पोखरा मंसिर ६, नेपाल कम्युनिष्ट पार्टी (एमाले) को चितवनमा यही १० देखि १२ गतेसम्म हुने १० औं महाधिवेशनलाई सफल पार्न अनेरास्ववियु गण्डकी प्रदेश कमिटीले पाँच हजार विद्यार्थी चितवन उतार्ने भएको छ ।
आइतबार पोखरामा सम्पन्न पदाधिकारी बैठकले पार्टीको महाधिवेशन उद्घाटन सत्रलाई सफल बनाउन विभिन्न निर्णयहरुसमेत गरेको छ । ‘पार्टी महाधिवेशनमा गण्डकीका ११ वटै जिल्लाबाट व्यापकरुपमा अनेरास्ववियुका विद्यार्थी नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहने छ,’ सचिव अारके पाेखरेलले भने, ‘सोहीअनुसार पदाधिकारी बैठकले निर्णय गरिसकेको छ र सकुर्लर सम्बन्धित जिल्लाहरुमा पुगिसकेको छ ।’
बैठकले महाधिवेशनको पूर्वसन्ध्यामा पोखरामा तीन हजार पाँच सय मिटर दौड प्रतियोगितासमेत आयोजना गर्ने निर्णय गरेको छ । प्रथम हुनेले नगद पाँच हजार र प्रमाणपत्र, द्वितीयले तीन हजार र प्रमाणपत्र र तृतीयले दुई हजार र प्रमाणपत्र पाउनेछन् । प्रदेशका ११ वटै जिल्लाका जिल्ला अस्पतालहरुमा मंसिर ८ गते सरसफाई गर्ने कार्यक्रम तय बैठकको निर्णयले गरेको छ ।
प्रदेश कमिटीले यसअघि विद्यार्थीहरुमा सिर्जनशीलता विकास गर्न ‘विपत्तीमा सहारा, विभेदमा विद्रोह’ नारासहित ‘म अनेरास्ववियु’ कार्यक्रम सञ्चालन गरिरहेको छ । अखिल हेल्पलाइन समेत खुला गरेकाे छ । अध्यक्ष प्रकाश पौडेलले यस्ता कार्यक्रमले अनेरास्ववियुलाई समाजमा थप सशक्त र चलायमान बनाउने विश्वास लिएको बताए ।
FACEBOOK COMMENTS