काठमाडौं । मन्त्री पदमा नियुक्त भएपछि पहिलोपटक गृह जिल्लामा शुभेच्छुकहरुबाट स्वागत तथा बधाईका लागि आएका एक मन्त्रीको पद स्वागत र बधाई पाउँदा नपाउँदै चट भएको छ।
खानेपानी मन्त्री अनिलकुमार झालाई गृह जिल्ला रौतहटको सदरमुकाम गौरमा आयोजित स्वागत सम्मान चलिरहँदा नै सर्वोच्च अदालतको फैसला आएको थियो । स्वागत तथा बधाई र अभिनन्दनको कार्यक्रम चलिरहेकै समयमा मन्त्री पद चट भए पनि कार्यक्रम भने रोकिएको थिएन ।
जसपाको नगर समितिद्वारा गौरमा राखिएको कार्यक्रममा सञ्चालन भइरहेकै समयमा मन्त्री पद चट भएपछि केहीले कार्यक्रम कक्षमै टिप्पणी गरेका थिए । मन्त्रीको स्वागतमा उत्साहित भएर गएको ठूलो समूह भने निराश भएर फर्किएको थियो ।
मन्त्री झा गृह जिल्लामा आउने भएपछि स्वागतको ठूलो तयारी गरिएको थियो । जसपाका कार्यकर्ताहरु ठूलो संख्या चन्द्रपुरसम्म पुगेका थिए। सयौँ गाडीले मन्त्रीलाई स्वागत गर्दै गौरसम्म पु¥याउने क्रममा गरुडामा केही युवाहरुले कालो झन्डा देखाएका थिए । कालो झन्डा देखाउने तीन जनालाई इलाका प्रहरी कार्यालय गरुडाले पक्राउ गरेको नागरिक दैनिकमा छ ।
FACEBOOK COMMENTS