काठमाडौं । भारतको विद्युतीय व्यावसायिक सवारीसाधन निर्माता मोन्ट्रा इलेक्ट्रिकले नेपाली बजारमा प्रिमियम प्यासेन्जर विद्युतीय तीनपाङ्ग्रे ‘सुपर अटो’ सार्वजनिक गरेको छ।
मोन्ट्रा इलेक्ट्रिकले नेपाललाई आफ्नो पहिलो अन्तर्राष्ट्रिय बजारका रूपमा छनोट गर्दै हिप्को ट्रेडिङ प्रालिमार्फत ‘सुपर अटो’ बिक्रीमा ल्याएको हो। मंगला काठमाडौँमा आयोजित कार्यक्रममा उक्त अटो सार्वजनिक गरिएको हो ।
कम्पनीले नेपाली बजारमा ‘सुपर अटो’ को मूल्य ८ लाख ६४ हजार ९ सय रुपैयाँ तोकेको छ।
नेपालको सडक तथा भौगोलिक अवस्थालाई ध्यानमा राखेर तयार पारिएको यो अटोमा ९ किलोवाट आवरको ब्याट्री र पीएमएसएम मोटर प्रयोग गरिएको छ। यसले ६० न्युटन मिटर टर्क उत्पादन गर्ने कम्पनीले जनाएको छ। पूर्ण चार्जमा १५० किलोमिटरसम्म चल्न सक्ने अटोको अधिकतम गति ५५ किलोमिटर प्रतिघण्टा रहेको छ।
अटोमा रहेको ब्याट्री करिब साढे चार घण्टामा पूर्ण चार्ज गर्न सकिन्छ। त्यस्तै, ३२ प्रतिशतसम्मको उकालो चढ्न सक्ने क्षमता रहेको कम्पनीको दाबी छ। सुरक्षाका लागि हिल–होल्ड असिस्टलगायतका फिचर पनि उपलब्ध छन्।
हिप्को ट्रेडिङका निर्देशक हिमांशु गोल्छाले नेपालमा बढ्दो इन्धन आयातलाई घटाउन विद्युतीय सवारीको प्रयोग महत्वपूर्ण हुने बताए। नेपालमा उत्पादन हुने विद्युत्को अधिकतम उपयोग गर्दै पेट्रोलियम पदार्थको आयातमा निर्भरता कम गर्न ‘सुपर अटो’ ले योगदान पुर्याउने उनको भनाइ छ।
कम्पनीका अनुसार अटोमा यात्रुको सहजतालाई ध्यान दिँदै पर्याप्त हेडरुम र लेगरुम तथा आरामदायी सिटिङ व्यवस्था गरिएको छ। विद्युतीय भएकाले सञ्चालन खर्च कम हुने र यसबाट चालकको आम्दानीमा समेत सकारात्मक प्रभाव पर्ने कम्पनीको दाबी छ।
हिप्को ट्रेडिङले देशभर डिलर तथा सर्भिस नेटवर्क विस्तार गरी बिक्रीसँगै बिक्रीपछिको सेवा उपलब्ध गराउने जनाएको छ।