काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज अन्तर्राष्ट्रिय श्रमिक दिवस र बुद्ध जयन्तीको सार्बजनिक बिदाका दिन पनि सरकारी अस्पतालमा बहिरङ्ग सेवा (ओपिडी) सञ्चालन गर्न गरेको निर्णयप्रति नेपाल चिकित्सक संघले आपत्ति जनाएको छ ।
संघले मन्त्रालयले जारी गरेको विज्ञप्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । मन्त्रालयले वैशाख १८ गते देशभरका सबै सरकारी अस्पतालमा बहिरङ्ग सेवा सञ्चालन गर्न अनुरोध गरेको थियो ।
संघका अनुसार चिकित्सक तथा स्वास्थ्यकर्मी पनि श्रमिक नै भएकाले श्रमिक दिवसको बिदाका दिन समेत बहिरङ्ग सेवा सञ्चालन गर्नु अन्यायपूर्ण हुने ठहर गरिएको छ । अस्पतालमा आकस्मिक लगायत अत्यावश्यक सेवा बिदाका दिन पनि नियमित रूपमा सञ्चालन हुने भएकाले बहिरङ्ग सेवा अत्यावश्यक नभएको संघको भनाइ छ ।
संघले बहिरङ्ग सेवा केही दिन बन्द हुँदा स्वास्थ्य सेवामा ठूलो असर नपर्ने उल्लेख गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दिवसमा अन्य पेशाकर्मीसरह बिदा दिने प्रचलन रहेको जनाएको छ । अन्य चाडपर्वमा समेत तीन दिन वा सोभन्दा बढी बिदा हुने उदाहरण दिँदै मन्त्रालयको निर्णय अव्यावहारिक र अवैज्ञानिक रहेको संघको निष्कर्ष छ ।
यसैबीच संघले उक्त निर्णय तत्काल फिर्ता लिन माग गर्दै वैशाख १८ गते बहिरङ्ग सेवा बन्द गरी चिकित्सक तथा स्वास्थ्यकर्मीको बिदा कायम गर्न सरकारसँग जोडदार माग गरेको छ ।

आज ओपीडी बन्द नगर्न अस्पताललाई निर्देशन