलले कर्पोरेट खबरसँग भने ।

यस्तै आज प्रकाशित सूची अनुसार जिल्ला/नगर समूहमा कर्णाली प्रदेशबाट निर्वाचित हुने दुई जना सदस्य सर्वसम्मत निर्वाचित भएका छन् ।

यो पनि पढ्नुहोस्–

उद्योग वाणिज्य महासंघमा जिल्ला नगरतर्फका दुई सदस्य सर्वसम्मत
उद्योग वाणिज्य महासंघको निर्वाचन : उम्मेदवारहरूको दोस्रो सूची प्रकाशित (सूचीसहित)