काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमका विजेताहरूको नाम सार्वजनिक गरेको छ।
साउन १ गतेदेखि १५ गतेसम्मका कुपनहरूलाई समावेश गरिएको थियो । सार्वजनिक नतिजा अनुसार बम्पर विजेता उपभोक्ता पुरस्कार हेमराज जोशीले प्राप्त गरेका छन् । उनको कुपन नम्बर ००७३१५२५४४९३ रहेको जनाइएको छ।
अन्य १३ जना उपभोक्ताहरूले विजेता उपभोक्ता पुरस्कार प्राप्त गर्न सफल भएका छन् । पुरस्कार प्राप्त गर्ने अन्य विजेताहरूमा अनिशा फौदार खनाल, अमित राई, नरेन्द्र बहादुर विक,हिमाल अर्याल, राजकुमार लामिछाने,अर्जुन कुमार न्यौपाने र सपना न्यौपाने खरेल रहेका छन् । त्यस्तै सञ्जय श्रेष्ठ, मनोज सिंह,किरण सुनुवार (विक), प्रवीन कँडेल, एकता शर्मा श्रेष्ठ र साहारा गुरुङले पनि विजेता उपभोक्ता पुरस्कार जितेका छन्।
विजेता छनोटको क्रममा केही कुपनहरूमा भने थप अध्ययन आवश्यक देखिएको विभागले जनाएको छ। विभागले सार्वजनिक गरेको सूचनामा भनिएको छ,‘विजेता उपभोक्ताहरू मध्ये दुईवटा कुपनहरूका विषयमा थप छानबिन गरी निर्क्यौल गर्नुपर्ने भएकाले हाल समावेश नगरिएको हो।’
छनोटमा परेका विजेता उपभोक्ताहरूलाई करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि, २०८३ को दफा ९ बमोजिमको प्रक्रिया पूरा भएपछि मात्र पुरस्कार वितरण गरिने जानकारी विभागले दिएको छ।