काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसहित तीनजना र परामर्शदाता एलाइड इन्जिनियरिङ प्रा.लिविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
उनीहरूले ३९ लाख ४० हजार ३०९ रुपैयाँबराबरको सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोप लगाउँदै अख्तियारले बुधबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
अख्तियारले मुद्दा दायर गरेका अन्यमा मुगुको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयका तत्कालीन लेखापाल रुनबहादुर सेजुवाल, काठमाडौंको नयाँ बानेश्वरमा कार्यालय रहेको परामर्शदाता एलाइड इन्जिनियरिङ प्रा.लि. र उक्त कम्पनीका प्रबन्ध निर्देशक चन्द्रबहादुर बुढा छन् ।
अख्तियारले दायर गरेको मुद्दामा प्रत्येकसँग ३९ लाख ४० हजार ३०९ रुपैयाँ बिगो मागदाबी गरिएको छ ।
मुगुको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयले कमिसन खाई डीपीआर (डिटेल प्रोजेक्ट रिपोर्ट) तयार गरेको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान अघि बढाएको थियो ।

अनुसन्धान हुँदा आर्थिक वर्ष २०७६/७७ मा खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुले खानेपानी योजनाहरूको डीपीआर निर्माण गर्ने कार्यको लागि परामर्श सेवा खरिद गर्न प्रचलित खरिद कानुनविपरीत प्याकेजिङ गरेको पाइएको अख्तियारले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

उनीहरूले फर्जी कागजात तयार गरी मूल्यांकन प्रतिवेदन तयार गरेको र सोको आधारमा झुट्टा बिल भरपाई बनाई ३९ लाख ४० हजार ३०९ रुपैयाँ सरकारी सम्पत्ति हिनामिना गरेको अख्तियारले जनाएको छ ।
