काठमाडौं । स्मार्ट विद्युतीय मोबिलिटी ब्रान्ड नियूले भृकुटीमण्डपमा सुरु भएको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ को अवसर पारेर तीन नयाँ विद्युतीय स्कुटर नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीले आफ्नो पोर्टफोलियो विस्तार गर्ने क्रममा ‘FQiX300’, ‘FX WIND’ र ‘NQiGTS’ मोडेलका स्कुटरहरू सार्वजनिक गरेको हो ।
‘बी इलेक्ट्रिक, बी नियू’ भन्ने नयाँ नाराका साथ प्रस्तुत गरिएका यी स्कुटरले आधुनिक डिजाइन, स्मार्ट प्रविधि र उत्कृष्ट कार्यसम्पादनमार्फत नेपाली उपभोक्तालाई विद्युतीय सवारीको नयाँ अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ ।
एक्स्पोमा सार्वजनिक गरिएका तीन मोडेलमध्ये ‘FQiX300’ लाई नयाँ पुस्ताको स्मार्ट मोबिलिटीका रूपमा चिनाइएको छ । यसमा ३,६०० वाटको रेटेड र ५,६०० वाटको पिक पावर भएको मोटर जडान गरिएको छ ।
७२ भोल्ट २८ एम्पियर आवरका दुईवटा ब्याट्री (डुअल ब्याट्री) प्रयोग भएको यो स्कुटरले एकपटकको फुल चार्जमा १३० देखि १५० किलोमिटरसम्मको रेन्ज दिने कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।
त्यस्तै, बोल्ड र व्यक्तिगत शैली खोज्नेहरूका लागि लक्षित ‘FX WIND’ मोडेलमा ३,००० वाट रेटेड र ५,६०० वाट पिक पावर छ । ७२ भोल्ट ३२ एम्पियर आवरको ब्याट्री रहेको यस स्कुटरले ८० देखि १०० किलोमिटर रेन्ज प्रदान गर्दछ ।
तेस्रो मोडेलका रूपमा रहेको प्रिमियम ‘NQiGTS’ मा पनि ‘FQiX300’ सरहकै ३,६०० वाट मोटर र १५० किलोमिटरसम्मको रेन्ज उपलब्ध छ, जसले शहरी यात्रालाई थप आरामदायी बनाउने अपेक्षा गरिएको छ ।
नयाँ स्कुटरहरूको सार्वजनिकसँगै नियू नेपालले आफ्नो चर्चित मोडेल एनक्यूआई स्पोर्ट्स (NQi Sports) को मूल्यमा भारी कटौती गरेको छ । यसअघि तीन लाख ४८ हजार रुपैयाँ पर्ने यस स्कुटरको मूल्यमा करिब २२.४४ प्रतिशत (७८ हजार १०० रुपैयाँ) घटाएर अहिले दुई लाख ६९ हजार ९ सय रुपैयाँ कायम गरिएको छ ।
मूल्यमा भारी कटौती गरिए पनि स्कुटरको स्पेसिफिकेसन, फिचर र ८०-९० किलोमिटरको रेन्जमा कुनै परिवर्तन नगरिएको कम्पनीले स्पष्ट पारेको छ । यो मूल्य समायोजनले थप नेपाली ग्राहकलाई स्मार्ट विद्युतीय सवारीको पहुँचमा ल्याउने कम्पनीको विश्वास छ ।
विद्युतीय सवारीलाई केवल इन्जिनको विकल्प मात्र नभई एक आधुनिक जीवनशैली र प्रविधिको फ्युजनका रूपमा विकास गर्ने नियूको रणनीति रहेको छ ।
भृकुटीमण्डपस्थित एक्स्पोमा सहभागी हुने आगन्तुकहरूले नियूको स्टलमा पुगेर यी नयाँ मोडेलहरूको प्रत्यक्ष अवलोकन गर्न, प्राविधिक पक्षबारे बुझ्न र उत्पादनको प्रत्यक्ष अनुभव लिन सक्ने कम्पनीले जनाएको छ ।