काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेशप्रसाद काफ्ले काठमाडौं उपत्यकामा २० लाखभन्दा बढी सवारीसाधन सञ्चालनमा रहे पनि ट्राफिक प्रहरीले अझै हात र सिठीको भरमा ट्राफिक व्यवस्थापन गर्नुपर्ने अवस्था रहेको बताएका छन् ।
नाइमा नेपाल मोबिलिटी एक्स्पोका अवसरमा आयोजित ‘मोबिलिटी: हिजो, आज र भोलि’ विषयक ‘नाइमा मोबिलिटी संवाद’ मा बुधबार उनले सडकमा सञ्चालन हुने सवारीसाधनको व्यवस्थापन र दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको बताए ।

उनका अनुसार उपत्यकामा सवारीसाधनको सङ्ख्या अत्यधिक भए पनि सोहीअनुसार ट्राफिक व्यवस्थापनका लागि आवश्यक स्रोतसाधन र स्पष्ट कानुनी अधिकार पर्याप्त छैन । उनले ट्राफिक प्रहरीलाई कानुनले के–कस्ता काम गर्ने भन्ने विषयमा स्पष्ट रूपमा अधिकार र जिम्मेवारी तोक्नुपर्ने आवश्यकता रहेको बताए ।
जनमानसमा ट्राफिक प्रहरीले सडकसँग सम्बन्धित सबै समस्या समाधान गर्नुपर्ने बुझाइ रहे पनि कानुनी रूपमा ट्राफिक प्रहरीसँग गलत काम नगर्न निर्देशन दिने र नियम उल्लंघन भएमा जरिवाना गर्नेबाहेकका अधिकार सीमित रहेको उनको भनाइ छ ।
‘ट्राफिक प्रहरी भनेको सरकारले बनाएको कानुनका आधारमा काम गर्ने निकाय हो । हाम्रो उद्देश्य जरिवाना उठाउनु होइन, सबैको सुरक्षा गर्नु हो,’ काफ्लेले भने, ‘कुनै पनि व्यक्ति सडक दुर्घटनाका कारण समस्यामा नपरोस् भन्ने हाम्रो मुख्य लक्ष्य हो ।’

उनले नेपालमा सडक दुर्घटनाको अवस्था गम्भीर बन्दै गएको समेत बताए । उनका अनुसार सडक दुर्घटनामा दैनिक औसत सात जनाको मृत्यु हुने र ५० जनाभन्दा बढी मानिस अंगभंग हुने तथ्यांक रहेको छ । उनले पछिल्लो पाँच वर्षको अवधिमा सडक दुर्घटनामा करिब ६० हजार मानिसले ज्यान गुमाएको तथ्यांक रहेको उल्लेख गर्दै सडक दुर्घटना न्यूनीकरणका लागि सबैले सडक अनुशासन पालना गर्नुपर्नेमा जोड दिए ।
सडक दुर्घटना न्यूनीकरण र प्रभावकारी ट्राफिक व्यवस्थापनका लागि सरकारले ट्राफिक प्रहरीको जिम्मेवारी र अधिकार स्पष्ट रूपमा बाँडफाँड गर्नुपर्नेमा उनले जोड दिए । उपत्यकामा बढ्दो सवारी चाप र सीमित जनशक्ति तथा स्रोतसाधनका बीच ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको भन्दै उनले यसका लागि दीर्घकालीन नीति आवश्यक रहेको बताए ।
‘ट्राफिक प्रहरीलाई एकछिन नदेख्नेबित्तिकै सडक अनुशासन मिच्ने प्रवृत्ति देखिन्छ । तर, हामीले ट्राफिक प्रहरीको उपस्थितिभन्दा पनि आफैंले नियम पालना गर्ने संस्कार विकास गर्नुपर्छ,’ उनले भने । दैनिक सडक दुर्घटनामा ज्यान गुमाउने सात जनाको मृत्यु रोक्न सकिने अवस्था रहेको भन्दै उनले चालक, यात्रु तथा सडक प्रयोगकर्ताले ट्राफिक नियम अनिवार्य रूपमा पालना गर्नुपर्ने बताए ।

