काठमाडौं । यस वर्षको मनसुन नेपालबाट पूर्ण रूपमा बाहिरिन अझै केही दिन लाग्ने भएको छ।
पश्चिमी क्षेत्रबाट मनसुन बाहिरिइसकेको भए पनि पूर्वी भूभागमा यसको आंशिक प्रभाव कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाकी मौसमविद् माधवी सिग्देलका अनुसार मनसुन बाहिरिन आवश्यक वातावरण क्रमश: तयार भइरहेको छ। मौसमको अवस्थालाई निरन्तर निगरानी गरिरहेको बताउँदै उनले आगामी दुईदेखि चार दिनभित्र मनसुन पूर्ण रूपमा बाहिरिन सक्ने जानकारी दिइन्।
मनसुन पूर्ण रूपमा बाहिरिएपछि महाशाखाले विशेष बुलेटिन जारी गरेर औपचारिक जानकारी दिने उनले बताइन् । महाशाखाले यसअघि असोज १७ गते सुदूरपश्चिम, कर्णाली, लुम्बिनीको पश्चिमी भूभागका अधिकांश स्थान तथा गण्डकीको पश्चिमी क्षेत्रका केही स्थानबाट मनसुन बाहिरिएको घोषणा गरेको थियो। त्यसयता भने मनसुन बाहिरिएको सम्बन्धमा अर्को बुलेटिन जारी भएको छैन।
दुवै वायुको प्रभाव कमजोर

मौसमविद् सिग्देलका अनुसार अहिले पश्चिम नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ भने पूर्वी क्षेत्रमा मनसुनी वायुको प्रभाव कायम छ। दुवै वायु प्रणाली प्रभावशाली भइनसकेकाले देशभर वर्षाको गतिविधि न्यून रहेको उनले बताइन् । पश्चिमी वायु बलियो हुँदै गएमा वर्षाको गतिविधि बढ्न सक्ने भए पनि हाल त्यसको प्रभाव सीमित रहेको उनको भनाइ छ।

औसत मितिभन्दा ढिलो मनसुन बाहिरिने संकेत

नेपालबाट मनसुन पूर्ण रूपमा बाहिरिने औसत मिति अक्टोबर २ हो। यद्यपि, यो औसत मिति मात्रै भएकाले मौसमी अवस्थाअनुसार मनसुन बाहिरिने समय अघि वा पछि हुन सक्छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा मनसुनको औसत अवधि ११२ दिन रहेको छ। गत वर्ष मनसुन १३५ दिनसम्म कायम रहेको थियो, जुन हालसम्मको सबैभन्दा लामो अवधि हो। नेपालमा मनसुनसम्बन्धी अभिलेख राख्न थालिएयता सन् १९७९ मा भने यसको अवधि सबैभन्दा छोटो ७३ दिन रहेको थियो।
नेपालमा मनसुन भित्रिने औसत मिति जुन १३ हो। यस वर्ष भने औसत मितिभन्दा छ दिन ढिलो गरी जुन १९ मा मनसुन प्रवेश गरेको थियो।