काफ्लेले केही चालकले बिहानै लागूऔषध तथा मादक पदार्थ सेवन गरेर सवारी चलाउने गरेको पाइएको भन्दै त्यस्तो कार्य नगर्न आग्रह गरे । उनका अनुसार मादक पदार्थ तथा लागु औषध सेवन गरी सवारी चलाउनु दुर्घटनाको प्रमुख जोखिममध्ये एक हो ।
त्यस्तै, तीव्र गतिका कारण पनि सडक दुर्घटना बढिरहेको भन्दै उनले ओभरस्पिड नियन्त्रण गर्न आवश्यक रहेको बताए । चालकले गति सीमाको पालना गर्ने, लेन अनुशासन कायम गर्ने र मादक पदार्थ तथा लागु औषध सेवन गरेर सवारी नचलाउने हो भने सडक दुर्घटना न्यूनीकरणमा महत्वपूर्ण योगदान पुग्ने उनको भनाइ छ ।
मादक पदार्थ सेवन गरी सवारी चलाउनु गम्भीर अपराध भएको उल्लेख गर्दै उनले कुनै पनि चालकलाई यात्रुको जीवन जोखिममा पार्ने अधिकार नरहेको बताए । ‘मादक पदार्थ सेवन गरेर सवारी चलाउन पाइँदैन । चालकको लापरबाहीका कारण यात्रुको ज्यान जोखिममा पार्ने अधिकार कसैलाई छैन,’उनले भने ।
उनले ट्राफिक प्रहरीले चिट काट्नुको उद्देश्य राजस्व संकलन गर्नु नभई चालकलाई ट्राफिक नियम उल्लंघन गर्दा कारबाही हुन्छ भन्ने डर सिर्जना गरी सडक अनुशासन कायम गराउनु रहेको बताए ।
काफ्लेले विशेषगरी जेब्रा क्रसिङको प्रयोग तथा सडक पार गर्ने क्रममा हुने दुर्घटनाको जोखिम बढी रहेको उल्लेख गर्दै करिब ५ देखि ७ प्रतिशत दुर्घटना जेब्रा क्रसिङसँग सम्बन्धित रहेको तथ्यांक पेस गरे । उनले सबै नागरिकले सभ्य र जिम्मेवार सडक प्रयोगकर्ता बनेर ट्राफिक नियम तथा सडक अनुशासनको पालना गर्नुपर्नेमा जोड दिए ।
उनका अनुसार काठमाडौं उपत्यकामा एक वर्षको अवधिमा १९ जना ट्राफिक प्रहरीले समेत ज्यान गुमाउनुपरेको छ । सडकमा ट्राफिक व्यवस्थापन तथा सवारी जाँचका क्रममा ट्राफिक प्रहरी स्वयं जोखिममा पर्ने गरेको काफ्लेको भनाइ छ ।
एसएसपी काफ्लेले ट्राफिक प्रहरीले समेत गल्ती गरेमा त्यसलाई माफी नदिइने स्पष्ट पारे । ट्राफिक प्रहरीले गर्ने सवारी जाँचलाई अनावश्यक हस्तक्षेपका रूपमा लिन नहुने भन्दै उनले सडक सुरक्षा र दुर्घटना न्यूनीकरणका लागि जाँच आवश्यक रहेको बताए ।
विद्यालयका साना विद्यार्थी बोकेर हिँड्ने सवारीका चालकसमेत लागु औषध तथा मादक पदार्थ सेवन गरेको अवस्थामा भेटिने गरेको उनले बताए। विद्यार्थीको सुरक्षासँग प्रत्यक्ष जोडिएका चालकले यस्तो गम्भीर लापरबाही गर्न नहुने भन्दै उनले मादक पदार्थ वा लागूऔषध सेवन गरेर कुनै पनि हालतमा सवारी नचलाउन आग्रह गरे ।
नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आयोजना गरेको एक्स्पोमा साउन ३१ सम्म हरेक दिन विभिन्न विषयमा संवाद हुनेछ ।